सप्तरीमा मिति र समय किटान गरेर अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा !

राजविराज– सप्तरीमा स्थानीय प्रशासनले मिति र समय किटान गरी अनिश्चितकालीन कर्फ्यु र निषेधाज्ञा आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सीडीओ टुवराज पोखरेलले जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार शुक्रबार बिहान ६ बजेदेखि विभिन्न समय खण्डमा कर्फ्यु र निषेधाज्ञा लागू गरिएको जनाएका छन्। आदेश अर्को सूचना नआएसम्म निरन्तर लागू हुने भनिएको छ।
जारी आदेशअनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म निषेधाज्ञा, बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म कर्फ्यु, बेलुकी ५ बजेदेखि ७ बजेसम्म पुनः निषेधाज्ञा र बेलुकी ७ बजेदेखि भोलिपल्ट विहान ६ बजेसम्म कर्फ्यु लागू हुनेछ।
उत्तरतर्फ उदयपुर, पूर्वतर्फ सुनसरी, दक्षिणतर्फ भारत र पश्चिमतर्फ सिरहा जिल्लालाई सिमाना तोकिएको छ। आदेश अनुसार सो सीमाभित्र कुनै पनि व्यक्ति वा समूहले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन्।
आदेश उल्लङ्घन गर्ने वा गराउनेविरुद्ध स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कडा कारबाही हुने चेतावनी समेत दिइएको छ। जिल्ला प्रशासन कार्यालयले नागरिकलाई शान्ति–सुरक्षा कायम राख्न आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।