जसपाभित्र विद्रोहको विस्फोटः जयप्रकाश ठाकुर बाहिरिएपछि डगमगायो उपेन्द्र यादवको राजनीतिक आधार

राजविराज— चुनाव नजिकिँदै जाँदा मधेशको राजनीति फेरि तरंगित बनेको छ। समन्वय समिति सदस्य रहेका जयप्रकाश ठाकुरले जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेको घोषणा गरेसँगै पार्टीभित्र लुकेको असन्तुष्टि सतहमा आएको छ।

यसको सीधा राजनीतिक दबाब पार्टी अध्यक्ष उपेन्द्र यादव माथि परेको विश्लेषण हुन थालेको छ। ०७९ को निर्वाचनमा सत्तारुढ गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कोतर्फबाट सप्तरी – २ मा उम्मेदवार रहेका ठाकुरले ०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएर १० हजारभन्दा बढी मत ल्याएका थिए। यस अर्थमा पनि उनको वहिगर्गमन अध्यक्ष यादवका लागि घातक हुनसक्छ।

ठाकुरले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पार्टीभित्र फैलिएको नातावाद, कृपावाद, जातिवाद र अर्थवादको आरोप लगाउँदै जसपा नेपाल क्रमशः सिद्धान्तहीन र व्यक्ति–केन्द्रित संरचनातर्फ ढल्किएको गम्भीर टिप्पणी गरेका छन्।

उनको निर्णय केवल व्यक्तिगत राजनीतिक कदम मात्र नभई मधेशकेन्द्रित राजनीतिमा गहिरो सन्देश दिने घटनाका रूपमा हेरिएको छ। ठाकुरले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर पारिँदै गएको, सामूहिक निर्णय प्रक्रियालाई बेवास्ता गर्दै सीमित व्यक्तिको प्रभाव बढ्दै गएको र राजनीतिक सिद्धान्तभन्दा सत्ता समीकरणलाई प्राथमिकता दिइने प्रवृत्ति मौलाउँदै गएको आरोप सार्वजनिक रूपमा राखेका छन्।

उनले स्पष्ट शब्दमा जसपा नेपालको वर्तमान अभ्यासलाई अवसरवादी गठबन्धन र अस्थिर राजनीतिक लाइनको परिणाम भएको भन्दै पार्टीभित्र पारदर्शिता र जवाफदेहिताको गम्भीर अभाव रहेको बताएका छन्।

यो घटनाले चुनावको ठीक पूर्वसन्ध्यामा जसपाभित्रको आन्तरिक असन्तुष्टि कति गहिरो छ भन्ने प्रश्न उठाएको छ। विशेषगरी सप्तरीमै प्रभाव भएका नेताले पार्टी छाड्नुले उपेन्द्र यादवको चुनावी समीकरणमा प्रत्यक्ष असर पार्ने सम्भावना राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ। यसअघि नै विभिन्न निर्वाचन क्षेत्रमा हार र क्षेत्र परिवर्तनको राजनीतिक इतिहास बोकेका यादव यसपटक सप्तरी–३ बाट मैदानमा छन्।

२०७९ को निर्वाचनमा सीके राउत सँगको हारपछि सुरक्षित राजनीतिक आधार खोज्दै फेरि नयाँ क्षेत्र रोजेको आरोप उनीमाथि लाग्दै आएको छ। यस्तो अवस्थामा आफ्नै क्षेत्रका प्रभावशाली नेताले साथ छोड्नुले उनको चुनावी अभियानलाई कमजोर बनाउने विश्लेषण भइरहेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार जसपा नेपालभित्र देखिएको यो असन्तुष्टि केवल संगठनात्मक समस्या मात्र होइन, नेतृत्व शैलीमाथि उठेको प्रश्न पनि हो। पार्टीभित्र नागरिकता विवादमा मुछिएका व्यक्तिहरूको सक्रियता, विवादित पात्रहरूको प्रभाव र उनीहरूलाई दिइएको राजनीतिक संरक्षणका आरोपले पनि यादवको छवि थप विवादित बनाएको चर्चा छ।

केही नेताहरूका अनुसार चुनावी अभियानमा विवादित व्यक्तिहरूको उपस्थितिले पार्टीभित्रै असन्तोष बढेको छ र त्यसले संगठनात्मक एकता कमजोर बनाएको छ। यस्तै आरोपको घेरामा रहेका पात्रहरू सार्वजनिक रूपमा उपेन्द्र यादवसँग नजिक देखिनु स्वयंमा राजनीतिक बहसको विषय बनेको छ। नागरिकता विवाद र दोहोरो सम्बन्धका आरोप खेपिरहेका शैलेन्द्र मोहन झा, मृगेन्द्रप्रसाद सिंह यादव जस्ताकेही प्रभावशाली व्यक्तिहरू चुनावी अभियानमा सक्रिय देखिनुले पार्टीभित्रका अन्य नेता–कार्यकर्ता असन्तुष्ट रहेको चर्चा मधेशको राजनीतिक वृत्तमा व्यापक छ।

स्थानीय स्तरमा भने राजनीतिक संरक्षणका कारण विवादित विषयहरूमा ठोस छानबिन अघि नबढ्ने आरोपसमेत उठ्दै आएको छ। सप्तरी–३ मा यसपटकको चुनावी प्रतिस्पर्धा पनि असाधारण रूपमा चर्को देखिएको छ। कुल २२ जना उम्मेदवार मैदानमा रहेका यस क्षेत्रमा एक लाख ११ हजारभन्दा बढी मतदाता रहेका छन्।

रूपनी, विष्णुपुर र राजगढ गाउँपालिका तथा शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका समेटिएको यो निर्वाचन क्षेत्र राजनीतिक रूपमा संवेदनशील मानिन्छ। यहाँ कांग्रेस, एमाले र अन्य शक्तिहरूबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। विगतका चुनावी नतिजा हेर्दा पनि यस क्षेत्रको मत समीकरण स्थिर नभएको देखिन्छ, जसले यसपटकको प्रतिस्पर्धालाई अझ रोचक बनाएको छ।

यस्तो अवस्थामा जसपा नेपालभित्रै देखिएको विद्रोहले उपेन्द्र यादवको नेतृत्वमाथि मात्र होइन, मधेशको राजनीति नै कुन दिशातर्फ जाँदैछ भन्ने प्रश्न उठाएको छ। पार्टीका एकपछि अर्को नेता असन्तुष्ट हुँदै बाहिरिने संकेत देखिनुले आगामी चुनावी परिणाममा समेत असर पर्ने सम्भावना बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट