जेन–जी आन्दोलनपछि बारबरा फाउण्डेशनमाथि चीनविरोधी गतिविधिको आरोपः यस्तो छ कारण र आधार

काठमाडौं — खोज पत्रकारिता पुरस्कार, पर्यावरण, संस्कृति र सम्पदा संरक्षणसम्बन्धी फेलोसिप र टक–सिरीज सञ्चालन गर्ने उद्देश्य राखी नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुईतको नेतृत्वमा स्थापना भएको बारबरा फाउण्डेशन पछिल्लो समय पश्चिमी मुलुकको रकममार्फत चीनविरोधी गतिविधिमा संलग्न भएको भन्दै विवाद वढिरहेको छ।
भदौ २३ र २४ गते राजधानी काठमाडौंसहित देशभर भएको जेनजी आन्दोलन र सो क्रममा देखिएको ‘हामी नेपाल’ नामक एनजीओ तथा त्यसका संस्थापक अध्यक्ष सुदन गुरुङसँगको सम्बन्ध जोडिँदै गएपछि फाउण्डेशन पनि विवादमा तानिएको हो।
नेपाललाई कर्मक्षेत्र बनाएकी अमेरिकी नागरिक बारबरा एडम्सको निधनपछि वैशाख १४, २०६७ (अप्रिल २७, २०१०) मा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्था दर्ता ऐन २०३४ बमोजिम बारबरा फाउण्डेशन दर्ता गरिएको हो।
अध्यक्ष डा. रुईतका अनुसार फाउण्डेशन व्यक्तिगत सम्पत्ति र नेपाली नागरिकबाट प्राप्त दानमार्फत सञ्चालन हुँदै आएको छ। एडम्सले मृत्युपश्चात करिब २ करोड ८८ लाख रुपैयाँ फाउण्डेशनलाई हस्तान्तरण गरेकी थिइन्। फाउण्डेशनले विगत आठ वर्षमा ब्याजसहित ७ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेकोमा करिब ३ करोड ६४ लाख रुपैयाँ कार्यक्रम तथा प्रशासनिक खर्चमा प्रयोग गरेको र हालसम्म करिब ३ करोड ९५ लाख मौज्दात रहेको विवरण सार्वजनिक गरेको छ।
संस्थाको मुख्य उद्देश्य नेपालमा खोज पत्रकारिता पुरस्कार, वातावरण, संस्कृति र सम्पदा संरक्षणसम्बन्धी फेलोसिप प्रदान गर्नु र टक–सिरीज सञ्चालन गर्नु हो। श्रोतहरुको दावी अनुसार फाउण्डेशनमा विशेष गरी अष्ट्रेलियाको फ्रेड हल्लोज फाउण्डेशन, अमेरिकाको हिमालयन क्याटाराक्ट प्रोजेक्ट र ओपन सोसाइटी फाउण्डेशनबाट ठूलो मात्रामा फन्डिङ हुने गरेको छ।
ओपन सोसाइटी फाउण्डेशनले परोपकारका नाममा विभिन्न मुलुकमा राजनीतिक अस्थिरता मच्चाउने गरेको आरोप लाग्दै आएको छ। नेपालमा संविधान निर्माण प्रक्रियादेखि नै पहिचानको राजनीति, जातीय अधिकार र संघीयताको विषयलाई उत्तेजित गर्न यस संस्थाले भूमिका खेलेको भन्दै आलोचना हुँदै आएको छ।
विश्लेषक भरत दाहालले त बारबरा फाउण्डेशनलाई अमेरिकाको केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) ले नै सञ्चालन गरिरहेको र फाउण्डेशनसँग आवद्ध व्यक्तिहरू सीआईएका लागि काम गर्ने गरेको दाबी गरेका छन्।
फाउण्डेशनको नेतृत्वमा अध्यक्ष डा. सन्दुक रुईत, उपाध्यक्ष डा. चन्द्रप्रसाद पोखरेल, महासचिव मोहन आन्सारी, कोषाध्यक्ष सुदर्शन राज पाण्डे (चार्टर्ड एकाउन्टेन्ट) रहेका छन्। सदस्यमा सञ्जयबहादुर थापा, प्रा. डा. गोविन्दराज पोखरेल, रास्वपाका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, प्रा. गोविन्द नेपाल, अखिलेश उपाध्याय, रागिनी उपाध्याय र सुहृद घिमिरे छन्।
फाउण्डेशनसँग पानामा पेपर्समा नाम आएका व्यवसायी सुहृद राज घिमिरे र उनकी छोरी अदिती घिमिरेमार्फत पनि ठूलो आर्थिक सहयोग आएको अनुमान छ।
जेनजी आन्दोलन र ‘हामी नेपाल’को उदय
भदौ २३ र २४ गते भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाउन खोजेको प्रतिबन्धविरुद्ध जेनजीको शान्तिपूर्ण आन्दोलन आयोजना भयो। माईतीघर मण्डलमा गर्ने भनिएको उक्त आन्दोलनका लागि सीडीओ कार्यालयले ११ बजेको समय निर्धारण गर्दै अनुमति दिएको थियो। अनुमति माग्ने पत्रमा सवल गौतम र पुरुषोत्तम यादवलगायत युवाको हस्ताक्षर देखिन्छ।
तर, आन्दोलन सुरु हुनुपूर्व अनौपचारिक नेतृत्व मिराज ढुङ्गानाले गरेको देखियो। सुरुमा शान्तिपूर्ण देखिएको आन्दोलन संसद भवनतिर पुग्दा उत्तेजित बन्यो र तोडफोड, ढुङ्गामुढा, पेट्रोल बम आक्रमणसम्म भयो। प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरे पनि स्थिती नियन्त्रणमा आएन र अन्ततः गोली चल्यो। त्यस क्रममा १९ जना जेनजी युवा मारिए र सयौं घाइते भए।
तर, आन्दोलनलाई नेतृत्व गर्ने नेताको अभाव देखियो। नेताको रूपमा देखिएका मिराज ढुङ्गाना घटनास्थलमै हराए। त्यसक्रममा ‘हामी नेपाल’ नामक एनजीओका स्वयम्सेवकका रूपमा आएका सुदन गुरुङ अग्रपंक्तिमा देखिन थाले।
भोलिपल्टदेखि देशभर आन्दोलन फैलियो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। सरकारी संरचना र पार्टी कार्यालयहरूमा आगजनी भयो। पूर्वप्रधामन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नि एवम् परराष्ट्रमन्त्री आरजु राणा देउवा आक्रमणमा परे। सैनिक हस्तक्षेपपछि मात्रै स्थिती केही सामान्य बनाइयो।
वार्ताको क्रममा सेना–जेनजीबीच अन्ततः सुदन गुरुङकै समूहलाई वैधानिकता दिइयो र उनको सुझावमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरियो। संसद विघटन भयो र कार्कीले नयाँ सरकार गठन गरिन्।
सुदन गुरुङ र विवाद
आन्दोलनपछि सुदन गुरुङलाई लिएर विवाद चुलियो। सुरुमा उनी भारतीय दार्जिलिङका नागरिक भएको हल्ला चले पनि पछि उनी नेपाली नागरिक भएको पुष्टि भयो। उनी ३७ वर्षका भएकाले जेनजी नभई बाह्य शक्तिको इसारामा आन्दोलन हाईज्याक गरेको आरोप लाग्यो। त्यो आरोप अहिलेसम्म पनि कायमै छ।
उनले बारबरा फाउण्डेशन र डा. सन्दुक रुईतसँग प्रत्यक्ष सम्बन्ध रहेको सार्वजनिक रूपमा बताएका थिए। चीनविरोधी ‘स्टुडेन्ट्स फर अ फ्री तिब्बत’ लगायत अन्तर्राष्ट्रिय एनजीओसँग उनको सम्पर्क रहेको खुलासा भयो।
कोरोना कालमा थर्मल गनमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका अग्रवाल दाजुभाइ र हतियार तस्करीको आरोप लागेको इन्फिनिटी होल्डिङका दीपक भट्टसँग पनि उनको सम्बन्ध देखियो। यसले उनलाई विवादको उत्कर्षमा पुर्याएको छ।
चिनियाँ सरोकार र पश्चिमी दबाब
विश्लेषक भरत दाहालका अनुसार, पछिल्लो आन्दोलन भारत र पश्चिमी मुलुकको चीन लक्षित राजनीतिक प्रोजेक्ट थियो। उनले ‘काठमाडौंबाट चिनियाँ दूतावास हटाउने र गुम्बालाई सडकमा उतार्ने धम्कीसम्म आएको’ बताएका छन्।
भदौ ३० गतेदेखि बौद्धस्थित तिब्बती शरणार्थी क्याम्पमा ३ दिने कार्यक्रम राखिएको, दलाई लामाले प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश पठाएको र मृतकहरूको चिरशान्तिका नाममा आयोजित कार्यक्रममा घटनाको निन्दा नगरी भावनालाई भजाउने प्रयास गरिएको दाहालले औंल्याएका छन्।
फाउण्डेशनको प्रतिक्रिया
यता, बारबरा फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुईतले भने सुदन गुरुङसँगको सम्बन्ध अस्वीकार गरेका छन्। कोरोना कालमा ‘हामी नेपाल’सँग सहकार्य भए पनि पछिल्ला एक वर्षदेखि सम्पर्क नै नभएको उनको दाबी छ।