सप्तरीमा ७३ वर्षीय पुजारीको गोली हानी हत्या, सीमावर्ती क्षेत्रमा सुरक्षा कडाइ

राजविराज — सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ। शनिवार बिहान करिब २ बजे मन्दिर नजिकैको सडकमा निकाली पिठ्युँमा गोली प्रहार गरिएको प्रहरी र स्थानीय दुवैले पुष्टि गरेका छन्।

पुजारी साह मन्दिरकै परिसरमा कुटी बनाएर एक्लै बस्दै आएका थिए। रातिको समयमा अज्ञात समूहले उनलाई बाहिर ल्याएर गोली हानेर हत्या गरेको अनुमान गरिएको छ। गोली चलेको आवाज सुनेपछि स्थानीय नजिक पुगेका थिए तर साहलाई रगताम्य अवस्थामा मृत भेटिएको बताइएको छ।

घटना भएको जानकारी पाउँसाथ स्थानीयवासीले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनबाट संयुक्त टोली पुगेर अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटनास्थलमा दुईवटा गोलीका खोका फेला परेका छन्। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतमकुमार केसीले जानकारी दिए।

एसपी केसीका अनुसार, सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ र भारतसँग जोडिएका नाका तथा पैदल मार्गमा कडाइ गरिएको छ। ‘हत्यामा संलग्न शंकास्पद व्यक्तिको खोजीका लागि सीमाक्षेत्रमा चेकजाँच तीव्र पारेका छौं,’ उनले भने।

स्थानीयले पुजारी साहको कुनै व्यक्तिगत वैरभाव नभएको र मन्दिरमै साधनामा लिप्त रहने गरेको बताएका छन्। यद्यपि, प्रहरीले धार्मिक विवाद, चोरी प्रयास वा सीमापार आपराधिक समूहको संलग्नता सबै कोणबाट अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट