जेन–जी हिंसा ‘अपराधी नेटवर्क’ को खेलः ज्यानमार्ने उद्योगदेखि चोरीमा सजाय पाएका अभियुक्त अग्रपंक्तिमा

चितवन — भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा चितवनमा हिंसात्मक गतिविधि गरेको प्रमाणका आधारमा पक्राउ परेका व्यक्तिहरूमध्ये अधिकांश आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू संलग्न रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

जिल्लाभर एकाएक फैलिएको तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण कुनै आकस्मिक भीडको प्रतिक्रिया मात्र नभई यसअघि विभिन्न अपराधमा संलग्न व्यक्तिहरूद्वारा योजनाबद्ध रूपमा गरिएको अपराध भएको प्रहरीको भनाई छ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीका अनुसार आन्दोलनका क्रममा भएको हिंसामा संलग्नमध्ये २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये १६ जना हाल पनि प्रहरी हिरासतमा छन् भने १२ जनालाई हाजिरी जमानीमा रिहा गरिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा परेकामध्ये केहीले प्रहरीका हातहतियार खोस्ने, चोर्ने, तोडफोड र अराजकता फैलाउने गतिविधि गरेका थिए। ‘हामीले फोटो, भिडियो र अन्य इलेक्ट्रोनिक प्रमाणका आधारमा मिहिन अनुसन्धान गरिरहेका छौँ,’ एसपी पुरीले भने, ‘अनुसन्धानसँगै थप संलग्नता भेटिने सम्भावना धेरै छ। कोही पनि दोषी उम्कन सक्दैन।’

पक्राउ परेकामध्ये एक व्यक्तिले यसअघि मात्रै ज्यान मार्ने उद्योगमा तीन वर्ष जेल सजाय भोगिसकेका थिए। त्यसअघि पनि उनी लागुऔषध मुद्दा र अभद्र व्यवहारका अभियोगमा कैद बसेका थिए। तिनै व्यक्ति २४ गतेको हिंसामा भाटभटेनी सुपरमार्केट परिसरमा एटिएम फुटाउने र विभिन्न सरकारी कार्यालय तोडफोडमा संलग्न रहेको भिडियो प्रमाण भेटिएको प्रहरीले जनाएको छ।

अन्य ६ जना व्यक्ति पनि चोरी, लागुऔषध, अभद्र व्यवहारलगायत मुद्दामा सजाय भोगिसकेका ब्यक्ति हुन्। प्रहरीले थप दुई मध्ये एकलाई चोरी गरेको सामानसहित र अर्कोलाई लागुऔषधसहित पक्राउ गरेको छ।

भदौ २४ गतेको घटनामा चितवनका माडी नगरपालिका बाहेक लगभग सबै स्थानीय तह हिंसाबाट प्रभावित भए। भरतपुरमा जिल्ला प्रशासन, अदालत, सरकारी वकिल कार्यालय, मालपोत, राजश्व, यातायात, जिल्ला समन्वय समिति, ट्राफिक प्रहरीलगायतका मुख्य कार्यालय तोडफोड गरिए।

रत्ननगर, खैरहनी, राप्ती, कालिका र इच्छाकामना क्षेत्रमा पनि सरकारी तथा सार्वजनिक संरचनामा आगजनी र तोडफोड व्यापक थियो। निजी घर, राजनीतिक दलका कार्यालय, एटिएम बूथ र भाटभटेनी सुपरमार्केटसमेत निसानामा परे। घरधनी र कार्यालय प्रमुखहरूले क्षतिको विवरणसहित उजुरी दिएका छन्, जसको आधारमा थप अभियुक्त पहिचान भइरहेको प्रहरीले जनाएको छ।

‘प्रहरीलाई कसैले पक्राउ परेकालाई छाड्न भनेको छैन,’ एसपी पुरीले भने, ‘बरु केही दलले त हाम्रो मान्छे पनि संलग्न रहेछन् भने कडाभन्दा कडा कारबाही गर भनेका छन्।’ उनका अनुसार प्रहरीले संलग्नताको स्तर, प्रमाण र भूमिकाको प्रकृति हेरेर मात्रै मुद्दा दर्ता गरिरहेको छ। भागेकाहरूको पनि खोजी तीव्र गतिमा चलिरहेकाले घटना धेरै दिनमा पूर्ण खुल्ने उनले बताए।

२४ गतेको घटना केवल एक दिनको असन्तुष्टिको प्रतिक्रियाभन्दा बढी योजनाबद्ध अराजकता थियो भन्ने संकेत अनुसन्धानका प्रमाणले दिइरहेको छ। चितवनका सरकारी तथा निजी संरचनामा भएको ठूलो क्षतिसँगै आपराधिक समूहहरूको पुनः सक्रियता देखिएकाले प्रहरीले उच्चस्तरीय अनुसन्धानलाई निरन्तरता दिएको छ।

‘जोकोही संलग्न देखिए पनि पक्राउ–मुद्दा–कारबाही प्रक्रियाबाट उम्कन सक्दैन।’– एसपी पुरीले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट