सप्तरीमा ठगीदेखि सवारी ज्यानसम्मका मुद्दाका ४ फरार प्रतिवादी पक्राउ
राजविराज — लामो समयदेखि अदालतको फैसला छल्दै फरार रहेका प्रतिवादीहरूलाई नियन्त्रणमा लिने अभियानलाई सप्तरी प्रहरीले कडाइ गरेको छ। यसैक्रममा विभिन्न आपराधिक मुद्दामा दोषी ठहर भई फरार रहेका चार जनालाई पक्राउ गरी सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला उपस्थित गराईएको छ।
प्रहरीका अनुसार अदालतबाट कैद तथा जरिवाना तोकिएपछि पनि फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये ठगी मुद्दामा दुई महिनाको कैद र तीन हजार रुपैयाँ जरिवाना तोकिएका राजगढ गाउँपालिका–४ का शिवनारायण साह एक हुन।
त्यस्तै, सप्तरीको कञ्चनरुप नगरपालिका–८ का प्रदीप कार्की सवारी ज्यान मुद्दामा एक वर्ष नौ महिना १८ दिन कैद सजाय पाएका थिए। उनलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी अदालतमा बुझाएको छ। गम्भीर प्रकृतिको सवारी ज्यान मुद्दामा दोषी ठहर भए पनि कार्की लामो समयसम्म खुलेआम हिँडिरहेका थिए।
रुपनी गाउँपालिका–५ का भोला यादव कुटपिट तथा लुटपाट मुद्दामा दोषी ठहर भई ६०४ रुपैयाँ १७ पैसा जरिवाना तोकिएका थिए। सोही स्थानका भोलाई यादव कुटपिट मुद्दामा १०० रुपैयाँ जरिवानासहित दोषी ठहर भएका थिए। यी दुवैलाई इलाका प्रहरी कार्यालय रुपनीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका चारै जनामाथि जम्मा एक वर्ष ११ महिना १८ दिन कैद र तीन हजार सात सय चार रुपैयाँ १७ पैसा जरिवाना तोकिएको थियो। फैसला सुनाइसकेपछि पनि प्रतिवादीहरू खुलेआम हिँड्नुले न्याय प्रणालीको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला प्रहरीले सक्रियता देखाएको हो।

