जनमत पार्टी गम्भिर संकटमाः शीर्ष नेताको राजीनामा, मुख्यमन्त्रीलाई स्पष्टीकरण

राजविराज— डा. सीके राउत नेतृत्वको जनमत पार्टी आन्तरिक संकटमा फसेको छ। एकातिर पार्टीका उच्च तहका नेताहरूले सामूहिक राजीनामा दिँदै पार्टी परित्याग गरेका छन् भने अर्कोतर्फ पार्टीले आफ्नै मुख्यमन्त्रीलाई स्पष्टीकरण सोध्ने अवस्था आएको छ।

जेनजी आन्दोलनपछि पार्टीभित्र असन्तुष्ट पक्षले ठूलो कदम उठाउँदै वरिष्ठ उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका थिए।

वरिष्ठ उपाध्यक्ष खान पार्टीका संस्थापक मध्येका एक हुन् र अघिल्लो कार्यकालमा मन्त्रीसमेत बनेका थिए। असन्तुष्ट नेताहरूले अध्यक्ष राउतको नेतृत्वमा पार्टी उद्देश्य र जनभावनाअनुसार अघि बढ्न नसकेको आरोप लगाउँदै राउत र उनका सहोदर दाजु जयकान्त राउतले संगठन विभाग प्रमुखबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।

उनीहरूले भनेका थिए, ‘पार्टीको शीर्ष नेतृत्वबाट देखिएको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा जनभावनासँग विमुख गतिविधिहरूले पार्टीको मूल उद्देश्यलाई विचलित बनाएको छ।’

यसैबीच, असोज २ गते पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पार्टीले स्पष्टीकरण सोधेको छ। पार्टीको अनुशासन समितिले तीन दिनभित्र जवाफ दिन आग्रह गर्दै सिंहमाथि पार्टी निर्णयको अवहेलना, अरू दलसँग साँठगाँठ गर्ने र पार्टीको छविलाई हानी पु¥याउने गतिविधिमा संलग्न भएको आरोप लगाएको छ।

अनुशासन समितिले चेतावनी दिंदै पत्रमा भनेको छ, ‘तपाईंलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेश सभा सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो, तीन दिनभित्र स्पष्टीकरण पेश गर्नुहोस्।’

‘सिंहले भदौ २४ गते देश र जनताका अगाडि पद ठुलो कुरा हैन’ भन्दै फेसवुकबाट राजिनामा दिएका थिए। जेनजी आन्दोलनको डरले राजिनामा दिएका उनले प्रदेश प्रमुखको कार्यालयमा भने लिखित राजिनामा दिएनन्। पछिल्लो समय उनी ‘राजिनामा नदिने वरु विश्वासको मत लिने’ अडानमा छन्।

यसरी सामुहिक राजीनामा र अनुशासनात्मक कारबाहीबीच जनमत पार्टी हाल गम्भीर संकटको चरणमा प्रवेश गरेको देखिएको छ। विश्लेषकहरूका अनुसार, जेन–जी आन्दोलनले पुरानो नेतृत्वलाई चुनौती दिइरहेका बेला जनमत पार्टीभित्र उत्पन्न विवादले पार्टीको भविष्यलाई अनिश्चिततामा धकेलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट