सप्तरी–२ मा सीके राउत तेस्रोमा सीमितः सन्यासीको चोला, ठूलो दाबी र कठोर राजनीतिक धक्का

राजविराज – मधेशको राजनीतिमा तीव्र गतिमा उदाएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको राजनीतिक यात्रामा अप्रत्याशित ब्रेक लागेको छ। ०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रभावशाली विजय हासिल गर्दै मधेश राजनीतिमा नयाँ शक्ति बनेका राउत यसपटक भने आफ्नै निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा झरे।

सप्तरी–२ मा सम्पन्न हालैको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामजी यादवले २८ हजार ४०४ मत ल्याएर विजय हासिल गर्दा राउत भने ९ हजार ८८० मतमा सीमित रहे। दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत प्राप्त गरे। यसरी हेर्दा राउत विजेतासँग १८ हजार ५२४ मतले पछाडि परेका मात्र होइनन्, दोस्रो स्थानसमेत गुमाउँदै तेस्रो स्थानमा सीमित भएका छन्।

यो परिणाम उनको अघिल्लो निर्वाचनसँग तुलना गर्दा झन् अर्थपूर्ण देखिन्छ। ०७९ को प्रतिनिधिसभा निर्वाचनमा राउतले ३५ हजार ४२ मत ल्याउँदै तत्कालीन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतले पराजित गरेका थिए। त्यतिबेला यादवले १६ हजार ९७९ मत पाएका थिए।

त्यसबेला राउतको विजयलाई मधेश राजनीतिमा नयाँ शक्तिको उदयका रूपमा व्याख्या गरिएको थियो। तर तीन वर्षपछि त्यही क्षेत्रबाट उनी तेस्रो स्थानमा झर्नुले उनको राजनीतिक प्रभाव र संगठनात्मक शक्ति दुवैमा गिरावट आएको संकेत दिएको विश्लेषकहरू बताउँछन्।

यसपटकको निर्वाचनमा जनमत पार्टीभित्रै भएको विभाजनले पनि राउतलाई कमजोर बनाएको देखिन्छ। राउतविरुद्ध जनमत पार्टीबाटै विद्रोह गरेका तीन जना उम्मेदवार मैदानमा थिए। जसमध्ये स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिंहले ३ हजार ५५७ मत प्राप्त गरेका छन्। सिंह यसअघि जनमत पार्टीकै तर्फबाट मधेश प्रदेशका मुख्यमन्त्री बनेका नेता हुन्।

त्यस्तै अन्य साना दलका उम्मेदवारहरूले पनि मत विभाजनमा प्रभाव पारेका छन्। नेपाली कांग्रेसका रामकुमार यादवले २ हजार ४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलमले १ हजार १२० तथा मोहम्मद जियाउन रहमानले ८८३ मत प्राप्त गरेका छन्।

सीके राउतले विगत केही वर्षदेखि आफूलाई सन्यासी, त्यागी र सिद्धान्तवादी नेताको रूपमा प्रस्तुत गर्दै आएका छन्। उनले आफ्ना सार्वजनिक अभिव्यक्तिहरूमा आफू सांसारिक मोह–मायाबाट टाढा रहेको र राजनीति व्यक्तिगत लाभका लागि नभई परिवर्तनका लागि गरेको दाबी गर्दै आएका छन्। चुनावी अभियानका क्रममा पनि उनले सामाजिक सञ्जालमार्फत आफूलाई ‘मोह–मायाबाट टाढा सन्यास ग्रहण गरेको व्यक्ति’ भन्दै अन्य नेताहरूलाई मोह–मायामा फसेको आरोप लगाएका थिए।

तर उनको यही ‘सन्यासी’ छविलाई लिएर आलोचना पनि उत्तिकै बढ्दै गएको छ। आलोचकहरूका अनुसार सन्यासको अर्थ व्यक्तिगत महत्वाकांक्षा, पद र लाभबाट टाढा रहने जीवन हो, तर चुनावी राजनीति भने सत्ता र प्रभावको प्रतिस्पर्धा हो। यस्तो अवस्थामा आफूलाई सन्यासी भनेर प्रचार गर्नु र एकै समयमा सत्ताका लागि चुनावी प्रतिस्पर्धामा सक्रिय हुनु स्पष्ट विरोधाभास भएको उनीहरूको तर्क छ।

त्यतिमात्र होइन, राउतले सन्यासीको चोला ओढेर राज्यस्रोतको दोहन गरेको आरोप पनि उठ्दै आएको छ। विभिन्न निकाय र संरचनामा आफन्त तथा नातागोताका व्यक्तिहरूलाई एक दर्जनभन्दा बढी पदमा नियुक्ति दिलाएको आरोप उनीमाथि लाग्ने गरेको छ।

यद्यपी, राउतले आफ्नो बढाइँचढाइँ गर्न भने कुनै कन्जुस्याइँ गरेका छैनन्। उनले आफ्नो आधिकारिक फेसबुक पेज ‘डा. सीके राउत – सचिवालय’ मा ५६ वटा उपलब्धि उल्लेख गर्दै आफूलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित नेता, वरिष्ठ वैज्ञानिक र प्रतिष्ठित विश्वविद्यालयहरूले मान्यता दिएको व्यक्तित्वका रूपमा प्रस्तुत गरेका छन्।

उक्त विवरणमा उनले आफू अमेरिकामा वरिष्ठ वैज्ञानिकका रूपमा काम गरेको, क्याम्ब्रिज विश्वविद्यालयबाट अध्ययन गरेको र अक्सफोर्ड तथा हार्वर्डजस्ता विश्वविद्यालयहरूले समेत लेक्चर दिन बोलाएको दाबी गरेका छन्। साथै विदेशमा करोडौं रुपैयाँ कमाइसकेपछि पनि राजनीतिमा आएर सबै त्याग गरेको उल्लेख गरेका छन्।

