रौतहटमा चक्कु प्रहार गरी युवकको हत्या, १९ वर्षीय राम पक्राउ

जनकपुर– रौतहटको गौरमा बुधबार दिउँसो चक्कु प्रहार गरी एक युवकको हत्या गरिएको छ। आरोपी पक्राउ परेका छन्।
गौर नगरपालिका–५ स्थित बरहवा ताल नजिकको झुलुङ्गे पुल छेउमा भएको चक्कु प्रहारबाट करिब २० वर्षीय युवकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणी गिरीका अनुसार युवकको पेट र छातीमा गहिरो चोट लागेको थियो।
उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर लाने क्रममा बाटोमै मृत्यु भएको हो। मृतकको पहिचान भएको छैन। घटनामा संलग्न रहेको आशंकामा गौर नगरपालिका–३ का १९ वर्षीय सनोज रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रामलाई घटनास्थल नजिकै चक्कु प्रहार गरी भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको एसपी गिरीले जानकारी दिए। हत्या किन र कसरी भयो भन्ने विषयमा अझै प्रष्ट कारण नखुलेको र पक्राउ परेका रामलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।