भ्रष्टाचारबाट जोगिन प्रदीप अधिकारीको तन्त्रमन्त्रको जालः अख्तियार प्रमुखलाई लक्षित ‘डार्क प्लान’ खुलासा
काठमाडौँ — भ्रष्टाचार मुद्दामा थुनामा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदिप अधिकारीले आफूमाथि भइरहेको छानबिन प्रभावित पार्न गरेका अनेक षडयन्त्रको खुलासा हुन थालेको छ। अधिकारीले अन्डरवर्ल्ड समूहमार्फत अख्तियार प्रमुखलाई धम्की दिनेदेखि तान्त्रिक बाबासम्म प्रयोग गरेको खुलासा भएको छ।
विदेशबाट उच्चपदस्थ अधिकारीहरूलाई हत्या गर्ने धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथिको अनुसन्धानबाट अधिकारीको यस्तो गतिविधि सतहमा आएको हो। पाठकलाई गत २८ माघमा इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। काठमाडौँ प्रहरीले पाठकमाथि संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ।
प्रहरीका अनुसार फिलिपिन्समा बसेर पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका पदाधिकारीलाई राजीनामा नदिए हत्या गर्ने धम्की दिएका थिए। अनुसन्धानका क्रममा पाठकलाई यस्तो धम्की दिन पूर्वमहानिर्देशक अधिकारीले नै परिचालन गरेको प्रारम्भिक प्रमाण भेटिएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार अधिकारीविरुद्ध अख्तियारको अनुसन्धान अन्तिम चरणमा पुगेपछि यो धम्कीको श्रृंखला सुरु भएको थियो। आफ्नो मुद्दा कमजोर बनाउन वा रोकिने आशामा उनले शक्तिकेन्द्रमार्फत दबाब सिर्जना गर्ने र धम्कीको वातावरण बनाउने रणनीति अपनाएको देखिएको छ। धम्की दिनका लागि अधिकारीले पाठकलाई १० करोड रुपैयाँ दिने सम्झौता गरेको समेत अनुसन्धानमा खुलेको छ।
पाठक पक्राउपछि उनको बयान र मोबाइल फोन परीक्षण गर्दा यस प्रकरणमा धेरै व्यक्तिहरूको संलग्नता रहेको संकेत भेटिएको काठमाडौं प्रहरी स्रोतले जनाएको छ। अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सम्झौता अनुसार पाठकले दुई करोड रुपैयाँ लिएका थिए। उक्त रकम एक चिनियाँ व्यापारीमार्फत हुन्डी प्रणाली प्रयोग गरेर फिलिपिन्स पठाइएको देखिन्छ।
सो रकमबाट पाठकले फिलिपिन्समा अपार्टमेन्ट किनेको आशंका रहेको प्रहरीले जनाएको छ र त्यसबारे थप अनुसन्धान भइरहेको छ। यस घटनामा प्राधिकरणकै दुई बहालवाला अधिकारीको समेत संलग्नता देखिएको छ। प्रहरीका अनुसार एक जनाले धम्की पठाउन प्रयोग गरिएको इमेल खाता खोल्न सहयोग गरेका थिए भने अर्का एकले हुन्डीमार्फत पैसा पठाउने व्यवस्थामा भूमिका खेलेको देखिएको छ।
यसबारे उनीहरूसँग पनि सोधपुछ भइरहेको छ। काठमाडौं परिसरका प्रवक्ता पवन भट्टराईले पाठकले अरू व्यक्तिहरूसँग मिलेर संगठित रूपमा धम्की दिएको आशंकामा अनुसन्धान भइरहेको बताएका छन्। अनुसन्धानका क्रममा अधिकारीले धम्की मात्र होइन, तान्त्रिक उपायमार्फत अख्तियारका पदाधिकारीलाई हानि पु¥याउने प्रयाससमेत गरेको तथ्य पनि सार्वजनिक भएको छ।
प्रहरीका अनुसार अधिकारीले भारतका एक तान्त्रिक बाबासँग सम्पर्क गरी अख्तियारका पदाधिकारीविरुद्ध तन्त्रमन्त्र प्रयोग गर्न आग्रह गरेका थिए। तेलंगनाको किरमनगर स्थायी घर भएका सराई किनेरा उर्फ ‘जय जगदम्बे बाबा’ नामका तान्त्रिकलाई अधिकारीले यस प्रयोजनका लागि प्रयोग गरेको बताइएको छ।
ती बाबालाई समेत प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिसकेको छ। सोधपुछका क्रममा उनले अधिकारीकै आग्रहमा तान्त्रिक क्रिया गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। उनको मोबाइलबाट प्राप्त सन्देशहरूमा अधिकारीले अख्तियार प्रमुख राईसहित आयुक्तहरू किशोर सिलवाल र सुमित्रा अमात्यको फोटो पठाउँदै ‘जय जगदम्बे गुरु, ए दुष्ट आद्मीको नष्ट करने के लिए कुछ करने कि जरुरत हे गुरु’ भन्ने सन्देश पठाएको भेटिएको छ।
त्यसपछि ती तान्त्रिकले अख्तियारका पदाधिकारीको प्रतिमा बनाएर त्रिशूलले घोच्ने र आगो लगाउने तान्त्रिक क्रिया गरेको तथा त्यसको भिडियो बनाएर अधिकारीलाई पठाएको प्रहरी अनुसन्धानमा खुलेको छ।
ति तान्त्रिक भारतको आसामस्थित कामाख्य मन्दिर परिसरमा गुरुका रूपमा बस्ने गरेको बताइएको छ। उनी प्रत्येक वर्ष नेपाल आउने गरेका थिए र दुई साताअघि नेपाल आएका बेला प्रहरीले सोधपुछ गरेको थियो। प्रहरी स्रोतका अनुसार नेपाल आउँदा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष प्रयोग गर्ने गरेका थिए।
अनुसन्धानका क्रममा नेपालका केही उच्चपदस्थ व्यक्तिसँग पनि ती तान्त्रिकको सम्बन्ध रहेको संकेत देखिएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार सेढाइ र बस्नेत थरका केही व्यवसायीको नाम पनि शंकास्पद रूपमा देखिएकाले उनीहरूलाई पनि सोधपुछका लागि बोलाउने तयारी भइरहेको छ।
तान्त्रिक बाबाले दरबारमार्गस्थित एक कार्यालयमार्फत प्रदीप अधिकारीसँग आफ्नो चिनजान भएको र प्राधिकरणको कार्यालयमा समेत आफू पटक–पटक गएको बयान दिएका छन्। यति धेरै प्रयास र दबाबका बाबजुद पनि पूर्वमहानिर्देशक अधिकारी भने भ्रष्टाचार मुद्दाबाट बच्न सकेनन्। भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट निर्माण र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दा उनीविरुद्ध दायर भइसकेको छ। हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा उनी हाल पुर्पक्षका लागि थुनामा छन्।
अन्डरवर्ल्डको धम्की, विदेशीबाट परिचालित दबाब र तान्त्रिक प्रयोगसम्मको घटनाले नेपालमा भ्रष्टाचार प्रकरण कति जटिल र बहुआयामिक बन्न सक्छ भन्ने प्रश्न उठाएको छ। राज्यका संवेदनशील निकायलाई प्रभावित पार्ने प्रयासका यस्ता घटनाले प्रशासनिक प्रणाली र न्याय प्रक्रियाको विश्वसनीयतामाथि समेत गम्भीर बहस जन्माएको छ।
