पोस्टमार्टमका लागि ल्याइएको शवबाट सुरु भएको विवादमा दुर्व्यवहारपछि अस्पताल छोड्ने निष्कर्षमा पुगे डा. गौरव साह

गाईघाट— उदयपुरको कटारी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौरव साहले अस्पताल छोड्ने घोषणा गर्नुको पृष्ठभूमिमा पोस्टमार्टमका लागि ल्याइएको शव व्यवस्थापनलाई लिएर उत्पन्न विवाद रहेको खुलेको छ।

जेठ ११ गते कटारी–२ मा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको शव अस्पताल ल्याइएपछि सुरु भएको तनाव अन्ततः अस्पताल परिसरमै नाराबाजी, हुलहुज्जत र डा. साहमाथिको सार्वजनिक दुर्व्यवहारसम्म पुगेको थियो।

घटनापछि भावुक अभिव्यक्ति सार्वजनिक गर्दै डा. साहले ‘स–सम्मान विदाइ चाहन्थें, तर ज्यान जोगाएर हिँड्नुप¥यो’ भनेपछि त्यसपछाडिको वास्तविक कारणबारे चासो बढेको थियो। अहिले सार्वजनिक विवरणअनुसार अस्पतालको शव व्यवस्थापन प्रणाली, विशेषगरी शव सुरक्षित राख्ने कुलिङ सिस्टम बिग्रिएको विषयले विवादको रूप लिएको देखिएको छ।

जानकारीअनुसार दुर्घटनामा मृत्यु भएका व्यक्तिको शव जेठ ११ गते बिहान करिब ९ बजे पोस्टमार्टमका लागि कटारी अस्पताल ल्याइएको थियो। तर अस्पतालमा शव सुरक्षित राख्न आवश्यक ‘कुलिङ’ प्रणाली सञ्चालनमा नरहेको पाइएको थियो। अस्पताल प्रशासनले मेसिन बिग्रिएको र छिट्टै मर्मत गरिने जानकारी दिएको भए पनि दिउँसो १ बजेसम्म समेत मेसिन सञ्चालनमा आउन सकेन।

अत्यधिक गर्मीका कारण शवबाट गन्ध आउन थालेपछि मृतकका आफन्त र स्थानीय आक्रोशित बनेका थिए। त्यसपछि अस्पताल परिसर तनावग्रस्त बनेको प्रत्यक्षदर्शीहरू बताउँछन्। केही समयमै विरोध प्रदर्शन सुरु भयो र नाराबाजीसहित डा. गौरव साहको राजीनामा माग गर्न थालियो।

घटनाकै क्रममा सार्वजनिक भएको भिडियोमा एक समूहले डा. साहलाई घेराउ गर्दै अपमानजनक शैलीमा प्रश्न गरेको देखिन्छ। भिडियोमा ‘यो तपाईँको हस्पिटल हो ? तपाईँले बनाएको हो ?’ भन्दै लगातार हप्काउने, बोल्न नदिने र आक्रामक व्यवहार गरिएको सुनिन्छ। लामो समयसम्म भीडले उनलाई आफ्नो धारणा राख्नसमेत नदिएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटना थप चर्चामा आएको छ।

यही घटनापछि डा. साह अस्पताल छोड्ने निष्कर्षमा पुगेको स्रोतहरूको दाबी छ। यद्यपि भिडियो बाहेक घटनाका अन्य पक्ष सार्वजनिक भएका छैनन् र अस्पताल प्रशासन वा स्थानीय पक्षबाट विस्तृत औपचारिक धारणा आउन बाँकी छ।

घटनाले स्वास्थ्यकर्मीमाथिको सुरक्षा र अस्पताल व्यवस्थापनको अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ। विशेषगरी संवेदनशील अवस्थामा कार्यरत चिकित्सकलाई सार्वजनिक रूपमा घेराउ गरेर गरिएको व्यवहारमाथि स्वास्थ्य क्षेत्रबाट तीव्र प्रतिक्रिया आउन थालेको छ।

यसैबीच एसोशिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (एसीपीएन) ले विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेको छ। महासचिव डा. रोजन घिमिरेद्वारा जारी विज्ञप्तिमा कटारी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौरव साहमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा इमान्दारीपूर्वक खटिएका स्वास्थ्यकर्मीमाथि भएको यस्तो व्यवहारलाई ‘निन्दनीय आपराधिक कार्य’ भन्दै दोषीमाथि अविलम्ब कानुनी कारबाही गर्न माग गरिएको छ। साथै स्वास्थ्यकर्मीलाई सुरक्षित र त्रासरहित वातावरणमा सेवा दिन पाउने सुनिश्चितता गर्न सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।

डा. साह कटारी अस्पताल सुधार अभियानका मुख्य अनुहारका रूपमा चिनिन्थे। २०७३ सालदेखि अस्पतालमा कार्यरत उनले बिरामी भर्ना सेवा, ‘सी–सेक्सन’ सेवा, विशेषज्ञ चिकित्सक व्यवस्थापन तथा ब्लड बैंक स्थापनाको प्रक्रिया अघि बढाउन भूमिका खेलेको दाबी गर्दै आएका थिए। तर, अस्पताल सुधारको नेतृत्व गरेका चिकित्सक अन्ततः सार्वजनिक विवाद र दुर्व्यवहारपछि अस्पताल छोड्ने अवस्थामा पुगेपछि कटारीको स्वास्थ्य प्रणाली, स्थानीय राजनीति र अस्पताल प्रशासनमाथि अहिले गम्भीर बहस सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट