झापामा ४८ घण्टाभित्र दुई महिलाको हत्याः हल्दीबारीमा श्रीमतीमाथि दाउ प्रहार, अर्जुनधारामा मदिरा विवादले लियो ज्यान
दमक— झापामा दुई दिनको अवधिमा दुई महिलाको हत्या भएको छ। प्रहरीका अनुसार दुवै घटनामा संलग्न व्यक्तिहरू पक्राउ परिसकेका छन् र उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
पहिलो घटना झापाको हल्दीबारी गाउँपालिका–५ धनुषपोखरी क्षेत्रमा भएको हो। जहाँ ४४ वर्षीय गोकर्ण भण्डारीले ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति घरायसी विवाद चर्किएपछि गोकर्णले दाउ प्रहार गर्दा उर्मिलाको घटनास्थलमै मृत्यु भएको थियो।
स्थानीयका अनुसार भण्डारी दम्पतीबीच लामो समयदेखि वैवाहिक तनाव र झगडा भइरहने गरेको थियो। मंगलबार राति करिब ९ बजे गोकर्ण मादक पदार्थ सेवन गरेर घर फर्किएपछि दुवैबीच भनाभन सुरु भएको थियो। विवाद बढ्दै जाँदा आवेशमा आएका उनले श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको बताइएको छ। उनले श्रीमतीमाथि ‘बाम्पोक (दाउ)’ प्रहार गरेका थिए, जसका कारण उर्मिलाको टाउकोमा गम्भीर चोट लागेको थियो।
घटनापछि गोकर्ण आफैं छिमेकीको घरमा पुगेर ‘मैले श्रीमतीको हत्या गरेँ’ भन्दै स्वीकारोक्ति दिएका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै असई छविहाङ शेर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। पछि डीएसपी खगेन्द्रबहादुर खड्का नेतृत्वको अर्को टोली पनि त्यहाँ पुगेको थियो। प्रहरीले गोकर्णलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याएको छ।
प्रहरीका अनुसार मृतक उर्मिला गोकर्णकी कान्छी श्रीमती थिइन्। जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि उनले उर्मिलासँग घरजम गरेका थिए। उर्मिलाका एक छोरा र एक छोरी रहेका छन्। अहिले उनीहरूको भविष्य अन्योलमा परेको स्थानीयहरूले बताएका छन्। उर्मिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने गोकर्णविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी झापाकै अर्जुनधारा नगरपालिका–८ कुशलचोकमा अर्की महिलाको ज्यान गएको छ। सोमबार राति भएको उक्त घटनामा प्रहरीले २४ वर्षीय किरण गौतमलाई पक्राउ गरेको छ। मृतक २९ वर्षीया काजल बस्नेत सुवेदी हुन्।
प्रहरीका अनुसार सोमबार राति करिब सवा ९ बजे कुशलचोकस्थित एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुल नजिकैको खुला चउरमा काजल र किरण अत्यधिक मदिरा सेवन गरेर बसेका थिए। मदिराकै प्रभावमा उनीहरूबीच विवाद भएको र विवाद चर्किएपछि किरणले काजललाई धकेलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
धकेल्ने क्रममा काजल चउरको बीच भागमा रहेको कंक्रिटको पोलमा ठोक्किन पुगेकी थिइन्। टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी उनलाई स्थानीयले उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याएका थिए।
सुरुमा शंकर अस्पताल लगिएकी काजललाई पछि बी एन्ड सी अस्पताल हुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर रिफर गरिएको थियो। तर उपचारकै क्रममा मंगलबार बिहान करिब पौने ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक काजलका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहेको खुलेको छ। घटनापछि उनकी दिदी प्रतिमा भट्टराईले प्रहरीमा जाहेरी दिएकी छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले किरणलाई पक्राउ गरेको थियो र उनीमाथि पनि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ।
झापाका प्रहरी प्रवक्ता तथा डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार दुवै घटनामा कानुनी प्रक्रिया अगाडि बढाइएको छ र घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानले दुवै घटनामा घरेलु तथा व्यक्तिगत विवाद, मदिरा सेवन र आवेगजन्य हिंसाले भूमिका खेलेको संकेत गरेको प्रहरीले जनाएको छ।
लोकप्रिय
ताजा अपडेट
झापामा ४८ घण्टाभित्र दुई महिलाको हत्याः हल्दीबारीमा श्रीमतीमाथि दाउ प्रहार, अर्जुनधारामा मदिरा विवादले लियो ज्यान

