रौतहटमा प्रहरीलाई छलेर भागेको कार खरघारीमा पल्टियो, भित्र १३३ किलो गाँजा फेला

जनकपुर — रौतहटको गरुडा नगरपालिका–५ मा मंगलबार बिहान प्रहरीलाई छलेर भाग्ने क्रममा एक कार खरघारीमा पल्टिएको छ। दुर्घटनापछि जाँच गर्दा उक्त कारभित्र १३३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको रातो ब्रेजा कारलाई शंका लागी इलाका प्रहरी कार्यालय गरुडाले रोकेर जाँच गर्न खोज्दा चालकले तीव्र गतिमा भगाएका थिए। प्रहरीले पछ्याउने क्रममा कार झन्डै २० फिट तल सडकबाट खस्दै खरघारीमा पल्टिएको थियो।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार गाडीभित्र १३ वटा पोकामा राखिएको १३३ किलो गाँजा बरामद गरिएको हो। दुर्घटनापछि चालक गाडी छाडेर फरार भएका छन्।
प्रहरीले क्रेनको सहयोगमा गाडी झाडीबाट निकालेर नियन्त्रणमा लिएको छ। गाडीको नम्बर र अन्य विवरणका आधारमा चालक, सवारीधनी तथा घटनामा संलग्न व्यक्तिको पहिचान गर्न अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीको अनुमान अनुसार उक्त गाँजा मकवानपुरको पहाडी भेगबाट तस्करी गरिएको हुनसक्छ।