कैलाली कारागारमा हिंसात्मक झडपः असार २८ र साउन २२ को झडपको पूनरावृत्ति, कारागार कैदीबन्दीको नियन्त्रणमा

राजधानी— कैलाली जिल्ला कारागारमा शुक्रबार राति हिंसात्मक झडप हुँदा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको मृत्यु भयो। ४९ जना घाइते भएका छन्।
यो घटना असार २८ र साउन २२ गतेको कैदीबन्दीबीचको झडपको पूनरावृत्ति हो। असार २८ मा भएको घटनामा नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भएका थिए र कैदीहरूले जेलर वसन्त खत्रीविरुद्ध मनोमानी अन्त्य गर्न माग गर्दै नाराबाजी गरेका थिए। त्यसबेला सीडीओ गोगनबहादुर हमालले विवाद समाधान भएको दाबी गरेका थिए।
तर शुक्रबार दिउँसो मात्र ‘अब समस्या आउँदैन’ भन्दै सुरक्षा रणनीति परिवर्तन गरिएको घोषणा गरेको आठ घण्टा नपुग्दै कारागारभित्र ठूलो झडप भयो। ब्लक ‘ए’ का कैदीबन्दीहरूले वेल्डिङ गरेर बनाइएको ढोका फोडेर ब्लक ‘बी’ मा प्रवेश गर्दै जिमखानाका सामग्री र फलामे रड प्रयोग गरेर कुटपिट गरेको कारागार प्रशासनले जनाएको छ।
घटनामा घाइतेहरूको हातखुट्टा भाँचिएको, केहीलाई गहिरो चोट लागेको सेती प्रादेशिक अस्पतालका डा. शेरबहादुर कमरले बताए। एक जनाको शल्यक्रिया भएको र एक जनालाई आईसीयूमा राखिएको छ। अस्पतालको इमर्जेन्सीमा ठाउँ नपुगेपछि केहीलाई अस्थायी भवनमा सारिएको छ।
घटनापछि कारागार कैदीबन्दीको नियन्त्रण छ। उनीहरुले सीडीओ हमाल, एसपी बालनसिंह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीतसहितको टोलीलाई भित्र पस्न दिइएन। राष्ट्रिय मानव अधिकार आयोगको टोली पनि कारागारको भित्री भागसम्म पुग्न सकेको छैन।
कारागारको क्षमता १५० भए पनि हाल करिब ७ सय कैदीबन्दी छन्। भीडभाडका कारण र विभिन्न आपराधिक समूहबीचको ‘ग्रुपिजम’ ले कारागारभित्र तनाव बढेको सीडीओ हमालले स्वीकार गरेका छन्। भूपेन्द्र बडुवाल हत्या प्रकरणका १७ कैदीलाई अन्यत्र सारिएपछि नयाँ समूहबीच दबदबा जमाउने प्रतिस्पर्धाले झडपहरू भईरहेको बताईएको छ।
अहिलेसम्मको घटनामा डेढ महिनाभित्र दुई कैदीको मृत्यु भइसकेको छ। घाइतेका परिवारले उपचारमा चित्त नबुझेको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम कार्यालय प्रमुख प्रकाशदत्त भट्टको नेतृत्वमा टोलीले पीडितको अवस्था र अधिकार सुनिश्चितताबारे तथ्य सङ्कलन गरिरहेको छ।
जिल्ला सुरक्षा समितिले थप हिंसा रोक्न कारागार वरपर सशस्त्र प्रहरी तैनाथ गरेको छ। तर भित्रको वास्तविक अवस्थाबारे अझै स्पष्ट जानकारी छैन। कैदीबन्दीका आफन्तहरूले अझै पनि कारागारभित्र भेटघाट गर्न पाएका छैनन्, जसका कारण कारागार प्रशासनमाथि सुरक्षा व्यवस्थापनमा लापरबाहीको आरोप लागिरहेको छ।