तर आलोचकहरूले यी दाबीहरूलाई राजनीतिक प्रचारको अंशका रूपमा हेरेका छन्। उनीहरूका अनुसार चुनावी प्रचारमा व्यक्तिगत उपलब्धि र अन्तर्राष्ट्रिय पहिचानलाई अत्यधिक जोड दिँदा स्थानीय विकास, संगठन निर्माण र नीतिगत कामको वास्तविक मूल्यांकन ओझेलमा परेको छ।

राउतको यही घमण्ड र एकल नेतृत्व शैली जनमत पार्टीभित्र देखिएको असन्तुष्टिको कारण बनेको आरोप पनि लाग्दै आएको छ। पार्टीका केही प्रभावशाली नेताहरूले हालै सामूहिक रूपमा राजीनामा दिएका थिए। राजीनामा दिने नेताहरूले नेतृत्व शैलीमा नातावाद, कृपावाद र अत्यधिक व्यक्तिवाद रहेको आरोप लगाएका थिए। पार्टीका पूर्व प्रवक्ता शरद सिंह यादव लगायतका नेताहरू अलग भइसकेपछि संगठनात्मक रूपमा जनमत पार्टी कमजोर हुँदै गएको संकेत पनि देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार राउतको प्रारम्भिक उदय मधेशको असन्तुष्टि र नयाँ विकल्पको खोजीसँग जोडिएको थियो। तर संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र नेतृत्व शैलीमा देखिएका विवादहरूले उनको राजनीतिक आधारलाई कमजोर बनाएको हुन सक्छ।

यसपटकको निर्वाचन परिणामले मधेश राजनीतिमा नयाँ शक्ति सन्तुलन देखाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको विजय र जनमत पार्टीका अध्यक्ष स्वयं तेस्रो स्थानमा झर्नुले क्षेत्रीय राजनीतिमा मतदाताको धारणा परिवर्तन हुँदै गएको संकेत दिएको विश्लेषकहरू बताउँछन्।

चुनावी परिणाम लगभग स्पष्ट भएपछि डा. राउतले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई सम्बोधन गर्दै प्रतिक्रिया पनि दिएका छन्। उनले देशभरको परिणाम लगभग एउटै प्रकृतिको रहेको दाबी गर्दै यसलाई कुनै एक व्यक्ति वा पार्टीको असफलता नभई विशेष राजनीतिक परिस्थितिको परिणाम भएको बताएका छन्।

उनले लेखेका छन—देशभरिकै मत परिणाम लगभग उस्तै प्रकृतिको देखिएको छ र अहिलेको परिणामलाई कुनै एक पार्टी वा उम्मेदवारको व्यक्तिगत विषयका रूपमा लिन नहुने उनको तर्क छ। दशकौँदेखि स्थापित ठूला पार्टीहरू, विशाल संगठन संरचना भएका दलहरू र लामो समयदेखि सक्रिय राजनीतिक शक्तिहरू समेत समान अवस्थामा पुगेको उल्लेख गर्दै उनले यसलाई परिस्थितिजन्य परिणामका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन्।

राउतले आफ्ना समर्थकलाई निराश नहुन आग्रह गर्दै जनताले दिएको आदेश स्वीकार गर्न र विजयी पक्षलाई सरकार चलाउन अवसर दिनुपर्ने बताएका छन्। साथै समाजमा कसैमाथि आरोप–प्रत्यारोप नगर्न, कसैप्रति रुखो भाषा प्रयोग नगर्न र आफ्नो गाउँ–ठाउँमा सबैसँग विनम्र व्यवहार गर्दै सेवा जारी राख्न आग्रह गरेका छन्।

उनले आगामी एक–दुई वर्षभित्र राजनीतिक परिस्थिति फेरि स्पष्ट हुने दाबी गर्दै ‘हावाहुरी स्थायी हुँदैन, सिद्धान्त र एजेन्डाले समाजमा दीर्घकालीन प्रभाव राख्छ’ भन्ने टिप्पणी गरेका छन्। उनले आफू व्यक्तिगत रूपमा शान्त र सन्तुष्ट रहेको बताएका छन्। जनताको अभिमतलाई सम्मान गर्ने आफ्नो कर्तव्य भएको उल्लेख गर्दै उनले सांसद वा मन्त्री पदसँग आफूलाई कुनै विशेष मोह नभएको बताएका छन्।

संसदीय राजनीति आफ्ना लागि संयोग मात्रै भएको भन्दै उनले आफ्नो मूल चिन्ता मधेश आन्दोलनको जगमा उदाएका राजनीतिक शक्तिहरू एकाएक कमजोर हुनु रहेको बताएका छन्। दशकौँदेखि मधेशका लागि संघर्ष गरेका, मधेश आन्दोलनको नेतृत्व गरेका र मधेशको अधिकारका लागि बलिदान दिएका शक्तिहरू अचानक कमजोर हुनु चिन्ताको विषय भएको उनको धारणा छ।

यसरी हेर्दा २०७९ मा मधेश राजनीतिमा नयाँ आशा र विकल्पका रूपमा उदाएका सीके राउतको राजनीतिक यात्रा अहिले चुनौतीपूर्ण मोडमा पुगेको देखिन्छ। भावनात्मक नारा, व्यक्तिगत छवि र राजनीतिक मार्केटिङभन्दा परिणाम र विश्वसनीयतालाई प्राथमिकता दिन थालेका मतदाताको मनोविज्ञानले उनको राजनीतिक आधारलाई कमजोर बनाएको विश्लेषण पनि भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट