जेन–जी आन्दोलनमा ‘फ्रि तिब्बत’को दबदबा र सम्भावित मन्त्रीमा टासी ल्हान्जोमको नामः संयोग हो कि नियोजित?

काठमाडौँ — देशमा जेन–जी आन्दोलनपछि बनेको अस्थायी सत्ता संरचना स्थिर हुन नपाउँदै एउटा नामले राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म हलचल मच्चाएको छ —टासी ल्हान्जोम।

हुम्लाको नाम्खा गाउँपालिका–६, लिमी भ्यालीकी यी युवती सम्भावित महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीको रूपमा चर्चामा आइन्। जेन–जी आन्दोलनपछि कर्णाली प्रदेशबाट नयाँ पुस्ताको प्रतिनिधित्व खोजिँदै गर्दा टासीको नाम अगाडि आएको हो। तर, ‘जेन–जी कर्णाली कलेक्टिभ्स’ नामक समूहले उनको नाममा आपत्ति जनायो।

‘टासी आन्दोलनमा प्रत्यक्ष सहभागी थिइनन्, उनको नाम राजनीतिक सौदाबाजीमा आएको हो।’ उक्त समुहले भनेको छ। घट्नाक्रम यतिमा मात्रै सिमित छैन। उनको नाम सार्वजनिक हुनासाथ एउटा अनौठो घटना घट्यो—अमेरिकाको कोलम्बिया विश्वविद्यालयको वेबसाइटबाट ‘Tibetan EntrepreneurshipM A Roundtable Discussion’ भन्ने पेज अचानक हटाइयो।

त्यो पेजमा टासीलाई ‘Tibetan diaspora face in Nepal भनेर परिचय दिइएको थियो। नेपालमा मन्त्री बन्न सक्ने चर्चा चल्दै गर्दा यसरी अन्तर्राष्ट्रिय विश्वविद्यालयको पेज गायब हुनु अनौठो र रहस्यमय भएको छ। नेपालमा मन्त्री बन्ने चर्चा चुलिँदै गर्दा उक्त सामग्री हटाइयो। यसबीचमा डिजिटल राष्ट्रवादको भीडले टासीलाई ‘नक्कली नागरिकता भएकी विदेशी’ भनेर ट्रोल गर्न सुरु गरिसकेको थियो।

‘के यो नेपाल सरकारको कूटनीतिक दबाब थियो? कि अमेरिकाको ‘सुरक्षात्मक रणनीति’?’ कोलम्बियाले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन। तर यो सानो रियाक्सनले नेपालमा ठूलो प्रश्न उब्जाएको छ — टासीको पहिचानको राजनीति के हो?

कोलम्बिया विश्वविद्यालयको पेज हट्नु केवल संयोग थियो कि संकेत — त्यो अझै खुल्न बाँकी छ। तर, यसले नेपाली राजनीतिमा एउटा नयाँ मोड दिएको छ — जहाँ नागरिकता, राष्ट्रियता र पहिचानबीचको सीमा अझ धुमिल हुँदै गएको छ।

सम्भावित मन्त्रीका रुपमा उनको नाम सार्वजनिक भएसँगै ‘राष्ट्रघात’को आरोप पनि सुरु भयो। विघटित सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सामाजिक सञ्जालमा लेखे —‘अब बन्ने मन्त्रिपरिषद्मा भारतको धर्मशाला, तिब्बती क्याम्पमा अध्ययन गरेकी विदेशी राजदूतावासमा अस्थायी कर्मचारी भएकी एउटा फ्रि तिब्बत अभियानकी अभियन्तालाई सहभागी गराइने चर्चा छ। उसका बाउ–बाजे तिब्बतबाट दलाई लामासँगै भागेर आएका तिब्बती शरणार्थी हुन्। तर, उनका बाउआमाले नक्कली नागरिकता लिँदै कर्णालीमा बसेका छन्।’

पछि उनले आफनो भनाई सच्याए। उनले लेखे– ‘जो वास्तविक कर्णालीको बासिन्दा नै होइन, एउटी तिब्बतीयन नेपालको मन्त्रिपरिषद्को सदस्य बन्ने कुरा सुन्नमा आएको छ। यदि यसरी आँखाअगाडि राष्ट्रघात गर्दै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई आँच पुग्ने काम यो सरकारले ग¥यो भने याद गर सरकार !’

टासीले भने यी सबै आरोपहरूलाई ‘असत्य, जातीय र बदनियतपूर्ण’ भएको आरोप लगाएकी छिन्। ‘गैरखस–गैरहिन्दु, मंगोलियन अनुहार र भाषाका कारण हामीलाई ‘खाँट्टी नेपाली होइनौं’ भन्ने मिथ्या आरोप लगाइन्छ।’ उनले भनेकी छिन्–‘मलाई राष्ट्रघाती ठहर्याउने मानसिकताबाट माथि उठ्नुपर्छ।’

को हुन टासी ?
टासी ल्हान्जोमको जीवन–यात्रा आफैंमा चलचित्रको कथा जस्तो छ। २०५६ साल कात्तिक २९ मा जन्मेकी उनी लिमी भ्यालीकी स्थानीय हुन्। उनको नागरिकता नम्बर सरकारी अभिलेख अनुसार ५९–०१–७४–०१०४२ (जिल्ला प्रशासन कार्यालय, हुम्ला) हो।

सन् २००७ मा अध्ययनका लागि काठमाडौं आएकी टासीले कक्षा ८ सम्म काठमाडौंमा पढिन। त्यसपछि छात्रवृत्ति पाएर पढाइकै लागि भारत गइन्। उनले भारतमा १२ कक्षासम्म पढिन्। त्यसपछि दिल्ली विश्वविद्यालयको हिन्दु कलेजमा पढ्न थालिन्। उक्त कलेजमा उनले राजनीतिशास्त्र पढेकी हुन्। उनले छोटो समय नेपालस्थित अमेरिकी दूतावासमा पनि काम गरेकी छन्। दूतावासमा उनले राजनीति र अर्थतन्त्रको क्षेत्रमा रहेर काम गरिन्।

उनले फिल्म निर्माणमा पनि पाइला राखिन्। जलवायु परिवर्तन र हिमाली जीवनबीचको द्वन्द्वमा आधारित उनको वृत्तचित्र ‘ नो मोनास्ट्री नो भिलेज’ —ले अन्तर्राष्ट्रिय पुरस्कार जित्यो। नेपाल–अमेरिका फिल्म फेस्टिबलमा बेस्ट नेसनल डकुमेन्ट्री अवार्ड, र नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिबलमा बेस्ट नेशनल डकुमेण्ट्री अवार्ड उनकै नाममा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट