इनरुवाको उपमेयरमा ५२ मतको अपमान झेलेका गेलाललाई रास्वपाको सुनामीले संसदमा पुर्यायो
गाईघाट– स्थानीय तह निर्वाचनमा आफनै नगरपालिकाको उपमेयरमा समेत अस्विकृत भएका पारसमणी गेलाल रास्वपाको देशव्यापी सुनामीमा उदयपुरबाट संसद प्रवेश गरेका छन्।
उदयपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेका गेलाल ३० हजार ५ सय ९० मतसहित विजयी भएका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईलाई १८ हजार ९ सय ८४ मतान्तरले पराजित गर्दै उनले पहिलो प्रयासमै संसदीय यात्रा तय गरेका हुन्। राईले ११ हजार ६ सय ६ मत प्राप्त गरे।
अन्य प्रतिस्पर्धीहरूमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बलदेव चौधरीले १० हजार २१ मत प्राप्त गरे भने नेपाली कांग्रेसका उम्मेदवार विदुरबाबु बस्नेत ९ हजार ६ सय ७५ मतसहित चौथो स्थानमा रहे। नेकपा एमालेका उम्मेदवार दुर्गाकुमार थापाले ९ हजार २ सय ६ मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भए।
व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका गेलालले चुनावी परिणाममा सफलता त हासिल गरे, तर उनको चुनावी अभियान, भाषण र सामाजिक सञ्जालमा सार्वजनिक अभिव्यक्तिहरूलाई लिएर राजनीतिक वृत्तमा गम्भीर बहस पनि सुरु भएको छ। आलोचकहरूका अनुसार उनले चुनावी अभियानका क्रममा प्रस्तुत गरेका धेरै अभिव्यक्तिहरू भावनात्मक अपिलमा केन्द्रित देखिए पनि नीति, कार्यक्रम र आर्थिक संरचनाको स्पष्ट खाका भने कमजोर देखिएको थियो।
गेलालले चुनावी सभामा गरेको एक भाषण सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि त्यसले विशेष चर्चा पाएको थियो। भाषण सुन्दा परिवर्तन, काम र भविष्यको प्रतिज्ञाले भरिएको जस्तो लागे पनि त्यसको शब्दावली र शैलीलाई लिएर आलोचना पनि भयो।
उनले ‘हामी भोट माग्न आएको होइन, काम माग्न आएको हो’ भन्दै पुराना दलप्रति तीव्र असन्तोष व्यक्त गरेका थिए। तर उक्त अभिव्यक्ति यसअघि रास्वपाकै नेता बालेन्द्र साहले धनगढीमा प्रयोग गरेको भाषणसँग अत्यन्त मिल्दोजुल्दो भएको भन्दै आलोचकहरूले त्यसलाई ‘कपी–पेस्ट राजनीतिक शैली’ को उदाहरणका रूपमा व्याख्या गरे।
गेलालले आफ्नो भाषणमा शिक्षा, स्वास्थ्य, कृषि, भूमिसुधार र रोजगारी जस्ता विषयमा ठूलो परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले आर्थिक अभावका कारण कसैले शिक्षा नपाउने अवस्था अन्त्य गर्ने, स्वास्थ्य उपचार नपाएर कसैले ज्यान गुमाउन नपर्ने व्यवस्था गर्ने, कृषकका लागि बीमा प्रणाली लागू गर्ने र भूमिहीनलाई लालपुर्जा वितरण गर्ने जस्ता महत्वाकांक्षी घोषणाहरू गरेका थिए।
तर यी वाचाहरूलाई वास्तविक आर्थिक संरचना र राज्यको क्षमता सँग जोडेर हेर्दा अनेक प्रश्नहरू उठ्ने गरेका छन्। नेपाल अहिले पनि विदेशी ऋण, आयातमुखी अर्थतन्त्र र कमजोर उत्पादन संरचनाबाट जुधिरहेको अवस्थामा यस्ता कार्यक्रम कार्यान्वयन गर्न आवश्यक स्रोत, नीति संरचना र समयसीमाको स्पष्ट योजना सार्वजनिक गरिएको देखिँदैन।
चुनावी सभाहरूमा उनले युवाहरू विदेशिनुको कारण गलत नेतृत्व र गलत मतदान भएको दाबी गरेका थिए। युवालाई स्वदेशमै रोक्न उद्योग, उत्पादन, लगानी, बजार र नीतिगत सुधार आवश्यक हुन्छ। तर चुनावी भाषणमा यस्ता दीर्घकालीन संरचनागत सुधारको स्पष्ट योजना देखिएको थिएका छैनन्। गेलालले अव युवाहरुलाई विदेशिनबाट रोक्छन त ? भन्ने प्रश्न उठ्न थालिसकेको छ।
गेलालको अर्को विवादास्पद पक्ष उनको स्थानीय पहिचानसँग जोडिएको छ। उनी सुनसरी जिल्लाको इनरुवा स्थायी बसोबास भएका व्यक्ति हुन्। विगतमा इनरुवामा उपमेयर पदमा चुनाव लड्दा अत्यन्त कम मत प्राप्त गरेका उनले यसपटक उदयपुर–१ बाट उम्मेदवारी दिएका थिए। उनले बाल्यकालमा ज्यामिरेमा पढेको प्रसंग उल्लेख गर्दै स्थानीय अपनत्व देखाउने प्रयास गरेका थिए।
‘एण्टी–इस्ट्याब्लिस्मेन्ट’ शैलीमा आधारित भएर आएका गेलालले पुराना दलप्रति आक्रोश व्यक्त गरेर वैकल्पिक नेतृत्वको दाबी प्रस्तुत गरे। तर विकास बहसलाई केवल भावनात्मक आक्रोशमा सीमित गर्दा ठोस नीति र कार्यक्रमको चर्चा कमजोर छ। यद्यपि आलोचनाबीच पनि उनले उल्लेखनीय मतान्तरसहित चुनाव जित्न सफल भएका छन्। यस परिणामलाई धेरैले रास्वपाप्रतिको जनआकर्षण र परम्परागत दलप्रतिको असन्तुष्टिको परिणामका रूपमा विश्लेषण गरेका छन्।
अब मुख्य प्रश्न चुनावी भाषण र भावनात्मक अपिलभन्दा अगाडि उभिएको छ—उदयपुर–१ का मतदाताले सुनेका वाचा कत्तिको व्यवहारमा परिणत हुन्छन? शिक्षा, स्वास्थ्य, रोजगारी र विकासका क्षेत्रमा उनले प्रतिवद्धता व्यक्त गरेका परिवर्तनहरू वास्तवमै लागू हुन्छन् कि हुँदैनन् भन्ने परीक्षण अब आगामी दिनहरूमा हुनेछ।
लोकप्रिय
ताजा अपडेट
सरकार गठनको तयारी नहुँदै प्रधानमन्त्रीका लागि रास्वपाभित्र लफडाको संकेतः शीर्ष नेतृत्वको बोली फेरियो
