गृहमन्त्री कुण्ठा र आक्रोशबाट बाहिर निस्केनन्, एमाले भन्छ– यो कार्यशैलीले निर्वाचन प्रभावित हुन्छ

काठमाडौँ– नेकपा एमालेका नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैलीले आगामी निर्वाचनलाई प्रभावित पार्ने चेतावनी दिएका छन्। उनले गृहमन्त्री अझै पनि कुण्ठा, डाह र आक्रोशको मानसिकताबाट बाहिर निस्कन नसकेको आरोप लगाउँदै मुलुकको शान्ति–सुरक्षा र फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नै बाधक भएको बताएका छन्।

बर्तौलाका अनुसार जेनजी आन्दोलनका क्रममा लुटिएका प्रहरीका हतियार र फरार कैदीबन्दीबारे गृहमन्त्रीले कुनै चासो नदिँदा मुलुक असुरक्षित बनेको छ। उल्टै पुराना पार्टीका नेताप्रति प्रतिशोधपूर्ण भाषण दिने प्रवृत्तिले चुनावी वातावरण नै बिग्रिरहेको उनको आरोप छ। ‘यिनी अहिलेसम्म पनि ईष्र्या, डाह, कुण्ठा र आक्रोशभन्दा बाहिर निस्कनै सकेका छैनन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनी लुटिएका हतियार खोज्दैनन्, प्रहरीको दबेको मनोबल उठाउने प्रयास गर्दैनन्, भागेका कैदी कहाँ छन् भन्ने चासो नै राख्दैनन्।’

एमाले नेता बर्तौलाले जेनजी आन्दोलनका नाममा देशभर मच्चिएको विध्वंशका मुख्य जिम्मेवार नै गृहमन्त्री अर्याल रहेको दाबीसमेत गरेका छन्। उनका अनुसार यदि निष्पक्ष अनुसन्धान भयो भने आन्दोलनमा घुसपैठ गराएर तोडफोड, आगजनी र हिंसा मच्चाउने ‘नर्सरीका मुख्य माली’ अर्याल नै ठहरिनेछन्।

‘यदि सक्कली छानबिन भयो भने जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा व्यापक घुसपैठ गराई विध्वंश मच्चाउने मुख्य पात्र नै गृहमन्त्री अर्याल भएको निष्कर्ष आउनेछ,’ उनले भनेका छन्। उनका अनुसार अर्यालले शान्ति र स्थिरता भङ्ग गरेर अराजकता र हिंसा फैलाउन पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री र शीर्ष नेताहरूलाई भड्काउने उद्देश्यले झूटा अभिव्यक्ति दिइरहेका छन्।

बर्तौलाले गृहमन्त्रीमाथि आफ्नो सत्ता लम्ब्याउनका लागि चुनाव टार्ने योजना बनाएको आरोप पनि लगाएका छन्। ‘हरेक दिनजसो हत्या र हिंसा भइरहँदा पनि गृहमन्त्रीमा कुनै चिन्ता छैन। उनी शान्ति र स्थिरतामाथि प्रहार गर्न व्यस्त छन्’ उनले भनेका छन्, ‘यो सबै निर्वाचन टार्ने नियतले गरिएको हो।’

यसबीच, गृहमन्त्री ओमप्रकाश अर्यालले भने आफ्ना विपक्षीहरूबाट लागेको आरोप अस्वीकार गरेका छन् । अनलाइनखबरसँगको अन्तर्वार्तामा उनले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानुनभन्दा माथि उभिने प्रयास गरिरहेको आरोप लगाउँदै चेतावनी दिएका छन्, ‘उहाँ (ओली) सुपर सिटिजन होइनन्, कानुनले उहाँलाई ठाउँमा ल्याउँछ।’

अर्यालले ओलीले अफवाह फैलाएको र जाँचबुझ आयोगको स्वतन्त्र निर्णयलाई सरकारको कदम भनेर प्रचार गरेको दाबी गरेका छन्। ‘सरकारले होइन, आयोगले उपत्यका छाड्न रोकेको हो,’ उनले भने, ‘यस्ता विषयमा ओलीजीले अपवाह फैलाउनुहुँदैन, उहाँको मति सुध्रिनुपर्छ।’

गृहमन्त्रीले ओलीले बेवास्ता र लापरवाहीका कारण देशलाई संकटमा पुर्‍याएको पनि आरोप लगाएका छन्। उनका अनुसार ‘सुरक्षा निकायले बेलैमा चेतावनी दिए पनि ओलीले त्यतिबेला बेवास्ता गरे। त्यो नै आजको क्षतिको मूल कारण हो।’

गृहमन्त्रीले अन्त्यमा भनेका छन्, ‘ओली विशेष नागरिक होइनन्, उनी पनि सामान्य नागरिक सरह हुन्। उनको पनि सुरक्षा गृहमन्त्रालयकै जिम्मेवारी हो, तर समान व्यवहार गर्नुपर्छ।’

एकातिर एमालेका नेताले गृहमन्त्रीलाई कुण्ठा र प्रतिशोधको राजनीति गरेको आरोप लगाइरहेका छन् भने अर्कोतर्फ गृहमन्त्री स्वयंले कानुनी शासनको मर्यादा र पूर्वप्रधानमन्त्रीका लापरवाहीलाई मुख्य समस्या ठहर्‍याइरहेका छन्। यसरी सत्ता र प्रतिपक्षबीचको आरोप–प्रत्यारोपले आगामी निर्वाचन र राजनीतिक स्थायित्वमाथि थप अनिश्चितता पैदा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट