बारामा ऐलानी जग्गा विवादमा एक जनाको हत्या प्रयास, ७ जनाविरुद्ध उजुरी

जनकपुर— बारामा ऐलानी जग्गा विवादले हिंसात्मक मोड लिँदा एक व्यक्तिको ज्यानै लिने प्रयास भएको छ। बारागढी गाउँपालिका–३ सुन्दरपुरका ४० वर्षीय नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानले सातजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका छन्।
उनीहरूले बारागढी–३, नयका टोलका ४७ वर्षीय बिहारी पण्डित, ४० वर्षीय गोरख पण्डित, ६० वर्षीय ओकिल मिया, ३० वर्षीय जमिल अख्तर मिया, ४१ वर्षीय शिवचन्द्र यादव, ३० वर्षीय सलाउद्दिन मिया र २५ वर्षीय अलाउद्दिन मियाविरुद्ध उजुरी दिएका हुन्।
जाहेरीअनुसार, असार २५ गते दिउँसो साढे १२ बजे रामएकवाल चौधरी २० वर्षदेखि जोतभोग गर्दै आएको सुन्दरपुरस्थित ऐलानी जग्गामा पुगेका थिए। त्यही क्रममा जमिल अख्तर मियाले जग्गा आफ्नो भएको दाबी गर्दै विवाद सुरु गरे। त्यसपछि उनले अन्यलाई बोलाएर चारैतिर घेरा हाल्न लगाएका थिए।
घटनाक्रम उग्र बन्दै जाँदा शिवचन्द्र यादवले कोदालो प्रहार गरी रामएकवाल चौधरीको टाउकोमा प्रहार गरेका थिए। घटनामा रामएकवालका छोरा दिपेन्द्र चौधरीसमेत घाइते भएका छन्। गम्भीर घाइते रामएकवालको हाल काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत भईरहेको छ।
उनका दाजु चन्देश्वर चौधरीले आर्थिक अभावका कारण औषधि किन्नसमेत समस्या भइरहेको जनाएका छन्। ‘प्रहरीले प्रतिवादीहरूसँग दुई लाख रुपैयाँ उठाएर उपचार सहयोग गर्ने भनेको थियो, तर हालसम्म केही दिएको छैन,’– उनले गुनासो गरे।
घटनामा संलग्न भनिएका सबै आरोपी खुलेआम गाउँमा हिँडिरहँदा पनि प्रहरीले कसैलाई पक्राउ नगरेको उनको गुनासो छ। यस सम्बन्धमा बारा प्रहरीका एसपी सन्तोष तामाङले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
सम्बन्धित पीडित परिवारले न्याय मागिरहेका छन्, तर दोषीलाई नपक्रिँदा प्रहरीमाथि गम्भीर प्रश्न उठेको छ।