जेन–जी आन्दोलनले राजविराज नगरपालिका ध्वस्त, १५ करोडभन्दा बढी क्षति

राजविराज — जेन–जी आन्दोलनका क्रममा भएको आगजनीले सप्तरीको सदरमुकाम समेत रहेको राजविराज नगरपालिका पूर्ण रूपमा ध्वस्त भएको छ। नगरपालिकाले प्रारम्भिक अनुमानमा मात्र १५ करोड २३ लाख रुपैयाँभन्दा बढी क्षति भएको जनाएको छ।

मंगलबार दिउँसो प्रदर्शनकारीहरूले नगरपालिकाको मुख्य भवनमै आगो लगाएका थिए। आगजनीले भुइँतलामा रहेका कार्यवाहक नगर प्रमुखको कार्यकक्षसहित दर्ता, प्रशासन, राजस्व, जिन्सी, सामाजिक सुरक्षा तथा पञ्जिकरण, नक्सा शाखा लगायतका महत्वपूर्ण कार्यालयहरू पूरै जलेर खरानी भएका छन्।

त्यस्तै कानुन, न्यायिक समिति, प्रधानमन्त्री रोजगार सेवा केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, सामाजिक विकास, सामी परियोजना र ऋणी परियोजनाका शाखासमेत पूर्ण रूपमा नष्ट भएका छन्।

दोस्रो र तेस्रो तलामा रहेका कागजातसमेत प्रदर्शनकारीहरूले निकालेर जलाएका थिए। साथै त्यहाँका ल्यापटप, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, पंखा र कुर्सी तोडफोड र लुटपाट गरिएको नगरपालिकाले जनाएको छ।

पार्किङमा राखिएका सवारीसाधन पनि पूर्ण रूपमा नष्ट भएका छन्। एम्बुलेन्स, दुई वटा बारुणयन्त्र, तीन वटा टिपर, पाँच वटा ट्याक्टर, स्कार्पियो, कार, एक्स्काभेटर, सीटी रिक्सा र करिब दुई दर्जन मोटरसाइकलमा आगजनी गरिएको कार्यवाहक नगर प्रमुख इसरत प्रविनले जानकारी दिइन्।

आगजनीपछि केही वडा कार्यालय सञ्चालनमा आए पनि नगरपालिकाको मुख्य कार्यालय अझै पूर्ण रूपमा बन्द छ। ‘जोगिएको मिटिङ हलमा नगरसभा गर्ने तयारी गरेका छौं, तर व्यवस्थापनमा ठूलो समस्या भइरहेको छ,’ प्रविनले भनिन्।

हाल तत्कालका लागि खाली सटर भाडामा लिएर केही शाखा सञ्चालन गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ। स्थानीयवासीहरूले नगरपालिकामा भएको विनाशलाई ‘जनतामाथिको प्रत्यक्ष आक्रमण’ भन्दै दोषीहरूलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट