रंगेलीमा हाइनाको त्रासः सामाजिक सञ्जालमा भाइरल तस्वीर भारतमा खिचिएको पत्ता लाग्यो
विराटनगर — मोरङको रंगेली क्षेत्रमा पछिल्ला केही दिनदेखि हिंस्रक जनावर हुँडार (हाइना) देखिएको हल्लाले स्थानीयवासी त्रसित बनेका छन्। शनिबार राति रंगेली नगरपालिका–६ मा हाइनाको हुल देखिएको भन्दै गाउँभर भागाभाग भएको थियो।
सामाजिक सञ्जालमा ‘रातको समयमा सडकमा हाइनाको बथान देखियो’ भन्दै तस्वीरहरू तीव्र गतिमा भाइरल भएपछि स्थानीयमा झन् भय फैलिएको छ। तर वन कार्यालय र प्रहरीले उक्त तस्वीर र समाचारलाई पुष्टि गरेको छैन। डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाका अनुसार एक सातादेखि हाइनाको हल्ला आइरहे पनि हालसम्म कुनै प्रमाण भेटिएको छैन। उनले भने, ‘हामीले सूचना पाएपछि बुझ्न टोली पठाएका थियौं, तर हाइना भेटिएन। देख्ने व्यक्तिको भनाइका आधारमा अनुगमन गरेर फर्कियौं।’
थापाका अनुसार सुरुवातमा चितुवा देखिएको भन्दै सूचना आएको थियो। त्यसपछि डिभिजन वन कार्यालयले कोशी टप्पु वन्यजन्तु आरक्षबाट समेत उद्दार टोली बोलाएको थियो। तर, अनुगमनपछि ती हल्ला प्रमाणित हुन सकेनन्।
रंगेली नगरपालिका–५ का अध्यक्ष महान्द मण्डलका अनुसार शनिबार राति हाइनाको बथान देखिएको खबर आएको थियो। ‘स्थानीयहरूले रातको समयमा सडक नजिकै हाइनाको समूह देखेको बताए, त्यसपछि सबै त्रसित भए,’ उनले भने।
उक्त घटनापछि इलाका प्रहरी कार्यालय रंगेलीले पनि टोली पठाएको थियो। तर प्रहरी टोली पुगेको बेला कुनै जनावर नदेखिएको इप्रका इन्चार्ज नरेन्द्रकुमार बोगटीले बताए। उनले सामाजिक सञ्जालमा भाइरल भएका तस्वीर र भिडियोबारे अनुसन्धान गर्दा ती रंगेलीका नभई भारतको सीमावर्ती सडकमा खिचिएका भएको खुलासा गरे।
‘हाइना देखिएको हल्ला मात्रै हो, रंगेली क्षेत्रमा हालसम्म प्रत्यक्ष भेटिएको छैन,’ बोगटीले भने, ‘घाइते भएको भनिएको व्यक्तिको पनि कुनै पुष्टि भएको छैन।’ नेपालको पश्चिमी भागमा केही वर्षअघि हाइना देखिएको तथ्याङ्क भए पनि पूर्वी नेपालमा अहिलेसम्म हाइना देखिएको आधिकारिक रेकर्ड छैन।
वन कार्यालयका अनुसार हाइना नेपालमा लोपोन्मुख जनावरको सूचीमा पर्दछ, र यसको उपस्थिति अत्यन्तै दुर्लभ छ। स्थानीयवासी भने अझै पनि त्रासमुक्त भएका छैनन्। धेरैले राति अबेरसम्म घरबाहिर ननिस्कने, बच्चाहरूलाई बाहिर नखेलाउने र पशुपालन क्षेत्र नजिक सुरक्षा अपनाउने गरेको जनाएका छन्।

