उदयपुरमा गुडिरहेको कारमा एक्कासी दनदनी आगो बलेपछि…

उदयपुर — इलामबाट काठमाडौँ जाँदै गरेको कारमा सोमबार बिहान अचानक आगलागी हुँदा एक बालक घाइते भएका छन्। उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडक खण्डमा गुडिरहेको बेला बा ९ च ८६६८ नम्बरको कारमा आगलागी भएको हो।

उदयपुरका डीएसपी केदारमान दोङका अनुसार इलामको चुलाचुली गाउँपालिका–५ का ४२ वर्षीय चालक प्रेमकुमार सेनचुरीले चलाएको उक्त कार इलामबाट काठमाडौंजाँदै गर्दा अचानक आगो लागेको थियो।

आगोका कारण कार पूरै जलेर नष्ट भएको छ भने चालकका सात वर्षीय छोरा आरोन सेनचुरी सामान्य घाइते भएका छन्। उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको प्रहरीले जनाएको छ।

कारमा सवार प्रेमकुमारकी श्रीमती २७ वर्षीया अनिता सेनचुरी र ठूला छोरा १४ वर्षीय आयुष सेनचुरी भने सकुशल रहेका छन्। आगो कसरी लागेको भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुमान अनुसार कारको इन्जिन भागबाट चिस्यान वा विद्युत सर्किटमा समस्या आएपछि आगो लागेको हुनसक्ने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट