सुनसरीमा मध्येराती दुई समुदायको झडपमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, अनिश्चितकालीन कर्फ्यु

इटहरी– साउने सोमबारको बोलबम यात्राका क्रममा डिजेको आवाजलाई लिएर सुरु भएको विवाद सुनसरीको देवानगञ्ज–हरिनगरा क्षेत्रमा हिंसात्मक साम्प्रदायिक झडपमा परिणत भएपछि सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ।

सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् भने अवस्था नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि पाँच संवेदनशील क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु लागू गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका सीडीओ वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम हरिनगरा गाउँपालिकाका घुस्की, भुटाहा, कप्तानगञ्ज, हरिनगरा बजार तथा देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्ज र देवानगञ्ज बजार क्षेत्रमा कफ्र्यु आदेश जारी गरेका हुन्।

कफ्र्यु अवधिमा कुनै पनि प्रकारको आवतजावत, सभा, जुलुस, प्रदर्शन, भेला, बैठक तथा घेराउ पूर्ण रूपमा निषेध गरिएको छ। आदेश उल्लंघन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद हुन सक्ने चेतावनी प्रशासनले दिएको छ।

प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे साउने सोमबारका लागि हिन्दु धर्मावलम्बीहरूको एक समूह सप्तकोसी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोक हुँदै अघि बढिरहेको थियो। डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिले आपत्ति जनाएपछि सुरु भएको सामान्य भनाभन केहीबेरमै ठेलाठेल र त्यसपछि दुई समुदायबीचको हिंसात्मक झडपमा परिणत भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरी चौकी कप्तानगञ्जबाट इन्स्पेक्टर प्रकाशकुमार श्रेष्ठ नेतृत्वको टोली घटनास्थल पुगे पनि त्यसबेलासम्म दुवै पक्षबाट थप मानिसहरू चिर्पट, ढुंगा, बाँस, लाठी र भालाजस्ता सामग्री बोकेर घटनास्थलमा जम्मा भइसकेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय देवानगञ्ज, प्रहरी चौकी घुस्की, साहेबगञ्ज तथा सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको थियो।

झडपका क्रममा दुवै पक्षबाट प्रहरीमाथि ढुंगामुढा भएपछि इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राईसहित नेपाल प्रहरीका आठ जना घाइते भए। राईको टाउकोमा पाँच टाँका लगाइएको प्रहरीले जनाएको छ। अन्य प्रहरीको अवस्था सामान्य रहेको बताइएको छ। सशस्त्र प्रहरीतर्फ पनि पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

प्रहरीले प्रारम्भिक अवस्था नियन्त्रण गर्न इन्स्पेक्टरसँग रहेको पेस्तोलबाट तीन राउन्ड हवाई फायर गरेको जनाएको छ। त्यसपछि पनि स्थिति नियन्त्रणबाहिर जान थालेपछि राति करिब पौने ११ बजे घटनास्थलमा रहेको सशस्त्र प्रहरीको टोलीबाट गोली चलाइएको थियो। नेपाल र सशस्त्र प्रहरीबाट कति राउन्ड गोली चल्यो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको सुनसरी प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।

गोली लागेर देवानगञ्ज गाउँपालिका–४ निवासी ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा देवानगञ्ज–३ का २० वर्षीय जयप्रकाश मेहता गम्भीर घाइते भएका छन्। साथै मिथलेश यादव, अमलेश मेहता, मिथलेश मेहता, अमितकुमार यादव, रविन्द्र मेहता, अर्का अमितकुमार यादव तथा सुनीलकुमार मेहतालगायत अन्य घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबेल मेडिकल कलेजलगायत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हालसम्म प्राप्त विवरणअनुसार नौ जना सर्वसाधारण, आठ जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी कुल २२ जना घाइते भएका छन्। सशस्त्र प्रहरीतर्फका घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको छ।

घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय, कोशी प्रदेश प्रहरी गण रानी, नेपाल प्रहरी दंगा नियन्त्रण गण दुहबी, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा विभिन्न इलाका प्रहरी कार्यालयबाट ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको छ। प्रारम्भिक विवरणअनुसार २११ जना नेपाल प्रहरी र १६५ जना सशस्त्र प्रहरी अतिरिक्त रूपमा परिचालन गरिएको छ।

सीडीओ घिमिरेले कर्फ्यु लागू गरिएका क्षेत्रहरूको चार किल्लासमेत तोकेका छन्। हरिनगरा बजार क्षेत्रको पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा गाउँपालिका कार्यालय र दक्षिणमा बसन्तपुर मोड, भुटाहा बजार क्षेत्रको पूर्वमा मोरीया धार खोला, पश्चिममा इदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा गाउँपालिका कार्यालय, कप्तानगञ्ज बजार क्षेत्रको पूर्वमा यादव टोल, पश्चिममा पाँचौं सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा निर्धारण गरिएको छ। घुस्की बजार क्षेत्रको पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुल तथा देवानगञ्ज बजारको पूर्वमा मुसहर टोल, पश्चिममा मोरीया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालयसम्मको क्षेत्र कफ्र्युको दायरामा परेको छ।

घटनापछि बसेको जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले थप जनधनको क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ। प्रहरीले दुवै समुदायका व्यक्तिहरूलाई अलग–अलग स्थानमा राखेर छलफल र सम्झाइबुझाइको प्रयास जारी रहेको जनाएको छ। प्रशासनले सबै पक्षलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट