धनुषामा कक्षा कोठामै मृत फेला परिन शिक्षिकाः सूदखोरीको मानसिक यातनाले आत्महत्या गरेको आरोप

ढल्केबर (धनुषा) — धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासस्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत शिक्षिका विमला मोक्तान ध्रोञ्चिङ्ग (तामाङ) ले आफूले पढाउने बालविकास कक्षामै झुन्डिएर आत्महत्या गरेकी छन्।
साउन १ गते विहान योग गर्न गएका स्थानीयले कक्षाभित्र झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। करिब ३० वर्षीया विमला तामाङले आत्महत्या गर्नुको कारण सुसाइड नोटबाट खुल्न थालेको छ, तर प्रहरीले उक्त पत्र सार्वजनिक गरेको छैन। प्रारम्भिक अनुसन्धान अनुसार उनी लामो समयदेखि मिटरब्याज (सूदखोरी) को चपेटामा परेकी थिइन्।
प्राप्त विवरणअनुसार मृतक विमलाले जनकपुर उपमहानगरपालिका–९ निवासी राजकिशोर यादवसँग दुई पटक ऋण लिएकी थिइन्। पहिलो पटक १ लाख ६० हजार रुपैयाँ र दोस्रो पटक १ लाख ५० हजार गरी ३ लाख १० हजार ऋण लिएकी उनले उक्त ऋणको व्याज र मूलधनका रुपमा करिब ४५ लाख रुपैयाँ तिरिसकेको उल्लेख सुसाइड नोटमा छ।
स्थानीयले बताएका अनुसार १५ लाख रुपैयाँ त उनले आईएमई मार्फत पठाएको प्रमाणसहितका भौचर फेला परेका छन्। बाँकी ३० लाख भने नगदमा किस्ताबन्दीमा बुझाएको पनि सुसाइड नोटमा उल्लेख छ। तर त्यसपछि पनि राजकिशोरले अझै ५० लाख रुपैयाँ बाँकी रहेको भन्दै उनलाई बारम्बार मानसिक दबाब दिँदै ब्ल्याकमेलिङ्ग गर्दै आएको आरोप सुसाइड नोटबाट खुलेको स्थानीयको भनाइ छ।
स्थानीय स्रोतका अनुसार असार ३२ गते राजकिशोर यादव आफ्ना परिवारसहित गाडीमा चढेर विमलाको घर पुगेका थिए। त्यही दिन विमलामाथि धम्की र मानसिक यातना दिइएको र त्यसको असरस्वरुप उनले राति आत्महत्या गरेको आशंका गरिएको छ।
इलाका प्रहरी कार्यालय ढल्केवरले शवको मुचुल्का तयार गर्दै अनुसन्धान गर्दा कक्षाभित्रै सुसाइड नोट फेला परेको थियो। तर, सुसाइड नोटको विवरण भने सार्वजनिक गरिएको छैन। जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी बरुण वहादुर सिंहले ‘सेन्सेटिभ मुद्धा’ भएको भन्दै अनुसन्धानको विषयमा बोल्न मानेनन्।
सुसाइड नोटकै आधारमा प्रहरीले राजकिशोरलाई पक्राउ गरेको छ। तर, उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन। सामान्यतः प्रहरीले यस्ता घटनाबारे प्रेस विज्ञप्ति जारी गरेर पत्रकारलाई इमेलमार्फत जानकारी दिने गर्छ। तर, यो घटनाको चार दिन बितिसक्दा पनि प्रहरी प्रशासन मौन छ। यसले शंका उत्पन्न गराएको छ।
स्थानीय नागरिक र मानवअधिकारकर्मीहरुका अनुसार यस घटनामा राजनीतिक संरक्षणको गन्ध आएको छ। पक्राउ परेका राजकिशोर यादवलाई इलाका प्रहरी कार्यालय ढल्केवरमा राख्नुपर्नेमा उनलाई जिल्ला प्रहरी कार्यालयमै राखिएको छ। ढल्केवर प्रहरीका इन्स्पेक्टर जटाशंकर यादवले जिल्ला नै मुद्दा हेरिरहेको पुष्टि गरे।
यसरी इलाका प्रहरीले हेर्नुपर्ने मुद्धामा जिल्ला प्रहरी कार्यालयको हस्तक्षेप र अपारदर्शिता देखिँदा राजनीतिकसंरक्षणको आशंका गरिएको हो। यद्यपि, डिएसपी सिंहले भने ‘राजनीतिक हस्तक्षेपको सम्भावना छैन’ भन्दै अनुसन्धान संवेदनशील रूपमा भइरहेको बताए।
सुसाइड नोटको वैधानिकताका विषयमा गम्भीर अनुसन्धान भइरहेको उनले जानकारी दिए।
के छ विमलाको अन्तिम सन्देश ?
सुसाइड नोटमा विमलाले आफ्नी छोरीलाई सम्बोधन गर्दै ‘बुबा र भाइको हेरचाह गर’ भनेर लेखेकी छिन्। यो वाक्यले उनको मानसिक पीडा, असहाय अवस्था र आत्मघातको कठिन निर्णयको अन्तिम मनोदशालाई उजागर गर्छ।
विमलाका श्रीमान् घनबहादुर ध्रोञ्चिङ्ग एक वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका थिए। उनका करिब १५ वर्षीया छोरी र करिब ३–४ वर्षका छोरा छन्। छोरा अटिजमबाट पीडित छन् भने अहिले दुवै सन्तान हजुरआमाको संरक्षणमा छन्।
एक शिक्षिकाले कक्षा कोठामै आत्महत्या गरेको यो घट्नापछि दोषीलाई कानुनी दायरामा ल्याउन दबाब भने बढेको छ।
तुरुन्तै कामकारबाही होस।