सिन्धुलीमा भारतीय तिर्थयात्रीको मृत्यु प्रकरणमा नयाँ खुलासाः फोटो खिच्न बन्दुक बोक्दा अचानक पड्किएर ज्यान गयो

सिन्धुली — साउन ५ गते सिन्धुलीको दुधौलीमा भारतीय तिर्थ यात्रीको हत्या भएको भनिएको प्रकरणमा नयाँ खुलासा भएको छ। प्रहरीले तत्काल प्राप्त प्रमाण र प्रारम्भिक अनुशन्धानका आधारमा तिर्थयात्रीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जानकारी दिएको थियो।
दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर नजिकैको कालिडाँडामा भारतको बिहार, सितामढी जिल्लाको भवदेपुर वडा नं. ११ का २५ वर्षीय पंकज कुमार भगतको शव फेला परेको थियो। प्रहरीले घट्नाको विस्तृत अनुशन्धान गर्दा ती भारतीय युवकको मृत्युको रहस्य खुलेको छ। अनुसन्धानपछि प्रहरीले बन्दुक समाएर फोटो खिच्ने क्रममा गोली पड्किएर उनको मृत्यु भएको निष्कर्ष निकालेको छ।
स्थानीय विष्णु बहादुर घिसिङको घरमा घरमा विश्राम गरिरहेका बेला बन्दुक समाएर पंकजले फोटो खिच्न खोज्दा अचानक बन्दुक पड्किएको र गोली छातीमा लागेको अनुसन्धानबाट खुलेको छ। घटनापछि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बन्दुक धनी विष्णु बहादुर घिसिङ, उनकी पत्नी तिलमाया घिसिङ र भारतकै अविनिस कुमार दास रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार तिलमाया घिसिङ साउन ६ गते, विष्णु घिसिङ साउन ७ गते र दासलाई मधेश प्रदेश प्रहरीको सहयोगमा धनुषाको भारत–नेपाल सीमावर्ती क्षेत्रबाट साउन १४ गते पक्राउ गरिएको हो।
घटनास्थलको अनुसन्धानका क्रममा प्रहरीले चक्कु र कचिया समेत बरामद गरेको छ। एसपी सुवेदीका अनुसार गोली लागेपछि मृतकको छातीबाट चक्कु र कचिया (हँसिया)ले गोली निकाल्ने प्रयास गरिएको देखिएको छ। पोष्टमार्टम रिपोर्टमा पनि मृतकको शरीरमा गोलीका छर्रा भेटिएको छ, जसले घटनाको प्रकृति अझ जटिल बनाएको छ।
घटनामा प्रयोग गरिएको भरुवा बन्दुक तिलमाया घिसिङको घर नजिकैको जंगलमा लुकाएर राखिएको अवस्थामा प्रहरीले साउन ६ गते बरामद गरेको थियो। यस घटनामा हातहतियार, खरखजाना तथा हत्या अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
मृतक पंकज आफ्नो २० जना साथीसहित मधुगंगा महादेव मन्दिरको दर्शनका लागि दुधौली आएका थिए।