वहिनीलाई छेउमा बस्न बोलाउँदा ट्रोलको शिकार भए हर्क साम्पाङ, भाइरल भिडिओपछि दिए स्पष्टीकरण
विराटनगर — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई एक भाइरल भिडिओका कारण सामाजिक सञ्जालमा व्यापक ट्रोल र आलोचनाको केन्द्र बनेका छन्। टिकटकमार्फत सार्वजनिक भएको एउटा छोटो भिडिओ क्लिपले साम्पाङको व्यवहारलाई लिएर प्रश्न, व्यङ्ग्य र टिप्पणीको बाढी ल्याएको छ।
भाइरल भएको भिडिओमा साम्पाङ एउटा होटलमा केही व्यक्तिसँग सोफामा बसेको देखिन्छन्। अगाडि टेबल राखिएको छ भने वरिपरि अन्य व्यक्तिहरू पनि उपस्थित छन्। त्यही क्रममा साम्पाङले पर बसेकी एक महिलालाई ‘ए समेली, यहाँ आऊ’ भन्दै बोलाएको सुनिन्छ।
साम्पाङले बोलाएपछि ती महिला उनीतर्फ अघि बढ्छिन्। त्यही बेला मोबाइल बोकेका एक व्यक्ति साम्पाङ बसेको सोफामा बस्न खोज्दा साम्पाङले ‘यहाँ ठाउँ छैन’ भन्दै रोक्छन्। त्यसपछि महिलातर्फ फर्केर उनले ‘यहाँ मलाई जाडो भयो, यहाँ बस’ भनेको भिडिओमा सुनिन्छ। यही अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न कोणबाट आलोचना सुरु भएको हो।
कतिपय प्रयोगकर्ताले सार्वजनिक व्यक्तित्वको व्यवहारमाथि प्रश्न उठाएका छन् भने केहीले साम्पाङको शैलीलाई लिएर व्यङ्ग्य गरेका छन्। भिडिओ छोटो क्लिपका रूपमा भाइरल भएपछि त्यसको सन्दर्भ र सम्बन्धबारे अनेक अड्कलबाजीसमेत फैलिएको थियो।
विवाद चर्किएपछि साम्पाङ स्वयं सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिन बाध्य भएका छन्। उनले उक्त घटनालाई सामान्य पारिवारिक सन्दर्भको रूपमा व्याख्या गर्दै ‘ग्रिन टीमा सार्वजनिक रूपमा चिया खाएको कुरालाई भाइरल बनाइएको’ टिप्पणी गरेका छन्।
हाँसेको इमोजीसहित उनले लेखेका छन्, ‘मेरो आफ्नै गाउँको चेली है, चेली।’ पछि खुलाइएको विवरणअनुसार साम्पाङले ‘समेली’ भनेर बोलाएकी महिला नाताले उनकै बहिनी समला राई हुन्। समला यसअघि श्रम संस्कृति पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारसमेत बनेकी थिइन्। पार्टीभित्र अवसर र भूमिकालाई लिएर उनी र साम्पाङबीच मतभेद देखिएको चर्चा यसअघि पनि सार्वजनिक भएको थियो।
भाइरल भिडिओमा साम्पाङले ‘रुन छाडिस् ?’ भनेर भनेको वाक्यसमेत सुनिन्छ, जसलाई लिएर थप टिप्पणीहरू भइरहेका छन्। सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘सन्दर्भबिनाको भिडिओ’ भनेर साम्पाङको बचाउ गरेका छन् भने अर्काथरीले सार्वजनिक जीवनमा रहेका नेताहरूले बोली, शैली र प्रस्तुतीकरणमा अझ संवेदनशील हुनुपर्ने तर्क गरेका छन्।
नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल राजनीतिक व्यक्तित्वको सार्वजनिक छवि निर्माण र ध्वस्त पार्ने प्रमुख माध्यम बन्दै गएको छ। केही सेकेन्डका भिडिओ क्लिप, अधुरा अडियो वा सन्दर्भविहीन दृश्यले समेत ठूलो बहस र विवाद सिर्जना गर्ने प्रवृत्ति बढ्दै गएको विश्लेषकहरू बताउँछन्।
विशेषगरी स्पष्ट बोल्ने, विवादास्पद अभिव्यक्ति दिने र परम्परागत राजनीतिक शैलीभन्दा फरक व्यवहारका कारण चर्चामा रहने साम्पाङ सामाजिक सञ्जालमा पटक–पटक समर्थन र आलोचना दुवैको केन्द्र बन्दै आएका छन्। यसपटक भने आफ्नै बहिनीलाई सँगै बस्न बोलाएको दृश्यले नै उनलाई ट्रोलको निशाना बनाएको देखिएको छ।

