‘नेतृत्व परिवर्तन’को नारासहित कांग्रेस महामन्त्रीमा उदाएका घिमिरेलाई ३४ वर्षीय पूर्व पत्रकारले धुलो चटाए
राजविराज– प्रतिनिधिसभा निर्वाचन २०८२ मा मोरङ क्षेत्र नम्बर ४ ले नेपाली राजनीतिलाई झस्काउने परिणाम दिएको छ। पुस्तान्तरण र नेतृत्व परिवर्तनको नारासहित कांग्रेसको शीर्ष तहमा उदाएका नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेलाई यसपटक ३४ वर्षीय युवा उम्मेदवार सन्तोष राजवंशीले भारी मतान्तरले पराजित गर्दै धुलो चटाइदिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गर्दै २८ हजार १५ मतान्तरको भारी विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गरे। कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रभावशाली मानिने महामन्त्रीलाई एक युवा उम्मेदवारले यसरी फराकिलो अन्तरले हराउनु यस निर्वाचनको प्रतीकात्मक घटनामध्ये एक बनेको छ।
३४ वर्षीय राजवंशी पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका युवा हुन्। पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक गरेका उनले सार्वजनिक जीवनको सुरुवात सञ्चार क्षेत्रबाट गरेका थिए। कुनै समय सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनमा रिपोर्टर, कार्यक्रम निर्माता तथा प्रस्तोताका रूपमा काम गरेका उनी त्यसपछि कोशी क्षेत्रका विभिन्न सञ्चारमाध्यममा सक्रिय रहे।
अल्पसंख्यक राजवंशी समुदायबाट प्रतिनिधित्व गर्दै उनी रास्वपाबाट संसद् प्रवेश गर्न सफल भएका छन्। लामो समयदेखि स्थापित दलहरूको वर्चस्व रहेको क्षेत्रमा एक युवा पत्रकार पृष्ठभूमिका उम्मेदवारले यसरी विजय हासिल गर्नु परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ।
उता पराजित भएका घिमिरे भने नेपाली कांग्रेसभित्र पुस्तान्तरणको बहस उठाउने नेताका रूपमा चिनिन्छन्। जेन–जी आन्दोलनको दबाबबीच विशेष महाधिवेशन बोलाएर शेरबहादुर देउवालाई सभापति पदबाट हटाउँदै कांग्रेसको नेतृत्वमा नयाँ पुस्ता ल्याउने अभियान चलेको थियो। त्यसै क्रममा गगन थापा सभापतिमा निर्वाचित भएका थिए। ‘नेतृत्व परिवर्तनको विकल्प छैन’ भन्ने नारा अघि सार्दै घिमिरे सोही महाधिवेशनबाट कांग्रेसको महामन्त्री पदमा उदाएका थिए।
तर निर्वाचनको मैदानमा पुगेपछि भने उनले आफैंले उठाएको पुस्तान्तरणको नारा व्यवहारमा लागू नगरी स्वयं उम्मेदवार बन्ने निर्णय गरे। परिणामतः युवा पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका ३४ वर्षीय राजवंशीबाट उनी पराजित भए। नेतृत्व परिवर्तनको माग उठाएर शीर्ष पदमा पुगेका नेता स्वयं युवा चुनौतीसँग टिक्न नसक्नु यस चुनावको ठूलो विडम्बना बनेको छ।
२०२७ फागुन १२ मा मोरङको अमरदहमा जन्मिएका घिमिरे विद्यार्थी राजनीतिबाट पार्टीको केन्द्रीय नेतृत्वसम्म पुगेका व्यक्ति हुन्। अमरदहस्थित विद्यालयबाट सुरु भएको उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको केन्द्रीय संरचनासम्म पुगेको थियो।
२०५९ सालमा उनले नेपाल विद्यार्थी संघको केन्द्रीय सभापतिको जिम्मेवारी सम्हालेका थिए। विद्यार्थी आन्दोलनलाई वैचारिक बहससँग जोड्दै गणतन्त्रको पक्षमा उभ्याउन उनले भूमिका खेलेको बताइन्छ। पछिल्ला वर्षहरूमा कांग्रेसभित्र पुस्तान्तरण, नेतृत्व परिवर्तन र संगठन सुधारका मुद्दा उठाउँदै आएका उनी पार्टीभित्र सुधारवादी नेताका रूपमा प्रस्तुत हुँदै आएका थिए।
तर मोरङ–४ को चुनावी परिणामले मतदाताको मनोविज्ञानमा आएको परिवर्तनलाई स्पष्ट रूपमा देखाइदिएको छ। विश्लेषकहरूका अनुसार परम्परागत दलका स्थापित नेतामाथि नयाँ पुस्ता र वैकल्पिक राजनीतिक शक्तिका उम्मेदवारले चुनौती दिन थालेको प्रवृत्ति यस निर्वाचनमा खुलस्त देखिएको छ।
मोरङ–४ बाट आएको यो परिणाम केवल एक निर्वाचन क्षेत्रको हार–जितमा सीमित छैन। यसले परम्परागत नेतृत्वप्रति बढ्दो असन्तुष्टि र नयाँ विकल्पप्रतिको आकर्षणलाई उजागर गरेको छ। स्थापित राजनीतिक अनुहारमाथि मतदाताले दिएको यो कडा सन्देशले आगामी दिनमा दलहरूलाई आफ्नो संगठन, नेतृत्व शैली र राजनीतिक रणनीति पुनः मूल्याङ्कन गर्न बाध्य पार्ने संकेत दिएको छ।
