प्रधानमन्त्री भन्छिन्ः ‘मलाई त जेनजी मात्रै होईन, आइजिपीले बोल्दाबोल्दै हप्काए’

काठमाडौँ— अन्तरिम सरकारको नेतृत्व गर्दै निर्वाचन सम्पन्न गराएर राजनीतिक संक्रमणलाई नयाँ चरणमा पुर्‍याएकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकालका कठिन क्षणहरूबारे खुलासा गरेकी छिन्।

राज्य सञ्चालनका क्रममा अनेक दबाब, आलोचना र अपमानजनक व्यवहारसमेत सामना गर्नुपरेको बताएकी उनले आफू प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका बेला एक जना प्रहरी महानिरीक्षकले बोल्दाबोल्दै हप्काएको अनुभव सार्वजनिक गरेकी छन्।

राष्ट्रिय समाचार समितिका लागि पत्रकार कालिका खड्कासँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले उक्त प्रसंग उल्लेख गर्दै नाम नखुलाइकन एक जना आइजिपीले आफूलाई सार्वजनिक रूपमा हप्काएको बताइन्। उनले भनिन्, ‘त्यत्रो आन्दोलन भयो, त्यस परिस्थितिबाट मुलुकलाई अहिलेको अवस्थामा ल्यायौँ। त्यो संघर्ष सजिलो थिएन। त्यही क्रममा एउटा आइजिपीले मलाई बोल्दाबोल्दै हप्काएका थिए।’

कार्की नेतृत्वको अन्तरिम सरकारको कार्यकालमा नेपाल प्रहरीमा दुई जना प्रहरी महानिरीक्षक कार्यरत रहे। उनी प्रधानमन्त्री हुँदा प्रहरी नेतृत्वमा चन्द्रकुबेर खापुङ थिए भने उनको कार्यकाल सकिएपछि प्रहरी संगठनको नेतृत्व दानबहादुर कार्कीले सम्हालेका छन्। यद्यपि प्रधानमन्त्री कार्कीले आफूलाई हप्काउने प्रहरी प्रमुखको थिए भन्ने खुलाउन भने अस्वीकार गरिन्।

प्रधानमन्त्री कार्कीले उक्त प्रसंग विस्तृत रूपमा नबताए पनि असोज महिनाको तेस्रो साता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध पक्राउ माग गर्दै जाहेरी परेपछि सुरक्षा निकायमाथि तीव्र दबाब सिर्जना भएको थियो। त्यसपछि सुरक्षा निकायका प्रमुखहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए र त्यहाँ प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतसँग बैठक भएको थियो। स्रोतका अनुसार उक्त बैठक निकै तनावपूर्ण बनेको थियो र केही क्षण चर्काचर्कीसमेत भएको थियो।

त्यस समयमा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र साहले पनि ओली र लेखकलाई पक्राउ गर्नुपर्ने भन्दै प्रधानमन्त्रीमाथि सार्वजनिक रूपमा दबाब दिएका थिए। देशमा राजनीतिक तनाव उच्च बनेको अवस्थामा सरकार सञ्चालन गर्नु निकै कठिन भएको कार्कीले स्वीकार गरेकी छन्।

उनका अनुसार प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा बारम्बार अत्यन्त कठिन मनोवैज्ञानिक अवस्थाको सामना गर्नुपरेको थियो। कार्कीका अनुसार आन्दोलनका क्रममा कतिपय युवाहरूले उनलाई ‘प्रधानमन्त्री किन बनेको’ भन्दै प्रश्नसमेत गरेका थिए। उनले भनेकी छन्, ‘एक जना जेनजीले त मलाई सीधै भन्यो—हामीले सरकार चलाउनुपर्ने, तपाईंले किन चलाउनुभयो?’ पछि तिनै मानिसहरू सरकारको कार्यकाल सकिने बेला ‘मलाई मन्त्री बनाइदिनुस्’ भन्दै आइरहेका थिए।’

राजनीतिक प्रतिस्पर्धाका क्रममा आफूविरुद्ध व्यक्तिगत आक्रमण र अपशब्द प्रयोग गरिएको प्रसंग पनि उनले उल्लेख गरिन्। कतिपयले आफूलाई असफल बनाएर आफू प्रधानमन्त्री बन्ने योजना बनाएको कुरा खुलेआम बोलेको पनि उनले बताइन्। ‘कपडा यस्तो लगाएको, चुरा यस्तो लगाएको, हिँडाइ बाङ्गो भएको भन्ने जस्ता टिप्पणी पनि सुन्नुपर्‍यो,’ उनले भनिन्।

तर यस्ता आलोचनाले आफूलाई खासै असर नपारेको उनको भनाइ छ। सरकार सञ्चालनका क्रममा आफूले सबैभन्दा ठूलो समस्या सिंहदरबारभित्रको कर्मचारीतन्त्रमा देखेको उनले स्पष्ट रूपमा बताइन्। उनका अनुसार सचिवस्तरका कर्मचारीहरूले धेरैजसो निर्णय प्रक्रियालाई अनावश्यक रूपमा जटिल बनाउने प्रवृत्ति देखाए।

‘आफ्नो स्वार्थको कुरा आए दुई–तीन वटा विकल्प ल्याउँछन्, तर देशको हितको कुरा आयो भने हुँदैन, मिल्दैन मात्रै भन्छन्। अख्तियारको डर देखाउँछन्, विवादमा पर्छौँ भन्छन्। यसले सरकारको काममा करिब ७५ प्रतिशत अवरोध सिर्जना गरेको छ,’ उनले भनिन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबारे टिप्पणी गर्दै कार्कीले परिणाम अप्रत्याशित रहेको बताइन्। विशेषगरी केपी शर्मा ओली जस्तो अनुभवी नेता आफ्नै निर्वाचन क्षेत्रबाट पराजित हुने कुरा आफूले कल्पनासमेत नगरेको उनले बताइन्। उक्त निर्वाचनमा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले पराजित गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट