बीबीसीको डुकुमेण्ट्रीप्रति पूर्वआईजीपी खापुङको आक्रोशः डकुमेन्ट्रीको आडमा आन्तरिकम मामलामा विदेशी हस्तक्षेप

काठमाडौँ— बेलायती सञ्चारमाध्यम बीबीसीले सार्वजनिक गरेको वृत्तचित्रलाई निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गम्भीर रणनीतिक खेल र बाह्य हस्तक्षेपको संकेतका रूपमा चित्रित गरेका छन्।

जेनजी आन्दोलन र त्यसक्रममा भएको गोलीकाण्डलाई लिएर बीबीसीले सार्वजनिक गरेको ‘शट लाइक एनिमिज’ शीर्षकको डकुमेन्ट्रीबारे उनले कडा असन्तोष व्यक्त गर्दै यसलाई चुनावको संवेदनशील समयमा जनमत प्रभावित पार्ने उद्देश्यले गरिएको प्रचार अभियानको अंश भएको दाबी गरेका छन्।

अवकाशपछि गृह जिल्ला तेह्रथुममा खेतीकिसानीमा व्यस्त रहेका खापुङले हालै सार्वजनिक गरिएको उक्त वृत्तचित्रमा प्रस्तुत गरिएका प्रसङ्गलाई ‘गम्भीर चालबाजी’को संज्ञा दिएका छन्। उनका अनुसार आन्दोलनको सम्पूर्ण सन्दर्भ र घटनाक्रम नसमेटी निश्चित समय, निश्चित स्थान र केही सेलेक्टेड दृश्यहरूलाई जोडेर बनाइएको सामग्रीले वास्तविकता होइन, नियोजित धारणा निर्माण गर्ने प्रयास गरेको देखिन्छ।

उनले विशेष गरी चुनाव नजिकिँदै गर्दा यस्तो सामग्री सार्वजनिक गरिनु संयोग मात्र नभई रणनीतिक कदम हुन सक्ने संकेत गरेका छन्। खापुङले बाह्य सञ्चार संस्थाहरूले डकुमेन्ट्रीका नाममा नेपालको आन्तरिक राजनीतिक प्रक्रियामा प्रभाव पार्ने प्रयास गरेको आरोप समेत लगाएका छन्। उनका शब्दमा, नेपालको मिडियाले गर्न नसकेको प्रभाव सिर्जना गर्न अन्तर्राष्ट्रिय माध्यमहरू आफैँ सक्रिय भएका छन्।

उनले भने– डकुमेन्ट्रीका नाममा पश्चिमा शक्तिहरूले नेपालको आन्तरिक मामिलामा हात हाल्ने प्रयास गरिरहेका छन् र सामाजिक सञ्जालमार्फत त्यसलाई व्यापक रूपमा फैलाएर जनमत मोड्ने रणनीति अपनाइएको छ।

जेनजी आन्दोलनको दिन अर्थात् भदौ २३ गतेको घटनाक्रमलाई लिएर वृत्तचित्रमा गरिएको दाबीबारे पनि उनले आफ्नै तर्क प्रस्तुत गरेका छन्। उनका अनुसार त्यस दिन जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु जारी गरिसकेको अवस्थामा सुरक्षा संयन्त्रको कार्यान्वयन प्रक्रियामा थप आदेश आवश्यक नपर्ने व्यवस्था हुन्छ। जिल्ला सुरक्षा समितिको निर्णय र परिस्थितिको मूल्याङ्कनका आधारमा आवश्यक कदम चाल्ने अधिकार त्यही संरचनाले प्रयोग गर्ने भएकाले प्रहरी महानिरीक्षकबाट अलग्गै आदेश दिनुपर्ने भन्ने व्याख्या गलत र भ्रामक भएको उनले बताएका छन्।

वृत्तचित्रमा भने त्यस दिनको घटनाक्रमलाई फरक ढंगले प्रस्तुत गरिएको छ। बीबीसीले चार हजारभन्दा बढी फोटो तथा भिडियो फुटेजको विश्लेषणका आधारमा तयार पारिएको भनिएको रिपोर्टमा दिउँसो ११ बजेर ५८ मिनेटतिर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको, त्यसपछि प्रदर्शनकारीहरूले संसद भवनतर्फको पर्खाल भत्काउन प्रयास गरेको तथा अवस्था तीव्र बन्दै गएको उल्लेख गरिएको छ।

