‘सिंहदरबारमा आगो लगायौँ’ भन्दै आफैं भिडियो हाल्ने युवक पाँच महिनापछि पक्राउ, राज्यकै मुटुमा आगजनी गर्नेको घमण्ड चूर

काठमाडौँ— राज्यको सबैभन्दा संवेदनशील प्रशासनिक केन्द्र सिंहदरबारमा आगजनी गरेर फर्किएको भन्दै सामाजिक सञ्जालमै सगर्व स्वीकारोक्ति दिने एक युवक पाँच महिनापछि प्रहरीको फन्दामा परेका छन्। ‘आगो लगायौँ’ भन्दै भिडियोमार्फत सार्वजनिक चुनौती दिएका ती व्यक्तिलाई प्रहरीले प्रमाणसहित पक्राउ गरेपछि आन्दोलनको नाममा भएको हिंसात्मक गतिविधिको वास्तविकता फेरि उजागर भएको छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबारभित्र तोडफोड र आगजनी भएको घटनापछि प्रहरीले संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको थियो। यही क्रममा आफैंले सिंहदरबारमा आगजनी गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गरेर ‘गेट तोडेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं’ भन्दै खुलेआम दाबी गर्ने चितवनका महेन्द्र गौतमलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार चितवन खैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका ३६ वर्षीय गौतमलाई बिहीबार पक्राउ गरिएको हो। भिडियो, डिजिटल प्रमाण र घटनासँग जोडिएका अन्य सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राज्यका मुख्य प्रशासनिक अड्डा, जहाँबाट देशको शासन सञ्चालन हुन्छ, त्यही स्थानमा प्रवेश गरेर आगजनी गरेको स्वीकारोक्ति आफैं सार्वजनिक गर्नुले उनको मनोवृत्तिमाथि नै प्रश्न उठाएको छ। आन्दोलनको नाममा सरकारी संरचना जलाउने र त्यसलाई ‘साहस’ ठानेर प्रदर्शन गर्ने प्रवृत्तिलाई प्रहरीले गम्भीर आपराधिक गतिविधिका रूपमा लिएको छ।

प्रहरीले उनलाई आपराधिक उपद्रव कसूरमा अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। घटनामा उनी एक्लै संलग्न थिए वा संगठित समूहको हिस्सा थिए भन्ने विषयमा पनि प्रहरीले खोजी गरिरहेको जनाएको छ।

सिंहदरबार जस्तो उच्च सुरक्षा क्षेत्रमै आगजनी हुनुले सुरक्षाप्रशासनमाथि पनि प्रश्न उठेको थियो। तर पाँच महिनापछि भए पनि मुख्य दाबी गर्ने व्यक्ति पक्राउ परेपछि घटनाको कानुनी प्रक्रिया अघि बढेको छ। राज्य संरचना जलाउने र त्यसलाई ‘आन्दोलन’को आवरण दिने प्रवृत्तिलाई अब कानुनले कठोर जवाफ दिने संकेत प्रहरीले दिएको छ।

राजनीतिक असन्तुष्टि र प्रदर्शन लोकतान्त्रिक अधिकार भए पनि सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने, सरकारी कार्यालयमा आगो लगाउने र त्यसलाई प्रचार सामग्री बनाउने गतिविधि अपराध नै हो भन्ने सन्देश यस पक्राउले प्रस्ट पारेको छ। अब अनुसन्धानले यो आगजनीमा अरू को–को संलग्न थिए भन्ने तथ्य खुलाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट