रंगेलीस्थित संसारीमाई मन्दिरबाट मूर्ति, गरगहना र दानपेटिकाको नगद लुटियो
विराटनगर— मोरङको रंगेली नगरपालिका–७ मा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको संसारीमाई मन्दिरमा चोरी भएको छ। मन्दिरको चेनगेट फुटाएर अज्ञात समूहले भित्र प्रवेश गरी देवीदेवताका मूर्ति, चाँदीका गरगहना तथा दानपेटिकामा रहेको नगद चोरी गरेको हो।
मोरङ प्रहरीका डीएसपी कोपिला चुँडालका अनुसार आइतबार राति मन्दिरको ताल्चा फोडेर चोरी गरिएको हो। मन्दिरबाट संसारी माताका दुई थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दानपेटिकाको सिसा फोडेर त्यसभित्र रहेको नगद चोरी भएको पुष्टि भएको छ। मन्दिरका व्यवस्थापक पंकज झाले आइतबार बिहान प्रहरीलाई घटनाबारे जानकारी गराएपछि चोरीको घट्ना सार्वजनिक भएको हो।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा प्रहरी टोली परिचालित भएको छ। टोलीले मन्दिर परिसरको मुचुल्का उठाउने, क्षतिग्रस्त ताल्चा र दानपेटिकाको अवस्था निरीक्षण गर्ने तथा चोरी भएको सम्भावित समय र तरिका पहिचान गर्ने काम गरिरहेको प्रहरीले जनाएको छ। चोरी भएको नगदको यकिन विवरण भने दानपेटिकाको नियमित हिसाबकिताब र अभिलेख परीक्षणपछि मात्र खुल्ने प्रहरीको भनाइ छ।
चोरी कुन समयमा भएको हो भन्ने अझै स्पष्ट हुन सकेको छैन। तर राति मन्दिर सुनसान हुने समयलाई लक्षित गरी योजनाबद्ध रूपमा घटना गराइएको हुनसक्ने आशंका प्रहरी स्रोतले जनाएको छ। चोरीमा संलग्न व्यक्तिहरूको पहिचान अहिलेसम्म खुलेको छैन। प्रहरी स्थानीय बासिन्दासँग सोधपुछ गर्दै विगतमा यस्तै प्रकृतिका घटनामा संलग्न व्यक्तिहरूको प्रोफाइल अध्ययनसमेत गरिरहेको छ।
स्थानीयवासीले मन्दिर क्षेत्रमा नियमित प्रहरी गस्ती, पर्याप्त प्रकाशको व्यवस्था, बलियो ताल्चा र निगरानी प्रणाली जडान नगरेसम्म यस्ता घटना दोहोरिरहने चेतावनी दिएका छन्। चोरीपछि मात्रै सुरक्षा चासो देखाउनु दीर्घकालीन समाधान नभएको भन्दै उनीहरूले रोकथाममुखी नीति अपनाउन जोड दिएका छन्। स्थानीयले दोषीलाई छिटो पहिचान गरी सार्वजनिक गर्न र कडा कारबाही गर्न माग गरेका छन्।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

