देशै रास्वपामय हुँदा पनि किन रोकिएन नेता–कार्यकर्ताको बहिर्गमन ?

राजविराज— ‘नयाँ राजनीति’को नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो समय चुनावी मैदानमा उत्कृष्ठ उभारसहित अघि बढिरहेको छ। मतगणना जारी रहँदा धेरै क्षेत्रमा स्थापित दलहरूलाई चुनौती दिँदै पार्टीले आफ्नो प्रभाव विस्तार गरिरहेको छ।

तर यही उभारको बीचमा पनि पार्टीभित्रैबाट नेता तथा कार्यकर्ता बाहिरिने क्रम भने रोकिएको छैन। चुनावी सफलता र जनसमर्थन बढ्दै गएको दाबी भइरहँदा पनि संगठन निर्माणमा सक्रिय रहेका कतिपय नेताहरूले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गर्ने क्रमले ‘नयाँ राजनीति’को नारामाथि नै प्रश्न उठाउन थालेको छ।

पछिल्लो घटनाक्रममा रास्वपाका लुम्बिनी प्रदेश नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख एवम् रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान सभापति ओम पौडेलले पार्टीबाट राजीनामा दिएका छन्। उनले पदबाट मात्र होइन, साधारण सदस्यसमेत नरहने गरी पार्टी छोडेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै उनले रास्वपामा प्रवेश गर्दा राखेको उद्देश्य पूरा भएको उल्लेख गरेका छन्। राजनीतिप्रति निराशा व्यक्त गर्दै उनले अवसरवाद र दोहोरो चरित्र नेपाली राजनीतिमा गहिरो रूपमा जरा गाडेर बसेको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘राजनीति साँच्चिकै फोहोरी छ। हरेक राजनीतिक दलमा अवसरवाद हावी छ। रास्वपामै पनि दोहोरो चरित्र देखाउने र पदका लागि जे पनि गर्नसक्ने व्यक्तिहरू देख्दा दुःख लागेको छ।’ पौडेलले २०७९ चैत १४ गते रास्वपाको सदस्यता लिएका थिए।

रास्वपाबाट नेता बाहिरिने क्रम यो पहिलो होइन। चुनावअघि नै विभिन्न प्रदेश र जिल्लामा पार्टीका प्रभावशाली नेताहरूले असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थिए। कर्णाली प्रदेशमा पार्टी निर्माणको सुरुवाती चरणदेखि सक्रिय रहेका संस्थापक महामन्त्री चन्द्रा बिके र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत वस्नेतले चुनावअघि नै पार्टी छोडेका थिए। उनीहरू दुवै पछि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। सुर्खेतमा आयोजित कार्यक्रममा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

पार्टी परित्याग गर्दै चन्द्रा विकले रास्वपाभित्र व्यक्तिवाद बढ्दै गएको, तल्लो तहका कार्यकर्ताको आवाज कमजोर बनेको र संगठनात्मक प्रक्रियाभन्दा राजनीतिक प्रदर्शनलाई प्राथमिकता दिइएको आरोप लगाएकी थिइन्।

कोशी प्रदेशमा पनि चुनावअघि विवाद सतहमा आएको थियो। रास्वपाका कोशी प्रदेश सदस्य ठगेन्द्र नेउपानेले पार्टी परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेका थिए। मोरङको रतुवामाई–९ निवासी न्यौपाने २०७९ को निर्वाचनमा मोरङ–२ बाट रास्वपाका उम्मेदवार बनेका थिए। तर निर्वाचनका लागि टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै उनले पार्टी छोड्ने निर्णय गरेका थिए। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

नवलपरासीमा पनि संगठन निर्माणमा सक्रिय एक नेता चुनावअघि नै पार्टीबाट अलग भएका थिए। रास्वपाका जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पार्टी छोड्दै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। स्थानीय स्तरमा संगठन विस्तारमा सक्रिय भूमिका खेलेका ठकुरीको बहिर्गमनलाई राजनीतिक वृत्तमा सामान्य घटना मानिएको थिएन।

त्यसैगरी मधेश र बागमती प्रदेशका केही नेताहरूले पनि उम्मेदवार छनोट प्रक्रिया र संगठनात्मक निर्णयप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट दूरी बनाएका थिए। मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा, संस्थापक सदस्य उर्मिला भुर्तेल, डा. प्रणय राणा, बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँलगायतले टिकट वितरणमै अपारदर्शिता र आर्थिक चलखेल भएको आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए।

यस्तै मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पनि पार्टी छोड्दै पुनः नेपाली कांग्रेसमै फर्किएका थिए। बर्दघाटका नेता जितबहादुर हरिजनले पनि टिकट विवादपछि पार्टी परित्याग गरेका थिए।

यी घटनाहरूले रास्वपा संगठनभित्र चुनावअघि नै असन्तुष्टि बढ्दै गएको संकेत दिएका थिए। पार्टीको चुनावी उभार र जनसमर्थन बढिरहेको दाबी भइरहँदा पनि संगठन निर्माणमा सक्रिय रहेका नेताहरू क्रमशः बाहिरिन थालेपछि पार्टीभित्रको व्यवस्थापन र नेतृत्व शैलीबारे प्रश्न उठ्न थालेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार चुनावी लहर र संगठनात्मक स्थायित्व फरक विषय हुन्। यदि पार्टीले आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न सकेन भने नयाँ राजनीतिक विकल्पका रूपमा उदाएको शक्तिमाथि दीर्घकालीन असर पर्न सक्छ। अहिले देखिएको अवस्था भने के छ भने—एकातिर चुनावी मैदानमा रास्वपाको उभार देखिन्छ, अर्कोतिर त्यही पार्टीभित्रबाट नेता तथा कार्यकर्ता बाहिरिने क्रम पनि निरन्तर जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट