जेन–जी आन्दोलनमा विध्वंस, प्रतिशोध र वास्तविकताः रविको नाम लिँदै तोडफोड गर्ने पनि भेटिए

काठमाडौँ– भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन अझै पनि देशको राजनीतिक–सामाजिक बहसको केन्द्रमा छ। आन्दोलनका क्रममा देखिएको हिंसा, विध्वंस र मृत्युका घटनामा नयाँ तथ्य सार्वजनिक हुँदै जाँदा यसको स्वरूप अझै जटिल बन्दै गएको छ।

शहरी विकास मन्त्रालयअन्तर्गतको एक भवनमा लाठो बोकेर तोडफोडमा संलग्न भएको देखिएका एक व्यक्तिको पहिचान खुलेको छ। सार्वजनिक भएको भिडियोमा उनी रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै अरुलाई तोडफोडमा उक्साइरहेका छन्। भिडियोमा ती व्यक्ति चर्को स्वरमा धम्की दिँदै भन्छन— ‘यिनका छोराछोरीदेखि लिएर यिनलाई एक–एक छोड्ने छैनौँ अब हामीले। रवि लामिछानेमाथि प्रतिशोध साँधेर, सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएर यिनीहरूले जेल पठाएका हुन्।’

यसरी व्यक्तिगत राजनीतिक प्रतिशोधलाई आन्दोलनसँग जोडिएको देखिनु नै आन्दोलनको वास्तविक स्वरूपप्रति प्रश्न खडा भएको छ। आन्दोलनका नाममा सरकारी कार्यालय, अदालत, निजी तथा व्यापारिक भवन, सवारी साधनमा आगजनी र तोडफोड गर्नेहरुमाथि प्रहरीले दबाब बढाएको छ। प्रहरीका अनुसार विभिन्न प्रमाणका आधारमा विध्वंसमा संलग्नहरूको पहिचान भइरहेको छ र हालसम्म दुई दर्जनजति पक्राउ परिसकेका छन्।

जेन–जी आन्दोलन शुरुमा शान्तिपूर्ण देखिएको थियो। माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेपछि अराजक बन्यो। संसद भवन छिर्न खोज्दा प्रहरीसँग भिडन्त भयो र त्यसपछि गोली चल्यो। प्रारम्भिक विवरणअनुसार गोली लागेर झण्डै दुई दर्जनको मृत्यु भएको छ।

तर सबै मृत्यु प्रहरीको गोलीबाट मात्र नभएको तथ्य सार्वजनिक भएको छ। कोही आन्दोलनकारी आफ्नै तोडफोडको क्रममा माथिबाट खसेको सामानले थिचिएर मरे। कोही आन्दोलनकारीले लगाएको आगोमा जलेर ज्यान गुमाए। कतिपयले करेण्ट लाग्दा मृत्यु भएको प्रारम्भिक तथ्यमा देखिएको छ। धरानको भाटभटेनीमा सामान झिक्न पुगेका ४ जनाको जलेर मृत्यु भएको घट्ना यसको उदाहरण हो।

यसैगरी, एनसेल कार्यालय तोडफोड गर्ने क्रममा छतबाट भारी सामान खसेर राष्ट्रिय झण्डा बोकेर दौडिरहेका एक युवकको टाउकोमा ठोक्किँदा उनको त्यहीँ मृत्यु भयो। सामाजिक सञ्जालमा भीमबहादुरले लेखेका छन्, ‘यस्ता खालका थुप्रै मान्छे यसरी मरेका छन्। सबै पुलिसको गोलीले मात्रै मरेका होइनन्। कोही करेण्ट लागेर, कोही जलेर पनि मरेका छन्। समग्रमा यो आन्दोलन त्यति ठीक होइन।’

यस्तै अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले भने, बन्दुक आन्दोलनकारीकै हातमा पनि देखिएको भन्दै गोली दुवैतर्फबाट चलेको हुनसक्ने दाबी गरेका छन्। ‘गोली पनि पुलिसले मात्रै नहानेको हुनसक्छ। बन्दुक यिनीहरुकै हातमा देखिन्छ। यसरी हानेर आफ्नै साथी मारेछन्। यो सुनियोजित खेल हो।’

यसरी, आन्दोलनका क्रममा भएको मृत्युमा प्रहरीको भूमिका मात्र होइन, आन्दोलनकारीभित्रैको अराजकता र हिंस्रक गतिविधिले पनि ठूलो योगदान पु¥याएको देखिन्छ।

जेन–जी आन्दोलन सुरुमा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्धको स्वर थियो। तर आन्दोलन हिंस्रक बन्दै जाँदा यसले आफ्नो नैतिक धरातल गुमाएको छ। सार्वजनिक भएका भिडियो र प्रत्यक्षदर्शी विवरणहरूले देखाइरहेको छ— आन्दोलन स्वतःस्फूर्त विरोध मात्र नभई व्यक्तिगत प्रतिशोध, अराजक घेराबन्दी र राजनीतिक खेलमा रुपान्तरण भएको देखिन्छ।

आन्दोलनकारीका गतिविधि हेर्दा ‘यो आन्दोलन साँच्चै भ्रष्टाचार र सामाजिक सञ्जाल नियन्त्रणविरुद्धको जनअसन्तोष थियो कि, राजनीतिक हिसाबकिताब मिलाउने अवसर?’ भन्ने प्रश्न खडा भएको छ।

यद्यपी, जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नेलाई सजाय हुनैपर्ने बताएकी छिन्। आज प्रधानमन्त्रीको पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनमा आगजनी र तोडफोडका घटना सुनियोजित भएको हुनसक्ने औंल्याईन।

‘जुन किसिमको आगलागी र तोडफोड भएको छ, त्यो अपराधिक कार्य हो। त्यस्तो कार्य गर्नेलाई नेपाली कसरी भन्ने ? जे–जति भयो मलाई आश्चर्य लागेको छ। यो सुनियोजित रुपमा भएको हो। यस्तो काम गर्नेले सजाय पाउनैपर्छ’–उनले भनिन।

त्यसैगरी, उनले हिजै मुख्यसचिव एकनारायण अर्याल र अन्य सचिवलाई तराईमा बाँसका भाटाले छोपेर र स्थानीय जनताको सहयोग लिएर भए पनि ध्वस्त प्रहरी कार्यालयहरु मर्मतको व्यवस्था मिलाउन निर्देशन दिएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट