सुमनाले पार्टी छोडेपछि हरि ढकाललाई आपत

काठमाडौँ— ‘बाघको छालामा स्यालको रजाईँ’ भन्दै पूर्वमन्त्री सुमना श्रेष्ठलाई गरेको आलोचना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकाललाई भारी परेको छ। ढकालले यसरी आलोचना गरे लगत्तै श्रेष्ठले पार्टीबाट अलग भएको घोषणा गरेकी छिन्।
त्यस लगत्तै हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा ढकालले आफ्नो गलत अभिव्यक्ति स्वीकार गर्दै आत्मालोचनासहित फिर्ता लिएका छन्। रास्वपाको केही दिनअघि भएको भर्चुअल बैठकमा सुमना श्रेष्ठ, हरि ढकाल र गणेश कार्कीबीच तीव्र बहस भएको थियो। सभापति रवि लामिछाने कारागारबाट निस्किएको विषयमा सुमनाले प्रश्न उठाउँदा ढकाल आक्रोशित भएका थिए।
त्यस क्रममा ढकालले सुमनालाई लक्षित गर्दै ‘बाघको छालामा स्यालको रजाईं’ भन्दै उखान सुनाए। रवि लामिछानेले बनाई दिएको पार्टीमा अरुले फाईदा लुटिरहेको उनको आसय थियो। उनी यतिमा मात्रै सिमित भएनन्– सभापतिकोविरुद्ध लाग्नेहरूलाई पार्टी छोड्न निर्देशन पनि दिए।
नभन्दै सुमनाले तीन दिनअघि पार्टी परित्याग गरेपछि पार्टीभित्र असन्तुष्टि देखा परेको थियो। हिजोको केन्द्रीय समिति बैठकमा ढकालले आफैंले उक्त विषय उठाएर दुख व्यक्त गरेका थिए। स्रोतका अनुसार, उनले भावावेशमा आएर बोल्न पुगेको स्वीकार गर्दै सबैसामु क्षमा मागेका थिए। बैठकमा असन्तुष्ट नेताहरूले कुनै टिप्पणी गरेनन् भने सिनियर नेताहरू पनि मौन रहे।