दशगजामा मल तस्कर र एसएसबीको झडप, हतियार लुट्न खोजेपछि गोली चल्दा एक जना घाइते

जनकपुर— धनुषाको मैनाथपुरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा रासायनिक मल तस्करी गर्ने समूह र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच झडप भएको छ। झडपका क्रममा तस्कर समूहले एसएसबी जवानको हतियार लुट्ने प्रयास गरेपछि गोली चलेको छ।

भारततर्फको दशगजास्थित मैनाथपुर बजार क्षेत्रमा खटिएका एसएसबी जवानहरूलाई तस्कर समूहले घेराउ गर्दै आक्रमण गरेका थिए। भिडन्तको क्रममा एक एसएसबी जवानको हातबाट हतियार खोस्ने प्रयास भएपछि आत्मरक्षाका लागि गोली चलाइएको एसएसबी स्रोतले जनाएको छ।

गोली लागेर भारतीय नागरिक भरत पासवान घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पतालमा लगिएको छ। घटनास्थलबाट एक तस्करलाई एसएसबीले नियन्त्रणमा लिएको पनि जनाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक एसएसबी जवान भुइँमा लडिरहेका छन् र एक व्यक्ति उनको हातबाट हतियार खोस्ने प्रयास गरिरहेको देखिन्छ। त्यही भिडिओमा अर्को व्यक्ति ‘हतियार नखोस्नू’ भनेर आग्रह गरिरहेको आवाज समेत सुनिन्छ।

स्थानीयका अनुसार मधेस क्षेत्रमा सरकारले समयमै र पर्याप्त मात्रामा रासायनिक मल आपूर्ति नगर्दा भारतीय सीमाबाट मल तस्करी गर्ने प्रवृत्ति बढेको हो। भारतीय पक्षबाट ल्याइने मल तस्करी समूहले सीमावर्ती नेपाली क्षेत्रका किसानहरूलाई दोब्बर मूल्यमा बिक्री गर्ने गरेको स्थानीयवासी बताउँछन्।

घटनापछि मैनाथपुर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। आज दिउँसोदेखि एसएसबीले नेपाली नागरिकलाई सीमाबाट सामान ओसारपसार गर्न रोक लगाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट