रौतहटमा रास्वपाका उम्मेदवारको गाडीले ४ बर्षीया बालिकालाई उडायो
रौतहट — चुनावी प्रचारका नाराले गाउँ–बस्ती गुञ्जिरहेको बेला रौतहटको इशनाथ नगरपालिकामा एउटा सानो घरमा अचानक सन्नाटा छाएको छ। खेल्दै हाँस्दै गरेकी चार वर्षीया बालिका केही मिनेटमै राजनीतिक स्टिकर टाँसिएको गाडीको ठक्करमा परेर सधैँका लागि मौन भइन्।
सत्ता र मत माग्ने गाडीले बाल्यकाल नै कुल्चिएको यो घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ। बिहीबार दिउँसो करिब साढे २ बजे इशनाथ नगरपालिका–३ मठिया टोलमा बाटो छेउमै खेलिरहेकी अल्फा खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो। उक्त गाडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का क्षेत्र नम्बर–२ का उम्मेदवार सेख सागिरको चुनावी स्टिकर टाँसिएको थियो।
प्रत्यक्षदर्शीका अनुसार गाडी तीव्र गतिमा आएको र बालिकालाई जोगाउने कुनै प्रयास नै नगरी सिधै ठक्कर दिएको थियो। ठक्करपछि बालिकालाई सोही गाडीमा राखेर गौरस्थित सिटी अस्पताल लगिएको थियो। त्यहाँबाट प्रादेशिक अस्पताल रेफर गरिए पनि उपचारका क्रममा करिव पौने ३ बजे चिकित्सकले मृत घोषणा गरे। केही मिनेटको लापरवाहीले एउटा परिवारको संसार नै उजाडिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार दुर्घटनामा संलग्न गाडी नियन्त्रणमा लिइएको छ र चालकको खोजी भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा गाडीमा उम्मेदवार स्वयं सवार नरहेको बताइएको छ। तर चुनावी प्रचारमा प्रयोग भइरहेको सवारी साधनले ज्यानै जाने दुर्घटना गराउँदा जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको छ।
स्थानीय बासिन्दाले चुनावी अभियानका नाममा गाउँ–टोलमा जथाभावी कुदाइने गाडी र मोटरसाइकलले जोखिम बढाएको गुनासो गरेका छन्। ‘भोट माग्न आउने गाडीहरू रेसिङजस्तै कुद्छन्, बालबालिका र वृद्धलाई कसैले हेर्दैन,’ एक स्थानीयले आक्रोश व्यक्त गरे। चुनावी नाराभन्दा ठूलो नागरिक सुरक्षाको प्रश्न उठेको उनीहरूको भनाइ छ।
राजनीतिक दलहरू परिवर्तन, सुशासन र जिम्मेवार नेतृत्वको कुरा गर्छन्, तर उनीहरूकै प्रचारमा प्रयोग भएका सवारी साधनले निर्दोष बालिकाको ज्यान लिँदा ती शब्दहरू खोक्रा जस्ता देखिएका छन्। चुनावी स्टिकर टाँसेर गाउँ पसेका नेता कार्यकर्ता मत त माग्छन्, तर नियम र जिम्मेवारी भने बिर्सिन्छन् भन्ने आरोप अब थप चर्किएको छ।
चार वर्षीया अल्फाको मृत्यु चुनावी हुल्लड र लापरवाहीको कठोर परिणाम बनेको छ। राजनीतिक प्रतिस्पर्धाको भीडमा हराएको मानवीय संवेदनाको मूल्य एक निर्दोष बालिकाले आफ्नो ज्यान दिएर चुकाउनुपरेको यो घटनाले रौतहट मात्र होइन, समग्र राजनीतिक संस्कृतिमाथि नै गम्भीर प्रश्न खडा गरेको छ।
