सप्तरीका सीमावर्ती गाउँमा भारतीय सुरक्षाकर्मीको आतंकः घर–घरमा पसेर सर्वसाधारणमाथि कुटपिट

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सीमावर्ती बस्तीहरूमा भारतीय सुरक्षाकर्मीले रातारात नेपाली भू–भागमा प्रवेश गरी स्थानीयहरूमाथि धरपकड र कुटपिट गर्न थालेपछि सर्वसाधारण त्रसित भएका छन्।

गत बिहीबार राति भारत बिहारको कोरियापट्टीमा भएको हत्या घटनाका आरोपितहरू खोज्दै हतियारसहित आएका भारतीय सुरक्षाकर्मीले छिन्नमस्ता–३ धोबियाही र वडा नम्बर ६ को कोचाबखारी गाउँमा आक्रमक शैलीमा छापा मारेका थिए। उनीहरू दुई स्कार्पियो र चार मोटरसाइकलमा सादा पोसाकमा आएर न्यौर बोर्डरबाट नेपाल छिरेका थिए।

धोबियाही टोलबाट २२ वर्षीय रञ्जित सदा र २४ वर्षीय मनोज मण्डललाई नियन्त्रणमा लिई भारत लगे पनि पछि छोड़ेका थिए। तर, उनीहरू दुबैजना कुटपिटको शिकार बनेको स्थानीयले बताएका छन्। राति पुनः मुख ढाकेका एक व्यक्तिलाई साथमा लिएर आएका सुरक्षाकर्मीहरूले कोचाबखारी पुगेर स्थानीय महिला निर्मला देवी सदालाई समेत कुटपिट गर्दै स्कार्पियोमा राखेको जनाइएको छ।

सुरक्षाकर्मीहरूले शंकरकुमार सदा र बालकुमार सदाको घरमा पुगेर ‘मान्छे लुकाएको’ भन्दै महिला र बालबालिकालाई समेत निर्घात कुटपिट गरेपछि गाउँमा त्रासको वातावरण बनेको छ। ‘बोल्यौ भने गोली ठोकिदिन्छु’ भन्दै बन्दुक देखाएर धम्की दिएको निर्मला देवीको भनाइ छ।

स्थानीयवासीहरूका अनुसार नेपाली प्रहरीको उपस्थिति हुँदाहुँदै पनि भारतीय सुरक्षाकर्मीको कारबाही रोकिएको छैन। प्रहरी चौकी सखडाका हवलदार सुरेश मेहतासहित दुई जना नेपाली सुरक्षाकर्मीले भारतीय प्रहरीलाई साथ दिएको आरोप समेत लागेको छ। स्थानीय लालदेव सदाले भने, ‘हाम्रा सुरक्षाकर्मीले केही पनि बोलेनन्, हामीमाथि अत्याचार भइरहँदा चुपचाप बसे।’

गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले भारतीय पक्षले कानुन विपरीत स्थानीयहरूलाई त्रसित बनाएको भन्दै विरोध जनाए। ‘अपराधी खोज्ने नाममा निर्दोष नागरिकमाथि ज्यादती स्वीकार्य छैन,’ उनले भने, ‘नेपाल सरकारका निकाय गम्भीर हुनुपर्छ।’

यसबीच, सप्तरीका सीडीओ भोला दाहालले घटनाको विषयमा जानकारी नपाएको प्रतिक्रिया दिएका छन्। ‘यदि भारतीय सुरक्षाकर्मी नेपाल छिरेका हुन् भने समन्वय आवश्यक थियो,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट