रोशी खोलाको बाढीले फेरि बगायो बीपी राजमार्गः चौकीडाँडा–नेपालथोक खण्डमा साढे चार किलोमिटर सडक गायव

काठमाडौँ— निरन्तरको वर्षापछि आएको रोशी खोलाको बाढीले बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डमा बनेको डाइभर्सन सडक पुनः बगाएको छ। गत वर्षको बाढीपछि अस्थायी रूपमा निर्माण गरिएको करिब साढे चार किलोमिटर लामो यो डाइभर्सन सडकको अधिकांश भाग अहिलेको बाढीले बगाएको हो।
डिभिजन सडक कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार काभ्रे जिल्लाको चौकीडाँडादेखि बर्खेखोलासम्मका १६ ठाउँमा बाढीले डाइभर्सन बगाएको छ। ती सबै ठाउँ मिलाएर करिब साढे तीन किलोमिटर सडक रोशी खोलाले बगाएको प्रारम्भिक अनुमान गरिएको छ।
त्यस्तै, बर्खेखोलादेखि नेपालथोकसम्म पर्ने सिन्धुली खण्डमा पनि तीन ठाउँमा डाइभर्सन बगाएको डिभिजन सडक कार्यालय खाल्टेका सूचना अधिकारी सुदर्शन उप्रेतीले बताए। उनका अनुसार ती क्षेत्रहरूमा अहिले पनि बाढीको बहाव तीव्र भएकाले स्थल निरीक्षण गर्न कठिनाइ भएको छ।
‘गत वर्ष बाढीले बगाएको ठाउँमा बनाइएको डाइभर्सन लगभग सबैजसो कटान भएको देखिन्छ,’ उप्रेतीले भने, ‘कम्तीमा ८ सय मिटर सडक बगाएको अनुमान छ।’ रोशी खोलाले बगाएका मुख्य स्थानहरूमा माम्ती खोला, माथिल्लो माम्ती, पिप्ले, डालाबेँसी, कालढुंगा, बोक्सी कुना, चिउरी बाँसझाङ, नार्के, गिमतीबेँसी, चारसयबेँसी, कटौनीबेँसी, चौकीडाँडा र दाप्चा पुललगायतका क्षेत्र छन्। यी सबै क्षेत्र मिलाएर करिब साढे चार किलोमिटर सडक बगाएको अनुमान गरिएको छ।
रोशी खोलामा अझै उच्च बहाव रहेकाले डाइभर्सन बगेका ठाउँमा पुनर्निर्माण सुरु गर्न नसकिएको डिभिजन सडक कार्यालय भक्तपुरकी अधिकारीले बताइन्। ‘हामीले ७२ घण्टाभित्र सडक पुनः सञ्चालन गर्ने लक्ष्य बनाएका छौं,’ उनले भनिन्, ‘तर बाढी नघटे काम सुरु गर्न सकिन्न।’
उनका अनुसार राजमार्ग पुनः सञ्चालनका लागि कार्यालयले आफ्नै उपकरणका साथै ठेक्का पाएका निर्माण कम्पनीका मेसिन र श्रमिक पनि प्रयोग गर्ने योजना बनाएको छ। ‘आज पानी परेन र बाढी घट्यो भने काम आजै सुरु गर्न सकिन्छ,’ अधिकारीले भनिन्।
सडक अवरुद्ध भएपछि काभ्रे–सिन्धुली हुँदै काठमाडौं र जनकपुरतर्फका सवारी सञ्चालन पूर्णरूपमा बन्द छन्। स्थानीय बासिन्दा वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन्। आवश्यक सामग्री, इन्धन र आपतकालीन वस्तु ढुवानीमा पनि अवरोध पुगेको छ।
सडक विभागका अनुसार वर्षा रोकिनासाथ र खोलाको बहाव घट्नासाथ पुनःस्थापनाको काम तिब्र गतिमा अघि बढाइनेछ।
ठेक्का र पुनर्निर्माणको अवस्था
गत वर्ष असोजमा बीपी राजमार्ग बाढीले बगाएपछि सरकारलाई मर्मतमा ठूलो खर्च गर्नुपरेको थियो। त्यसपछि राजमार्गलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माणको तयारी गरिएको हो। भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्मको ठेक्का लामा–नवकान्तिपुर जेभीले पाएको छ भने चारसयबेँसीदेखि डालाबेँसीसम्मको ठेक्का खानी–कमलजित–एवान निर्माण सेवाले पाएको छ।
बाँकी दुई खण्डमध्ये एक खण्ड जापान सरकारले पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ भने अर्को खण्डमा ठेक्का प्रक्रिया बाँकी छ। सिन्धुली जिल्लाको बर्खेखोला–नेपालथोक खण्ड पुनर्निर्माणका लागि खरीढुंगा–घिसिङ–क्षितिज जेभीले ठेक्का पाएको भए पनि कार्यान्वयन सुरु हुन सकेको छैन।