गाँजा तस्कर खोज्दै गस्तिमा गएको प्रहरीसँग काजु तस्करको दोहोरो गोली हानाहान

जनकपुर— बाराको नेपाल– भारत सीमामा गएराति प्रहरी र तस्कर समूहबीच भीषण गोली हानाहान भएको छ। गाँजा तस्करीको सुराकी पाएको प्रहरी टोली पचरौता नगरपालिका–६, बेल्दारी गाउँस्थित दस गजामा पुगेको थियो। सोही क्रममा तस्करहरूसँग आमनेसामने हुँदा दोहोरो फायरिङ भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ।

प्रहरीले फायरिङ सुरु गरेपछि चारवटा भारतीय नम्बरका मोटरसाइकल त्यत्तिकै छोडेर तस्करहरू भारततर्फ भागेका थिए। त्यसक्रममा तस्करहरूले नेपालतर्फ ल्याइरहेको त्रिपालले छोपेको लोडेड ट्याक्टरसमेत भारततर्फै मोडेर लगेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका इन्स्पेक्टर कृष्णदेवप्रसाद साहका अनुसार दुई जना इन्टेलिजेन्स प्रहरीले नेपालतर्फ प्रवेश गर्दै गरेको लोडेड ट्याक्टर देखेपछि नियन्त्रणमा लिन खोजेका थिए। सो क्रममा तस्करले अचानक दुई राउन्ड गोली चलाए। जवाफी कारबाहीमा प्रहरीले सात राउन्ड फायरिङ गरेपछि २०–२५ जनाको तस्करहरूको समूहसहित ट्याक्टर लिएर भागेका जनाईएको छ।

भाग्दाखेरी तस्करहरूले खसालेका दुईवटा भारतीय सिम प्रयोग भएका एन्ड्रोइड मोबाइल र भारतीय नागरिक रञ्जित कुमारको नाममा भएको सवारी चालक अनुमतिपत्र (लाइसन्स) प्रहरीले बरामद गरेको छ। घटनास्थल आसपासको क्षेत्रमा प्रहरीसँग प्राप्त गोप्य सूचनाअनुसार काजु बोकेको ट्याक्टर नेपाल भित्र्याउने तयारी भइरहेको थियो।

इन्स्पेक्टर साहका अनुसार यही रुट हुँदै गत मंसिर १ गते पनि ५४ किलो गाँजा मोटरसाइकलमा राखेर भारततर्फ लैजादै गर्दा बरामद गरिएको थियो। सीमावर्ती क्षेत्रमा गाँजाको गोदाम रहेको सूचनाअनुसार प्रहरी परिचालन गरिएको भए पनि खोजतलासीकै क्रममा अर्को तस्कर समूहसँग जम्काभेट हुँदा गोली हानाहानको स्थिति सिर्जना भएको उनले बताए।

प्रहरीले हाल फरार तस्करहरूको पहिचान, नेटवर्क र स्रोतको खोजी तीव्र पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट