एक वर्ष पुरानो रिसिइबीका कारण कुटपिट गरी युवकको हत्या, सेनाका जवानसहित तीन पक्राउ

काठमाडौँ — बझाङमा तिहार मनाउन घर पुगेका एक युवकको गाउँकै युवाहरूले कुटपिट गरी हत्या गरेका छन्। पुरानो रिसिइबीका कारण भएको कुटपिटमा नेपाली सेनाका जवानसहित तीन जना संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

जयपृथ्वी नगरपालिका–५ डिलबगर गाउँका २० वर्षीय अभिशेष थापाको कुटपिटबाट मृत्यु भएको हो। काठमाडौंमा अध्ययनरत अभिशेष कात्तिक २ गते तिहार मनाउन घर गएका थिए। सोही दिन राति गाउँकै केही युवासँगको विवादपछि उनीमाथि कुटपिट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ।

प्रहरीका अनुसार कात्तिक २ गते राति करिब ८ बजे गाउँकै २२ वर्षीय प्रचण्ड थापा, २६ वर्षीय अनिल थापा र २१ वर्षीय खगेन्द्र जोशीले मिलेर अभिशेषमाथि लाठी प्रहार गरेका थिए। लाठीले टाउकोमा प्रहार हुँदा गम्भीर घाइते भएका अभिशेषको बझाङमा प्रारम्भिक उपचारपछि सिटी स्क्यानका लागि धनगढीस्थित निःसर्ग अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोमबार उनको मृत्यु भएको हो।

बझाङका प्रहरी प्रमुख डिएसपी खगेन्द्र धमलाका अनुसार, अभिशेषमाथि कुटपिटमा संलग्न प्रचण्ड थापा नेपाली सेनाका सिन्धुपाल्चोकस्थित ईन्द्रध्वज गणमा कार्यरत सिपाही रहेको खुलेको छ। ‘तिहार मनाउन घर बिदामा आएका सेनाका जवानले गाउँकै चिनजानका दुई युवासँग मिलेर पुरानो रिसिइबीका कारण अभिशेषमाथि कुटपिट गरेको देखिन्छ,’ डिएसपी धमलाले भने।

प्रहरीको अनुसन्धानअनुसार गत वर्ष गाउँमा भएको भलिबल प्रतियोगिताका क्रममा उनीहरूबीच विवाद भएको थियो। सोही घटनाको कारण पुनः झगडा भई लाठी प्रहार गरिएको थियो। अभिशेषको टाउकोमा गम्भीर चोट लागेका कारण भित्री रक्तस्राव भएको चिकित्सकले बताएका छन्।

उनको शव सेती प्रादेशिक अस्पताल धनगढीमा पोष्टमर्टमपछि आफन्तले बुझिसकेका छन्। अन्त्येष्टि भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

तीनै आरोपितलाई प्रहरीले नियन्त्रणमा लिएर कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान थालेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट