बालेनप्रति दिलनिसानीको तीव्र कटाक्षः ५ बुँदामा देखाई दिए कार्यशैली र चुनावी वाचा बीचको विरोधाभास

राजविराज– सामाजिक सञ्जालमा सदैव चर्चाको केन्द्रबिन्दु बन्ने दिलनिसानी मगरले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) को चुनावी अभियान र अघिल्लो कार्यकालको तुलना गर्दै तीव्र आलोचनात्मक प्रश्न उठाएका छन्।

मगरको आलोचनाले झापा–५ को चुनावी बहसलाई झन् गर्माएको छ। काठमाडौँका मेयर पदबाट राजिनामा दिई रास्वपामा प्रवेश गरेर पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा प्रतिद्वन्द्वी बनेर उम्मेदवारी दिएका बालेनमाथि मगरेको कटाक्षमा व्यक्तिगत आलोचना नभई राजनीतिक विश्वास, कार्यशैली र नेतृत्व क्षमताको समीक्षा देखिन्छ।

मगरका अनुसार, काठमाडौँ महानगरको नेतृत्व सम्हालेका बेला सहर वरपरबाट डोकोमा तरकारी बोकेर आउने किसानहरूलाई कडा व्यवहार गर्दै लखेटेका बालेन अहिले झापामा पुगेर किसानसँग ‘तरकारी कहाँको खानुहुन्छ?’ भनेर सोध्दै हिँड्नु विरोधाभासपूर्ण राजनीतिक शैली हो। अर्गानिक तरकारी र फलफुल बेच्न आएका किसानमाथि नगरप्रहरी लगाएर दमन गर्ने अनुभव भएका बालेनले भारतीय तरकारीको प्रसङ्ग उठाएर मतदातासँग संवाद गर्न खोज्नु राजनीतिक विडम्बना हो, र यसको माध्यमबाट महानगर नेतृत्वका निर्णय र ग्रामीण मतदातासँग देखिएको फरक व्यवहारलाई उजागर गरिएको छ।

त्यसैगरी, काठमाडौँको फोहोर व्यवस्थापनको समस्या लामो समयसम्म समाधान हुन नसक्दा आलोचना खेपेका बालेनले विदेशी षड्यन्त्रका कारण समस्या समाधान गर्न नसकेको कुरा उठाएका थिए। तर अहिले हेटौँडामा सिमेन्ट कारखाना चलाउने सपना देख्नु राजनीतिक यथार्थभन्दा टाढा रहेको मगरले ठहर गरेका छन्। उनका अनुसार, व्यवस्थापन र नीतिगत कमजोरी समाधान नगरी नयाँ वाचा प्रस्तुत गर्नु जनतालाई भ्रममा पार्ने प्रयास हो। यस विषयमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि काठमाडौँको फोहोर व्यवस्थापनमा असफल रहेकाले देशकै प्रधानमन्त्री बनेपछि विदेशी हस्तक्षेपलाई कसरी सम्हाल्ने भन्ने प्रश्न उठाएका छन्।

मगरले वर्षायाममा काठमाडौँका सडक र नाली दयनीय अवस्थामा हुँदा गाडी, मोटरसाइकल र विद्यालय जाने बालबालिकासम्म भासिने अवस्थालाई पनि जोड दिएका छन्। उनले प्रश्न उठाएका छन् –जुन नेतृत्वले काठमाडौँमा आधारभूत पूर्वाधार सुधार्न सकेन, उसैलाई झापामा बाटोघाटो निर्माण नभएकोमा चिन्ता गर्नु जनताले कसरी बुझ्ने? यसले चुनावी भाषण र वास्तविक कार्यसम्पादनबीचको दूरी स्पष्ट पार्ने काम गरेको छ।

त्यसैगरी, बालेनको काठमाडौँमा डोजर अभियानका क्रममा गरिब र साना व्यवसायीमाथि कठोर कारबाही भएको अनुभवलाई पनि मगरले प्राथमिकतामा राखेका छन्। खल्तीमा पैसा नभएकालाई सहरमा बस्न नदिने व्यवहार देखिएको भन्दै अहिले भने गरिबका छोराछोरीलाई शिक्षा र स्वास्थ्यको अवसर दिनुपर्ने कुरा उठाउनु राजनीतिक दोहोरो मापदण्डको उदाहरण हो।

यसले चुनावी सन्देश र अघिल्लो कार्यकालको नीति र कार्यसम्पादनबीचको अन्तरलाई अझ स्पष्ट बनाएको छ। त्यसैगरी झापामा बनेका गगनचुम्बी संरचनाहरू हेरेर काठमाडौँमा यमबुद्धको शालिकसमेत निर्माण गर्न नसकेको अनुभव जोड्दै उनले बालेनको राजनीतिक दृष्टि र प्राथमिकतामाथि प्रश्न उठाएका छन्।

उनका अनुसार, चुनावी मैदानमा प्रस्तुत गरिएका वाचा र विगतको कार्यक्षमता बीचको फरक अहिले मतदाताले गम्भीर रूपमा मूल्याङ्कन गरिरहेका छन्। झापा–५ को चुनाव अब केवल विकास, नीति र घोषणापत्रको प्रतिस्पर्धामा सीमित नरही, व्यक्तिगत छवि, नेतृत्व क्षमताको परीक्षण र राजनीतिक विश्वसनीयताको कठोर मूल्याङ्कनको केन्द्रबिन्दु बनेको देखिन्छ।

सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका यस्ता कटाक्ष र आलोचनाले चुनावी वातावरणलाई ध्रुवीकृत बनाइरहेको छ भने मतदाताको ध्यान उम्मेदवारहरूको विगत र वर्तमान दुवैतर्फ केन्द्रित भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट