फेसबुकमा राजीनामा ठोकेका मुख्यमन्त्रीले कुर्सी चाहीँ नछोड्नेः राजिनामा नदिने, विश्वासको मत लिने

जनकपुर— जेन–जी आन्दोलनको दबाबका कारण मधेश प्रदेश सरकार भित्र चर्को अस्थिरता सिर्जना भएको छ। फेसबुकमार्फत राजीनामा घोषणा गरेका मुख्यमन्त्री सतिशकुमार सिंहले अझै पनि लिखित राजीनामा नदिएपछि राजनीतिक संकट गहिरिएको छ।

२३ भदौमा हिंसात्मक रूप लिएको जेन–जी आन्दोलनपछि आक्रोशित भीडलाई शान्त पार्ने उद्देश्यले मुख्यमन्त्री सिंहले २४ भदौमा आफ्नो फेसबुकमार्फत राजीनामा घोषणा गरेका थिए। उनले साधारण राजीनामासँगै दिएका थिएनन, शब्दमा खेल्न सिपालु उनले ‘देश र जनताका अगाडि आफनो पद केही होईन’ भन्ने आशय समेत उल्लेख गरेका थिए।

जेनजी युवाहरु मारिएपछि विचलित भएर पद त्यागेको बताएका उनले ब्यवहारिक रुपमा प्रदेश प्रमुखलाई औपचारिक लिखित राजीनामा भने बुझाएका छैनन्। यसबीच, जनमत पार्टीले नयाँ राजनीतिक कदम चाल्यो। भदौ २८ गते नै प्रदेश प्रमुखलाई पत्र पठाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको जानकारी गराएको थियो।

भदौ ३१ गते उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाह र वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादवको राजीनामा सार्वजनिक भयो। दुवैले भदौ २४ गतेकै मितिमा राजीनामा दिएको विज्ञप्ति फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

तर, मुख्यमन्त्री सिंह भने अझै पनि पद नछोड्ने अडानमा देखिएका छन्। उनले विश्वासको मत लिने तयारीमा रहेको बुझिएको छ। प्रदेशसभा विघटन नभएसम्म पद छोड्ने पक्षमा नरहेको उनको भनाइलाई लिएर राजनीतिक रूपमा विवाद थपिएको छ।

यससँगै मधेश प्रदेशमा सत्ता समीकरण फेरिने प्रष्ट संकेत देखिएको छ भने, आगामी दिनमा विश्वासको मत प्रक्रियाले सरकारको भविष्य टुङ्गो लगाउने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट