सीमा सुरक्षा बैठकमै ढले सशस्त्रका एसपी घिमिरे, उपचारकै क्रममा निधन

विराटनगर– नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस भएर ढलेका सशस्त्र प्रहरी बल नेपालका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारकै क्रममा निधन भएको छ। ड्युटीकै क्रममा अचानक स्वास्थ्य जटिलता देखिएपछि अस्पताल पुर्‍याइएका घिमिरेलाई बचाउन चिकित्सकहरूले गरेको प्रयास असफल भएको हो।

मोरङको विराटचोकमा शुक्रबार सशस्त्र प्रहरी बल र भारतको सीमा aसुरक्षा बल (एसएसबी)का अधिकारीहरूबीच डीआईजी तहको समकक्ष समन्वय बैठक सञ्चालन भइरहेका बेला घिमिरे अचानक बेहोस भएर ढलेका थिए। बैठकस्थलमै लडेपछि उनलाई तत्काल उद्धार गरी विराट मेडिकल कलेज लगिएको थियो।

उपचारका क्रममा राति ८ बजेर ५२ मिनेटमा उनको निधन भएको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेले पुष्टि गरेका छन्। चिकित्सकका अनुसार उनलाई उच्च रक्तचापको समस्या देखिएको थियो। अचानक ढल्दा जिब्रो काटिनुका साथै स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

तर, उपचारका सबै प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ। प्राप्त विवरणअनुसार घिमिरेलाई बिहानै छाती दुख्ने समस्या देखिएको थियो। त्यसपछि उनी घर पुगेर श्रीमतीसहित अस्पताल गएका थिए। सामान्य जाँचपछि पुनः ड्युटीमा फर्किएको केही घण्टामै उनी बैठकस्थलमा ढलेका थिए।

यो घटनाले सुरक्षा निकायमा कार्यरत उच्च पदस्थ अधिकृतहरूको स्वास्थ्य अवस्था र ड्युटी व्यवस्थापनबारे गम्भीर प्रश्न उठाएको छ। विराटनगर निवासी घिमिरे सरुवाको प्रक्रिया अन्तिम चरणमा रहेको र रमाना लिने तयारीमा रहेको बताइएको छ। जिम्मेवारीकै बीचमा उनको असामयिक निधन भएपछि सशस्त्र प्रहरी बलभित्र शोकको वातावरण छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट