चुच्चेपाटीको भाटभटेनीमा भेटिएका ६ शव कस्का ?

काठमाडौँ — गत मंगलबार जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले आगजनी गरेको काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव फेला परेको छ। प्रहरी वृत्त गौशालाका अनुसार शवहरू आगोले जलेर क्षतिग्रस्त अवस्थामा भेटिएका छन् र हालसम्म उनीहरूको पहिचान सम्भव छैन।
शवको पहिचान डीएनए परीक्षणपछि मात्र निश्चित गर्न सकिने प्रहरीले जनाएको छ। चुच्चेपाटीस्थित उक्त भाटभटेनीमा प्रदर्शनकारीको तोडफोड र आगजनी भएपछि शुक्रबार एउटा शव फेला परेको थियो भने शनिबार थप पाँच शव भेटिएका छन्। प्रहरी अधिकृतका अनुसार, प्रदर्शनकारी हुन् कि कर्मचारी अथवा लुटपाटमा गएका मानिसहरू हुन् भन्ने खुलेको छैन।
भदौ २४ गते काठमाडौंका अधिकांश भाटभटेनी आउटलेटमा आन्दोलनकारीहरूले आगो झोसेका थिए। चुच्चेपाटीमा पनि आगो आगजनी गरिएको थियो। केही आउटलेट भने स्थानीयहरूले जोगाएका थिए।
प्रहरीले घटनास्थलमा सकृयता बढाएको छ र अन्य भाटभटेनीमा पनि जलेका व्यक्तिहरू हुन सक्ने आशंकामा छानबिन सुरु गरेको जनाएको छ। यो घटनाले काठमाडौंमा भएको जेन–जी आन्दोलनको हिंस्रक स्वरूप र त्यसका पीडादायी परिणामलाई पुनः उजागर गरेको छ।