सुशासन र नैतिक्ता बिर्सिएको रास्वपा: सांसद जोगाउन नयाँ तर्क— उजुरी नभए अपराधी पनि ‘निर्दोष’ ?

काठमाडौँ — नयाँ राजनीति, सुशासन र नैतिकताको नारा बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आफ्नै घोषणापत्र, भाषण र सार्वजनिक प्रतिवद्धतासँग ठोक्किन थालेको छ। चुनावअघि भ्रष्टाचार, अनियमितता र नैतिक विचलनविरुद्ध कडा स्वरमा उभिने नेताहरू अहिले आफ्नै सांसदमाथि उठेका गम्भीर प्रश्नमा भने रक्षात्मक मात्रै होइन, ‘उजुरी परेन भने कारबाही किन गर्ने ?’ भन्ने तर्कमा उत्रिन थालेका छन्।

एक समय अरू दलका नेतामाथि सामान्य आरोप लाग्दा समेत सार्वजनिक दबाब सिर्जना गर्दै तत्काल छानबिन, राजीनामा र नैतिक जिम्मेवारीको माग गर्ने रास्वपा अहिले आफ्नै सांसद जोगाउन कानुनी उजुरीको पर्खाइलाई ढाल बनाउन थालेको छ। यही विवादबीच मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीमाथि उठेका प्रश्नलाई लिएर रास्वपाको आधिकारिक धारणा सार्वजनिक भएपछि पार्टीको ‘सुशासन राजनीति’ माथि नयाँ बहस सुरु भएको छ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सांसद कार्कीमाथि सार्वजनिक रूपमा उठाइएका आरोपबारे तत्काल पार्टीले कुनै कदम नचाल्ने संकेत गरेका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मिडियामा आएका सबै आरोपको पछि लागेर पार्टी नहिँड्ने स्पष्ट पारे। उनले मुख्य आधार नै ‘उजुरी दर्ता नभएको’ लाई बनाए।

पराजुलीले भने, ‘मलाई अचम्म लागेको कुरा, उजुरी कहाँ दर्ता भएको रहेछ ? अपराध गरेको भए उजुरी दर्ता छ कि भनेर खोजी गर्दा पाएनौं ।’ उनले सांसद कार्कीले आफ्नो सम्बन्धित विषय आफैं व्यवस्थापन गर्ने जानकारी पार्टीलाई गराएको पनि बताए। पराजुलीका अनुसार कार्कीले आफूलाई मिडियामा गलत ढंगले प्रस्तुत गरिएको गुनासो गरेका छन्। उनले भने, ‘मलाई मिडियामा गलत तरिकाले प्रस्तुत गरियो, पत्रिकाले बन्दूक बोकेको र ट्याटु लगाएको फोटोसँग दाँजेर चरित्रहत्या गर्ने प्रयास ग¥यो, मैले चाहिँ न्याय पाउँछु कि पाउँदिन भन्दै उहाँले जिउ खोलेर देखाउनुभएको छ।’

रास्वपाले मिडियामा आउने हरेक आरोपको खण्डन गर्दै हिँड्ने नीति नरहेको बताउँदै पराजुलीले सबै विषय विधि, प्रक्रिया र कानुनी संरचनाबाटै टुंगिनुपर्ने धारणा राखे। ‘मिडियामा आउने प्रत्येक आरोपको खण्डन गर्दै हिँड्नेमा रास्वपा छैन। सबै कुराको जवाफदेहिता विधि, पद्धति र प्रक्रियामार्फत खोज्नुपर्छ,’ उनले भने।

तर, पराजुलीको यही अभिव्यक्तिपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म रास्वपामाथि दोहोरो मापदण्ड अपनाएको आरोप चर्किन थालेको छ। किनभने यही पार्टीले विगतमा अरू दलका नेतामाथि मिडिया रिपोर्ट, सार्वजनिक आरोप वा नैतिक प्रश्न उठ्नेबित्तिकै तत्काल स्पष्टीकरण र कारबाहीको माग गर्दै आएको थियो। अहिले भने आफ्नै सांसदमाथि प्रश्न उठ्दा ‘उजुरी दर्ता छैन’ भन्ने तर्क अगाडि सारिनु रास्वपाको राजनीतिक चरित्रमै आएको परिवर्तनका रूपमा हेरिएको छ।

विश्लेषकहरूका अनुसार रास्वपा अहिले परीक्षणको सबैभन्दा संवेदनशील मोडमा उभिएको छ। किनकि उसले आफूलाई परम्परागत दलभन्दा फरक, नैतिक र शून्य सहनशीलतामा आधारित दलका रूपमा स्थापित गर्ने प्रयास गरेको थियो। तर, सत्तामा पुगेपछि त्यही पार्टीका नेताहरूले प्रयोग गरिरहेका भाषाशैली र व्यवहार पुराना दलकै शैलीसँग मिल्न थालेको टिप्पणी भइरहेको छ।

विशेषगरी ‘उजुरी नपरेसम्म केही हुँदैन’ भन्ने तर्कलाई धेरैले खतरनाक राजनीतिक संकेतका रूपमा व्याख्या गरेका छन्। आलोचकहरू भन्छन— यदि नैतिकताको मापदण्ड अदालत वा प्रहरीमा उजुरी दर्ता भएपछि मात्रै लागू हुने हो भने रास्वपाले चुनावअघि दिएका नैतिक राजनीति र सुशासनका भाषणहरू केवल राजनीतिक नारामा सीमित भएको पुष्टि हुन्छ।

रास्वपाभित्रै पनि पछिल्लो समय नेताहरूको सार्वजनिक अभिव्यक्ति, व्यक्तिगत विवाद र पार्टीको बचाउ शैलीलाई लिएर असन्तुष्टि बढ्न थालेको चर्चा छ। बाहिर सुशासनको भाषण गर्ने तर आफ्नै मान्छेमाथि प्रश्न उठ्दा प्रक्रियाको आवरणमा बचाउ खोज्ने प्रवृत्तिले पार्टीको वैकल्पिक राजनीतिक छवि कमजोर बनाउँदै लगेको टिप्पणी भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट