मधेस प्रदेशमा सत्ता संकटः मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा, सरकार २५ दिनमै ढल्यो
जनकपुर — मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि शनिबार प्रदेशसभामै राजीनामा दिएका छन्। कांग्रेस र एमालेलाई पाखा लगाई गठबन्धन बनाएर सत्तामा पुगेका सोनलको सरकार २५ दिनमै ढलेको हो।
सोनलले आज विश्वासको मतका लागि प्रदेशसभाको बैठकमा समय लिएका थिए। तर, आफ्नै समर्थनमा उभिएका सांसदहरू विपक्षी कित्तामा जान थालेपछि मत नपाउने स्थिति बनेपछि उनले प्रक्रिया सुरु नहुँदै राजीनामा घोषणा गरेका हुन्। उनले राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई बुझाउने जानकारी दिएका छन्।
सोनल संविधानको धारा १६८ (२) अनुसार असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। उनी जनता समाजवादी पार्टी (जसपा) का नेता हुन्। जसपासँगै जनमत पार्टी, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एकीकृत समाजवादी दलका सांसदहरूको समर्थनमा उनले सरकार गठन गरेका थिए।
उक्त गठबन्धनसँग १०७ सदस्यीय प्रदेशसभामा ५६ मतको बहुमत थियो। तर पछिल्ला राजनीतिक उतारचढावपछि गठबन्धन कमजोर बन्यो। जनमत पार्टीका दुई सांसद सतिशकुमार सिंह र त्रिभुवन साह अनुपस्थित रहे भने संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी पनि सदनमा उपस्थित भइनन्। माओवादी केन्द्रका दुई सांसद रहवर अन्सारी र माला राईले खुलामञ्चमै विद्रोह गरेपछि सोनलको विश्वासको मत असम्भव बन्यो।
सोनलले सदनमै भने, ‘विश्वासको मत पाउने सम्भावना नभएकाले अब पदमा बसिरहन उचित ठान्दिनँ।’ संविधानको धारा १६८ (३) अनुसार, उपधारा (२) अन्तर्गत नियुक्त मुख्यमन्त्रीले विश्वासको मत नपाएमा प्रदेश प्रमुखले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतालाई नयाँ मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। त्यस अनुसार अब एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिने सम्भावना छ।
सोनल नेतृत्वको सरकार छोटो अवधिमै ढलेपछि मधेस प्रदेश पुनः राजनीतिक अनिश्चितताको दलदलमा प्रवेश गरेको छ। सत्ता समीकरण फेरि बदलिँदै जाँदा कांग्रेस, एमाले र अन्य दलहरूबीच नयाँ गठबन्धनको सम्भावना पनि खुल्न थालेको छ।

