तीन विद्रोहीले निर्वाचन क्षेत्रमै घेरिएका सीके राउत नेता पलायनले थप दबाबमाः केन्द्रिय सदस्यसहित ७ जनाको राजिनामा
राजविराज– तीन जना विद्रोही उम्मेदवारका कारण चुनावी क्षेत्रमै घेरावन्दीमा परेका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) पार्टी संगठनमा पनि एक्लो पर्न थालेका छन्। परिवारका सदस्य र आसेपासे वाहेकका पार्टीका नेता/कार्यकर्ताले राउतलाई छोड्ने क्रम जारी छ।
सप्तरी–२ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गराएका राउत पार्टीभित्रकै खुला विद्रोह, सामूहिक राजीनामा र प्रभावशाली नेताहरूको पलायनले अप्ठ्यारोमा छन्। यो प्रकरणले जनमत पार्टीको संगठनात्मक धरातल नै हल्लिएको छ। बाह्य प्रतिस्पर्धाभन्दा पनि आफ्नै पार्टीभित्रको असन्तुष्टि र विघटन सीके राउतका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ।
पछिल्लो पटक पार्टीका केन्द्रीय सदस्य जितकुमार साहसहित सात जना नेताले एकैसाथ राजीनामा दिएपछि पार्टीभित्रको असन्तोष थप औपचारिक रूपमा सतहमा आएको छ। राजीनामा दिनेहरूमा धनुषा जिल्ला सदस्य पवनकुमारी महतो, बटेश्वर गाउँपालिका अध्यक्ष रामपरीक्षण महतो, मिथिला बिहारी नगरपालिका अध्यक्ष दिपेन्द्र कुमार यादव, अञ्जु देवी साहलगायत प्रभावशाली नामहरू समावेश छन्।
पार्टी अध्यक्षलाई सम्बोधन गरिएको राजीनामा पत्रमा नेतृत्वमाथि नातावाद, कृपावाद र ‘दास प्रथा’ जस्तै व्यवहार गरेको आरोप लगाइएको छ। संगठन कमजोर बन्दै गएको र निर्णय प्रक्रिया सीमित व्यक्तिमा केन्द्रित भएको गम्भीर गुनासो उनीहरूले सार्वजनिक रूपमा उठाएका छन्।
पार्टीभित्रको असन्तोष यतिमै सीमित छैन। राउत स्वयं तीन प्रभावशाली पूर्व नेताहरूको विद्रोहका कारण चेपुवामा छन्। जनमत पार्टीका पूर्व प्रवक्ता शरद सिंह यादवले पार्टी परित्याग गर्दै नयाँ दल गठन गरी सोही क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका छन्। नीति, संगठन र नेतृत्व शैलीप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका यादव जेन–जी आन्दोलनपछिको आन्तरिक समीकरण बिग्रिएसँगै पार्टीबाट अलग भएका थिए।
यसअघि नै जनमत पार्टीलाई अर्को ठूलो झड्का लागेको थियो। पार्टीकै टिकटबाट प्रदेशसभा सदस्य हुँदै मुख्यमन्त्रीसमेत बनेका सतिशकुमार सिंहले पार्टी र पद दुवै परित्याग गर्दै फरक राजनीतिक दलबाट उम्मेदवारी दिएका छन्। संगठन, जातीय समीकरण र स्थानीय प्रभावका हिसाबले सतिश सिंह सीके राउतकै आधार क्षेत्रका बलिया नेता मानिन्छन्। उनको विद्रोहले पार्टी नेतृत्वप्रति असन्तुष्टि कति गहिरो छ भन्ने स्पष्ट संकेत दिएको छ।
यतिमात्र होईन, ०७९ को निर्वाचनमा जनमत पार्टीबाटै सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार भई पराजित भएका राजविराज नगरपालिकाका पूर्व मयेर अनिस अन्सारी पनि यस पटक राउतकै निर्वाचन क्षेत्रमा उम्मेदवार छन्। उनी राष्ट्रिय मुक्ति पार्टी नेपालका तर्फबाट चुनावी मैदानमा छन्।
यी घटनाक्रमले सीके राउतको नेतृत्व शैलीमाथि मात्र होइन, जनमत पार्टीको भविष्य र स्थायित्वमाथि नै प्रश्न खडा गरिदिएको छ। फरक मतलाई समेट्न नसक्ने, संगठनभन्दा व्यक्तिकेन्द्रित निर्णय हावी हुने र आलोचनालाई दबाउने प्रवृत्तिले पार्टीभित्र असन्तुलन चर्किएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।
उनको क्षेत्रमा चुनावी समीकरण झन् जटिल बनाउने अर्को कारक भनेको अनुभवी प्रतिस्पर्धीको पुनरागमन हो। अघिल्लो निर्वाचनमा सीके राउतपछि दोस्रो स्थानमा रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टीबाट, त्यसबेला तेस्रो स्थानमा रहेका पूर्वमन्त्री उमेशकुमार यादव यसपटक प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन्।
स्थायी जनाधार, लामो राजनीतिक अनुभव र संगठित पार्टी संरचनाको बलमा उमेशकुमार यादव यसपटक अघिल्लो चुनावभन्दा धेरै सशक्त देखिन थालेका छन्। २०७९ सालको निर्वाचनमा सीके राउतले ३५ हजारभन्दा बढी मत ल्याउँदै परम्परागत दललाई पराजित गरेका थिए। त्यो जित मधेशमा स्थापित नेतृत्वप्रतिको आक्रोश र नयाँ विकल्पप्रतिको अपेक्षाको परिणाम थियो। तर चुनावपछि जनमत पार्टीले त्यो जनविश्वासलाई सुदृढ संगठन र निरन्तर राजनीतिक उपस्थितिमा रूपान्तरण गर्न नसकेको आरोप अहिले पार्टीभित्रकै विद्रोहका रूपमा सतहमा आएको छ।
आज सप्तरी–२ को चुनाव बाह्य प्रतिस्पर्धाभन्दा बढी जनमत पार्टीको आन्तरिक विघटनको परीक्षा बनेको छ। आफ्नै पार्टीका विद्रोही उम्मेदवार, सामूहिक राजीनामा र अनुभवी प्रतिस्पर्धीको दबाबले सीके राउत रक्षात्मक राजनीतिमा सीमित देखिन थालेका छन्। बदलिँदो राजनीतिक धार र संगठनात्मक संकटले यसपटक सप्तरी–२ मा सीके राउतको जित सहज नरहने संकेत स्पष्ट देखिन थालेको छ।