स्थिति नियन्त्रण बाहिर जाँदै गएको भन्दै दिउँसो साढे १२ बजे कफ्र्यु घोषणा गरिएको र त्यसपछि बल प्रयोगको स्तर क्रमशः बढेको विवरण पनि वृत्तचित्रमा समेटिएको छ। रिपोर्टमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले प्रारम्भमा घुँडा मुनि रबरको बुलेट प्रयोग गर्न निर्देशन दिएको दाबी गरिएको छ।

अश्रुग्यास र रबर बुलेट प्रयोग गर्दा पनि भीड नियन्त्रणमा नआएपछि फिल्डमा रहेका प्रहरी अधिकारीहरूले थप बल प्रयोगबारे निर्देशन मागेको र त्यस क्रममा ‘पिटर वान’ कलसाइनबाट आदेश आएको दाबी गरिएको छ। बीबीसीले यही कलसाइन तत्कालीन प्रहरी महानिरीक्षकसँग सम्बन्धित भएको भन्दै कफ्र्यु लागू भइसकेपछि थप आदेश नपर्खी आवश्यक बल प्रयोग गर्न निर्देशन दिइएको उल्लेख गरेको छ।

तर खापुङले भने यो व्याख्यालाई अस्वीकार गर्दै त्यसलाई आधा–अधुरो तथ्यको आधारमा बनाइएको निष्कर्ष बताएका छन्। उनका अनुसार कफ्र्यु लागू भइसकेपछि स्थानीय सुरक्षा संयन्त्रले कानुनी ढाँचाभित्रै रहेर परिस्थितिअनुसार निर्णय गर्ने भएकाले त्यसलाई व्यक्तिगत आदेशको रूपमा प्रस्तुत गर्नु गलत अर्थ लगाउने प्रयास हो।

उनले चुनाव नजिकिँदै गर्दा यस्ता आरोप र प्रचार फैलाउनु अरूलाई बदनाम गर्ने असफल प्रयास मात्र भएको पनि बताएका छन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलन नेपालकै पछिल्लो राजनीतिक इतिहासमा अत्यन्तै विवादास्पद र रक्तपातपूर्ण घटनामध्ये एक बनेको थियो। पहिलो दिनको प्रदर्शनमा १९ जनाको ज्यान गएको थियो भने त्यसको भोलिपल्ट आन्दोलन झन् उग्र बनेपछि मृतक संख्या बढेर ७६ पुगेको तथ्य सार्वजनिक भएको छ।

तीमध्ये तीन जना प्रहरीसहित ४५ जनालाई पछि सहिद घोषणा गरिएको थियो। आन्दोलनको चर्को दबाब र देशभर फैलिएको असन्तोषका बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः राजीनामा दिनुपरेको थियो। ओलीको राजिनामापछि नै देशमा अधिकांश संरचना आगो लगाईएको थियो।

यही संवेदनशील पृष्ठभूमिमा अहिले सार्वजनिक भएको अन्तर्राष्ट्रिय वृत्तचित्रले एकातिर यसलाई मानवअधिकार र राज्यको जवाफदेहितासँग जोडेर हेर्ने आवाजहरू छन् भने अर्कोतिर यसलाई नेपालको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य हस्तक्षेपको प्रयासका रूपमा व्याख्या गर्ने धारणा पनि बलियो बन्दै गएको छ।

अहिले ‘यो वृत्तचित्र वास्तवमै सत्य उजागर गर्ने खोज पत्रकारिता हो, कि चुनावको मुखमा नेपालको राजनीतिक वातावरणलाई प्रभावित पार्ने रणनीतिक सामग्री ?’ हो भन्ने प्रश्न सर्वत्र छ। यही प्रश्नको उत्तर खोज्ने बहस आगामी दिनमा झन् तीव्र हुने संकेत देखिएको छ।

अर्कोतर्फ, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन रोकेर राख्नुले पनि खापुङको भनाईलाई पुष्टि गर्छ भने रराज्यको नियतमाथि प्रश्न गर्ने ठाउँ दिएको छ। जेनजी आन्दोलनमा भूमिका निर्वाह गरेकी तनुजा पाण्डेले यस विषयमा मुख खोलेकी छिन्। ‘कार्की आयोगको प्रतिवेदन रोकेर आउने चुनावमा कसलाई फाइदा पु¥याउन खोजिँदैछ? सत्य लुकाएर जनताको निर्णय क्षमतालाई कमजोर बनाउने प्रयास होइन यो? ‘गोली चलाउन लगाउने र सिंहदरबार जलाउन लगाउने’ दुवै पक्षको सत्य बाहिर आएपछि मात्र जनताले चुनावमा सचेत मूल्याङ्कन गर्ने अधिकार पाउनुपर्छ। सत्य बिना चुनाव, लोकतन्त्र होइन’ भन्दै उनले असन्तुष्टि जनाएकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट