जेन–जी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ५१, अझै उपचारमै छन् २९९ घाइते

काठमाडौँ– जेन–जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ। नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापाले दिएको जानकारीअनुसार भदौ २३ र २४ गतेका प्रदर्शनमा मृत्यु हुनेमध्ये ३ जना प्रहरी, १ जना भारतीय नागरिक र बाँकी नेपाली युवा छन्।

प्रदर्शनको पहिलो दिन मात्रै १९ जनाको ज्यान गएको थियो। तर, त्यसपछि घाइते भएर उपचाररत केही युवाको मृत्यु हुँदा शुक्रबारसम्म मृतकको संख्या ५१ पुगेको हो।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९९ जना घाइतेको उपचार देशभरका ३३ अस्पतालमा भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी झापाको बीएनसी अस्पतालमा ५३ जना घाइते उपचाररत छन्।

मुख्य प्रदर्शन स्थल बानेश्वरमा रहेको निजामती कर्मचारी (सिभिल) अस्पतालमा २३ जना, ट्रमा सेन्टरमा ३२ जना, सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा ३५ जना, त्रिवि शिक्षण अस्पतालमा २५ जना र नेपाल पुलिस अस्पतालमा २८ जना घाइतेको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हालसम्म १ हजार ४६५ जना घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन्। तर, अझै पनि धेरै घाइतेको अवस्था गम्भीर रहेको र निरन्तर उपचार भइरहेको जनाइएको छ।

जेन–जी आन्दोलनका क्रममा निरन्तर बढिरहेको मृतक संख्या र ठूलो संख्यामा घाइतेहरूको अवस्थाले आन्दोलन थप संवेदनशील बन्दै गएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट