रास्वपाका नेतामाथि अज्ञात समूहको आक्रमण, रड प्रहारको चोटले टाउकोमा १० टाँका

काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि अज्ञात समूहले आक्रमण गरेको छ। आक्रमणबाट गम्भीर घाइते भएका उनको टाउकोमा १० वटा टाँका लगाइएको छ।
बुधबार राति करिब साढे ८ बजे कपनस्थित कार्यालयबाट घर फर्किँदै गर्दा कपन प्रगतिचोक नजिक मोटरसाइकलमा आएका तीन जनाले उनको गाडी रोकेर रड, चिरपट र खुकुरीसहित आक्रमण गरेका थिए।
भण्डारीका अनुसार आक्रमणकारीमध्ये दुई जनाले टाउको र खुट्टामा रडले प्रहार गरे भने तेस्रो व्यक्तिले बाइकमै बसेर खुकुरी देखाएका थिए। ‘ज्यान मार्ने उद्देश्यले आक्रमण भएको स्पष्ट छ,’ भण्डारीले भने, ‘रगत बग्न थालेपछि गाडी छाडेर म घरतर्फ भाग्न भ्याएँ।’
आक्रमणपछि उनलाई चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पताल पु¥याइएको थियो। चिकित्सकले उनको टाउकोमा १० वटा टाँका लगाएको रास्वपा सचिवालयले जनाएको छ। भण्डारी अहिले उपचाररत छन्।
आफूमाथि भएको आक्रमणलाई राजनीतिक रिसिबीसँग जोड्दै भण्डारीले केही समयदेखि धम्की फोन र केही ब्यक्तिले पछ्याउने गरेको बताए। ‘विचार र अभिव्यक्तिका कारणमात्रै यसरी आक्रमण गरियो,’ उनले आरोप लगाए।
प्रहरीले आक्रमणमा संलग्न समूहको पहिचान र पक्राउका लागि खोजी तीव्र पारेको छ। घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन गरी अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।