इन्जिनियर हत्या प्रकरणः सिरहामा चक्काजाम गर्दै गृहमन्त्रीको राजीनामा माग
जनकपुर— सरकारी प्राविधिक कर्मचारीमाथि भएको योजनाबद्ध गोलीकाण्डले मधेस क्षेत्र नै आक्रोशित बनेको छ। सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको चार दिन बितिसक्दा पनि हत्यारा पक्राउ नपरेपछि सिरहामा स्थानीयले सडक अवरुद्ध गर्दै आन्दोलन चर्काएका छन्।
न्यायको माग गर्दै सुरु भएको विरोध प्रदर्शन अब केवल राज्यको सुरक्षा संयन्त्र र अनुसन्धान क्षमतामाथि उठेको गम्भीर प्रश्नका रूपमा विकसित हुन थालेको छ। सिरहाको धनगढीमाई बजार क्षेत्रमा स्थानीय बासिन्दाले चक्काजाम गर्दै महेन्द्र राजमार्ग केही समयका लागि अवरुद्ध गरेका छन्। प्रदर्शनकारीहरूले हत्यामा संलग्न व्यक्तिहरू अझै पक्राउ नपरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उनीहरूले मृतकका परिवारलाई न्याय दिलाउन, घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्। प्रदर्शनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामासमेत मागिएको छ। यदि अपराधी पक्राउ नपरे थप कडा आन्दोलन गर्ने उनिहरुको चेतावनी छ।
यादवको हत्या आइतबार साँझ सर्लाही सदरमुकाम मलंगवामा भएको थियो। मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर यादवलाई अज्ञात समूहले योजनाबद्ध रूपमा गोली हानी हत्या गरेको घटनाले सुरक्षा संयन्त्रमाथि ठूलो प्रश्न उठाएको छ। प्रहरीका अनुसार करिब पौने आठ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरूले उनलाई लक्षित गरी गोली प्रहार गरेका थिए।
प्रारम्भिक अनुसन्धानले घटनालाई थप भयावह देखाएको छ। प्रहरीले दिएको जानकारी अनुसार यादव आफ्नो डेरामा कोठाभित्र रहेका बेला अज्ञात व्यक्तिले फोन गरेर बाहिर बोलाएका थिए। उनी कम्पाउण्डमा निस्किएलगत्तै नजिकैबाट गोली प्रहार गरिएको थियो। बायाँ छातीमा गोली लागेका ३६ वर्षीय यादव गम्भीर घाइते अवस्थामा ढलेका थिए। तत्काल उनलाई प्रादेशिक अस्पताल मलंगवा पु¥याइए पनि चिकित्सकले उपचार सुरु गर्नासाथ मृत घोषणा गरेका थिए।
सिरहाको सुखीपुर नगरपालिका–३ वैशाखा घर भएका यादव करिब एक वर्षदेखि मलंगवामा भाडाको घरमा बस्दै आएका थिए। उनी श्रीमती र एक छोरीका अभिभावक थिए। परिवारका सदस्यहरूले घटनाअघि प्रत्यक्ष धम्कीको संकेत नदेखिएको बताएका छन्, तर पछिल्लो समय कार्यालयका कामकाजका कारण उनी निकै व्यस्त रहेको उल्लेख गरेका छन्।
यही तथ्यले हत्या व्यक्तिगत रिसइबीका कारण भयो कि पेशागत कामसँग सम्बन्धित योजनाबद्ध आक्रमण थियो भन्ने प्रश्नलाई अझ गम्भीर बनाएको छ। प्रहरीले घटनाको कारण खुलिनसकेको र विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताएको छ।
घटनाको विरोध सर्लाही र सिरहामा मात्र सीमित रहेन। महोत्तरीमा समेत सरकारी कर्मचारीहरूले काम ठप्प पार्दै आन्दोलन सुरु गरेका छन्। पूर्वाधार विकास कार्यालय महोत्तरीका कर्मचारीहरूले मंगलबार एक दिने ‘पेन डाउन’ गर्दै कार्यालयको सम्पूर्ण कामकाज बन्द गरेका छन्। कार्यालय परिसरमै कर्मचारीहरूले हात र टाउकोमा कालोपट्टि बाँधेर बसेपछि सेवा प्रवाह पूर्ण रूपमा प्रभावित भएको छ।
पूर्वाधार विकास कार्यालय महोत्तरीका प्रमुख कात्र्तिकेश झाले यादवको हत्या जघन्य अपराध भएको उल्लेख गर्दै दोषीलाई कानुनको हदैसम्मको सजाय दिनुपर्ने माग गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र यस्तो अपराध दोहोरिन नदिन राज्यले ठोस कदम चाल्नुपर्ने बताए।
यसअघि पनि विकास तथा पूर्वाधार क्षेत्रमा काम गर्ने कर्मचारीहरूमाथि दुव्र्यवहार र धम्कीका घटना हुँदै आएको कर्मचारीहरूले उल्लेख गरेका छन्। तर दोषीमाथि कठोर कारबाही नहुँदा अपराधीहरू उत्साहित हुँदै गएको उनीहरूको आरोप छ। यही कारण यसपटक कर्मचारीहरूले केवल विरोध मात्र नभई राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले आन्दोलन सुरु गरेका हुन्।
कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन्। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवमार्फत बुझाइएको उक्त ज्ञापनपत्रमा सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या जघन्य, अमानवीय र निकृष्ट अपराध भएको उल्लेख गर्दै विकास क्षेत्रमा काम गर्ने कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारलाई दबाब दिइएको छ।
