दुई छिमेकी परिवारबीच रक्तपातः जग्गा विवादको झडपमा वृद्धको मृत्यु, महिला घाइते

रौतहट — रौतहटको फतुवा विजयपुरमा आइतबार दिउँसो जग्गाको सानो विवादले ठूलो रूप लिँदा एक वृद्धको ज्यान गएको छ र एक महिला घाइते भएकी छन्। स्थानीय छिमेकीबीचको लामो समयदेखि चलिरहेको विवादले अन्ततः हिंसात्मक रूप लिँदा गाउँमा त्रास फैलिएको छ।
फतुवा विजयपुर नगरपालिका–२ सितलपुरका ६० वर्षीय शंकर साह बनियाँको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ। उनीमाथि छिमेकी कपिलदेव यादव पक्षका व्यक्तिहरूले आक्रमण गरेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका शंकरलाई उपचारका लागि वीरगन्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो, तर उपचारकै क्रममा उनको ज्यान गएको हो।
झडपमा कपिलदेव यादवकी ४० वर्षीया श्रीमती मिना देवी घाइते भएकी छन्। उनी शंकर पक्षका व्यक्तिबाट कुटपिटमा परेकी थिइन्। घाइते मिना देवीको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, दुवै पक्षबीच जग्गाको स्वामित्व र सीमाना निर्धारणको विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो। आइतबार सोही विषयमा भनाभन हुँदै गएपछि दुबै समूहबीच हातापातको अवस्था सिर्जना भएको थियो।
घटनापछि आक्रमणमा संलग्न विनोद भन्ने हरिदेव यादव, ब्रह्मदेव यादव र उनका छोरा सुरेश यादव फरार रहेको र उनीहरूको खोजी जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए। ‘घटनाको कारण र वास्तविक पृष्ठभूमि पत्ता लगाउन अनुसन्धान भइरहेको छ,’ एसपी गिरीले भने, ‘दुवै पक्षबीचको विवाद कहिलेदेखि चल्दै आएको हो भन्नेबारे पनि तथ्य संकलन भइरहेको छ।’
स्थानीयवासीहरूका अनुसार, जग्गाको सिमाना विवादका कारण दुवै परिवारबीच बारम्बार झगडा हुने गरेको थियो। तर आइतबारको घटना हिंसात्मक बनेपछि गाउँमा तनाव र त्रास फैलिएको छ।